Sunday, 28 May 2017

गर्मी मौसममा लेयरलाई आवश्यक सितलता कायम गर्ने उपायहरु

तापले लेयरको बथान माथिकै ठूलो प्रभाव पारेको हुन्छ। तर पनि यस्तो वातावरणमा कुखुरालाई स्वस्थ बनाई अण्डा उत्पादन गरि राख्ने बनाउन सकिने धेरै उपायहरु छन् ।जब गर्मीमा तापक्रम बढ्छ,अण्डा उत्पादकहरु थाहापाउनु पर्छ कि त्यस्तो वातावरणमा अण्डाको उत्पादन घट्ने मात्र होईन कुखुराको बथानमा मृत्यूदर पनि बढी हुन्छ ।
पोल्ट्रीका लागि सुविधाजनक मानिने वातावरणको तापक्रम १८ देखि २४ डिग्री सेल्सियस हो । यसभन्दा बढी तापकक्रम भएमा पसिना ग्रन्थीको अभाव र प्वाँखले भरिएको कारण कुखुराले सामान्य शरिरको आन्तरिक तापक्रमकायम राख्न सक्दैन । यदि वातावरणको तापक्रम चाहिने भन्दा बढी भएमा कुखुराको आन्तरिक तापक्रम पनि बढ्छ जसका कारण दानाको खपतमा कमी, शरीर तात्ने,छिटो छिटो स्वास फेर्ने, कमजोर भै जमिनमा पल्टिने र अन्त्यमा मृत्यू समेत हुने जोखिम रहन्छ ।
यदि कुखुरा फार्मको वातावरण २६ डिग्री सेल्सियस देखि ३८ डिग्री सेल्सियस सम्म पुगे अवस्था आउन सक्नछ । यदि कुखुराको शरिरको तापक्रम बढ्ने समस्यालाई समयमै व्यवस्थापन गर्न सकिएन भने लेयरबाट राम्रो उत्पादनलिन सकिदैन र यस्तो समस्याबाट थोरै उमेर र कमतौल भएका भन्दा बढी पुराना र बढीतौल भएका कुखुराहरु बढी प्रभावित हुनेछन् ।
समग्र रुपमा वरवर र फार्मको वातावरणको उपयूक्त व्यवस्थापनद्धारा यस समस्या समाधानगर्न सकिन्छ । गर्मी मौसममा लेयर कुखुरालाई सुविधाजनक वातावरण निर्माण गरी उनीहरुबाटअण्डा उत्पादनमा असर नपर्ने स्थिति सृजनागर्न फार्मको व्यवस्थापन, पानीको व्यवस्थापन, दानाको गुणस्तर रअन्य सामान्य व्यवस्थापन गरी चार कुराहरुमा ध्यनदिनुपर्ने हुन्छ ।
पोल्ट्री फार्मको वातावरणमा समायोजन
  • कुखुरालाई तापबाट जोगाउन गर्मी मौसममा निम्न उपायहरु अपनाउन सकिन्छ :
  • कुखुराको फार्म पुर्व पश्चिम र्काई लामो संरचना बनाउनु पर्छ र छाना कम्तीमा पनि डेड मिटर अग्लो बनाई सीधै घाम र पानीको प्रभावन पर्ने बनाउनु पर्छ । छानामा चुन दलेर कम्तीमा २ डिग्री से. तापक्रम कम गर्न सकिन्छ ।
  • धानको पराल, गहुँको छ्वाली, उखुको पातवानरिवलको पातले छानोलाई छाप्ने हो भने पनि कुखुरा राख्ने घरको तापक्रम कमगर्न सहयोग पुग्छ ।
  • छाना नजिकै भेन्टिलेटर राखी प्राकृतिक हावाको आवत जावत हुनेगरी कुखुराको घर बनाउनु पर्छ ।
  • कुखुुराको घरको बाहिरपट्टी जुटका बोराको पर्दा राखीकुखुराको घर भित्रशितलबनाउन सकिन्छ जसबाट कोठाको तापक्रम २ देखि ३ डिग्री सेल्सियस सम्म घट्न सक्छ ।
  • कुखुराको घर भित्र पानी छर्केर तापक्रमकम पार्ने र दानालाई चिसो हुन नदिने उपाय गर्न सकिन्छ ।
  • कुखुराको घर वरवर ठूला रुखहरु रोपेर पनि गर्मी कम गर्न सकिन्छ ।
पानी व्यवस्थापन
  • गर्मी मौसममा कुखुराले छिटो छिटो श्वास फेरेर आफ्नो शरीरको तापक्रम कम गर्ने गर्छन् जसका कारण शरीरबाट समान्यअवस्थामा भन्दा बढी पानी खेर जान्छ । त्यसैले कुखुरालाई धेरै पानी उपलव्ध हुने व्यवस्था गर्नुपर्छ तर पानीको व्यवस्थापन होसियारी पुर्वक गरिनुपर्छ । कुखुरालाई सामान्य अवस्थामा आवश्यक भन्दा तीन चार गुणा बढी पानी उपलव्ध गराउनुु पर्छ ।
  • गर्मी मौसममा माथि राखिने पानीको भाँडा पुरै भरी राख्नु हुँदैन र वेला वेलामा पानी वाहिर निस्कने व्यवस्था गर्नुपर्छ । यदि सम्भव भएमा जुटको बोराले पानीको ट्यांक छोपी टल्किने रंग पेन्ट गर्नुपर्छ ।
  • कुखुरालाई पानीको पहुँच सहज बनाउनु पर्छ ।
  • कुखुरालाई पानी खान प्रेरित गर्न नुन पनि खुवाउन सकिन्छ जसका लागि पानीमा ०.२ प्रतिशत नुनको मात्रहुनु जरुरी छ । कुखुराको ईलेक्ट्रो टाईप सन्तुलन कायम गर्न ईलेक्ट्रोलिटपनि पानीमा मिसाउन सकिन्छ ।
  • गर्मी मौसममा कुखुराकालागि भिटामीन सि र सिट्रीक एसीड पनि पानीमा मिसाएर दिनु जरुरी हुन्छ ।
दाना उपभोग
  • लेयरले गर्मी मौसममा दाना कम खाने भएकोले यसबाटअण्डा उत्पादनमा कमी नआओस भनी उनीहरुलाई पुरक पोषण तत्व खुवाउनु पर्छ ।
  • लेयरलाई १० देखि १५ प्रतिशत दानाबाट पाउने शक्ति कार्वाेहाईड्रेड र प्रोटिनले प्रतिस्थापन गर्नु पर्छ जसमा १ देखि २ प्रतिशत वनस्पतिजन्य तेल तथा चिल्लो पदार्थ हुनु बेस हुन्छ ।
  • तेल निकालिएको चामलको कनिकालाई तेल सहितको चामलको कनिकाले प्रतिस्थापित गर्नुपर्छ । यसबाट दानामा बढी मात्रामा प्रोटिन हुने सुचिश्चितता हुन्छ । ढुसी नलागोस भनी दाना चामलको कनिका बढीमा १० दिनभन्दा पुरानो नहुने गरी प्रयोग गर्नुपर्छ ।
  • दानामा डि.एल. मिथिओनाईन लाई मिथियोनाईन होईड्रोक्सिल एनालोग र बेटाईनले प्रतिस्थापन गर्नुपर्छ । भिटामिन ( विशेषगरी भिटामिन सी, ए र ई ) र मिनरलको मात्रा २५ प्रतिशतले बढाउनु पर्छ ।
  • ४० देखि ५० प्रतिशत नुनको मात्रालाई वाईकोराबोनेटले प्रतिस्थापन गर्नुपर्छ जसबाटअण्डाको बोक्राको गुणस्तर राम्रो हुन्छ ।
  • दानामा क्याल्सियमको मात्रा ४ देखि ५ प्रतिशत बढाउनु पर्छ ।
  • दानाको एक तिहाई भाग विहानै ( ४ बजे विहान ) खुवानुपर्छ र बाँकी दिउसो १ बजे तिर खुवाउनु पर्छ ।
  • दानामा माईकोटोक्जिन वाईन्डरको मात्रा थप्नुपर्छ ।

ब्रोइलर खोरको व्यवस्थापन

ठाँउको छनौट

  • जैविक सुरक्षायुक्त क्षेत्र हुनुपर्दछ ।
  • गुणस्तरीय पानी, बिजुलीको साथै अन्य आबश्यक सामग्रीहरुको सुविधा भएको ठाँउ हुनुपर्दछ ।
  • सुली व्यवस्थापन र मरेका कुखुरा बिसर्जनको निम्ति पर्याप्त ठाँउ आदिको सुविधा हुनुपर्दछ ।

डिजाइन/ ढाँचा

  • खोरको लम्बाई पूर्व–पश्चिम दिशामा अवस्थित हुनुपर्दछ ।
  • लामो समयसम्म खप्ने, सस्तो र सकेसम्म स्थानीय स्तरमा उपलब्ध हुने किसिमको सामग्रीबाट खोर निमार्ण गर्नुपर्दछ ।
  • खोर बनाउँदा दैनिक व्यवस्थापन गर्न तथा राम्रोसँग सफा गर्न सजिलो हुने गरी बनाउनु पर्दछ ।
  • बाहिर पट्टिबाट सम्पुर्ण फार्मलाई घेरेर तथा चाबी लगाउने गरी बार लगाउनुपर्दछ ।

Broiler in Nepal

तल दिइएका नाप अनुसार खोर बनाउनुपर्दछ ।

  • एक खोर देखि अर्को खोरको दुरी = ४० फिट (कम्तीमा)
  • जगको उचाइ = २ फिट
  • छेउको भित्ताको (इट्टा, ढुङगा वा ब्लक) उचाइ = ६ इन्च–९ इन्च (बढीमा)
  • छेउको जालीको उचाई = ६ फिट (जाडो ठाँउमा) र ७ फिट (गर्मी ठाँउमा)
  • बलेनीको लम्बाई = २ फिट







प्रत्येक ५०० कुखुरालाई खोर भित्र छुट्टा छुट्टै पाल्ने व्यवस्था हुनुपर्दछ ।
  • भुई पक्की हुुनुपर्दछ ।
  • खोर छाउने वस्तु प्रकाश परिवर्तन गर्ने हुुनुपर्दछ । उदाहरणको लागि जस्तापाता, खर, सेलेट
  • खोर र फार्मबाट निस्केको फोहोर पानी निकासको राम्रो व्यवस्था हुनुपर्दछ ।

इन्टरनेटमा फ्रीमै पाइन्छ यी १० चिज, कतै पैसा तिरिरहनुभएको त छैन ?

इन्टरनेट एउटा यस्तो प्ल्याटफर्म हो, जसले पूरा विश्वलाई आफ्नो नजिक बनाइदिएको छ । इमेल तथा भिडियोसहित केही चिजहरु इन्टरनेटको दुनियाँमा निःशुल्कै प्रयोग गर्न पाइन्छ भन्ने कुरा तपाई हामीलाई थाहा भएकै कुरा हो । तर अर्कोतर्फ यही इन्टरनेटमा यस्ता चिजहरु पनि छन्, जसलाई प्रयोग गर्न मानिस पैसा तिरिरहेका हुन्छन्, तर त्यस्ता चिजहरु निःशुल्कै प्रयोग गर्ने खास तरिका समेत हुन्छ । आज हामी तपाईलाई यस्तै चिजहरुको बिषयमा बताउन गइरहेका छौ, जसलाई इन्टरनेटमा निःशुल्कै प्रयोग गर्न पाइन्छ । 
टाइम म्यागेजिनले यो लिस्ट एक विशेष वेबसाइटको मद्धतबाट बनाएको खबरमा बताइएको छ । यदि तपाई प्रत्येक दिन इन्टरनेट प्रयोग गरिरहनुुभएको छैन भने त अझ तपाईलाई यो फ्रि लिस्ट थाहा पाएर आश्चर्य लाग्न सक्छ । आउनुहोस्, जानीराखौं यस्तै सूचिको बिषयमा :
ट्यूूशन
अमूमन अनलाइन ट्यूूसन शुल्क तिर्नुपर्ने अनलाइन मानिन्छ । विश्वभर अन्य यस्ता अनलाइनहरु पनि छन्, जसले तपाईलाई निश्चित पैसा लिएर अनलाइन ट्यूसन पढाउने गर्छन् । तर तपाईले अनलाइनबाट फ्रिमै ट्यूसनको सेवा समेत पाउन सक्नुुहुन्छ । उदाहारणका लागि khanacademy.org मा गएर तपाईले निःशुल्क ट्यूसन पढ्न सक्नुुहुन्छ । 
विदेशी भाषा
तपाई इन्टरनेटमा विदेशी भाषाहरु समेत निःशुल्क रुपमै सिक्न सक्नुुहुुन्छ । धेरै वेबसाइटहरुले पूर्ण रुपमा तपाईलाई निःशुल्क सेवा दिन्छन् । उदाहरणका लागि तपाई en.duolingo.com  मा गएर यो सेवा लिन सक्नुुहुन्छ । 
प्रोडक्टिभ सफ्टवेयर
तपाईले इन्टरनेटबाट Adobe Creative Suite जस्ता सफ्टवेयर पनि निःशुल्कै प्राप्त गर्न सक्नुुहुन्छ । यसबाहेक धेरै विन्डोज सफ्टवेयरहरु पनि तपाईलाई निःशुुल्कै प्राप्त हुन्छ । उदाहरणका लागि तपाई libreoffice.org, openoffice.org मा लगइन गरी यो सेवा लिन सक्नुुहुन्छ । 
किताब पनि निःशुल्क
इन्टरनेटमा आफूलाई आवश्यक पर्ने पुस्तक समेत पूर्ण रुपमा निःशुुल्क पाउन सकिन्छ । यदि तपाईको साथमा स्मार्टफोन छ भने इरिडरको माध्यमबाट यो सेवा पाउन सकिन्छ । उदाहरणका लागि तपाई gutenberg.org लगइन गर्न सक्नुुहुन्छ । 
फिल्म
किताब बाहेक तपाईले पुरानो फिल्महरु समेत इन्टरनेटमा निःशुल्क पाउन सक्नुुहुन्छ । यस अलावा तपाईलाई यदि चर्चित डकूमेन्टीहरु हेर्न मन लाग्यो भने यो पनि कतिपय प्लेटफर्ममा निःशुल्क पाइन्छ । यी केही वेबसाइटबाट तपाईले यो सुविधा पाउनुुहुनेछ:
Archive.org, documentaryheaven.com, YouTube.com, Metropolis.com
क्लाउड स्टोरेज
यो एउटा यस्तो स्टोरेज हो, जहाँ तपाईले आफ्नो  डिजिटल डाटा राख्नुुुहुन्छ र जहिले जहाँ चाहियो, त्यहाँ खोलेर प्रयोग गर्न सक्नुुहुन्छ । डाटा राख्नका लागि तपाईलाई कुनै चिप वा डिभाइसको आवश्यकता पर्दैन । धेरै कम्पनीले तपाईबाट यस्तो स्टोरेजको चार्ज लिन्छन्, तर केही ठाउँ यस्ता पनि छन्, जहाँ गएर तपाईले यो सेवा निःशुल्क पाउन सक्नुुहुन्छ । यसका लागि यी 
वेबसाइटमा जानुहोस् :Microsoft.com, Google.com, Dropbox.com
कोडिङ ल्याङ्ग्वेज
सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा ठूलो माग कोडिङ गर्ने व्यक्तिको हुन्छ । यदि तपाईलाई इन्टरनेटको भिन्ना भिन्नै भाषाको कोडिङ आउँछ भने तपाईलाई जागिरको कहिल्यै कमी हँदैन । यस्तो सेवा समेत फ्रिमै पाइन्छ । त्यसका लागि यी वेबसाइटहरुमा जानुुहोस् : hourofcode.com, ullstackacademy.com, learnpythonthehardway.org
चर्चित कलेजको कोर्स सामाग्री
विश्वभरका चर्चित कलेजहरु जस्तै, MIT, Harvard, and Yaleले तपाईलाई निःशुल्कै कोर्स म्याटेरियल उपलब्ध गराउँछन् । धेरै वेबसाइटहरुले यसका लागि शुल्क लिन्छन्, तर तपाईले यी सामाग्रीलाई निःशुल्कै पनि पाउन सक्नुुहुन्छ । त्यसका लागि यी वेबसाइटमा जानुुहोस् : coursera.org, academicearth.org

Tuesday, 2 May 2017

सन्तानको डिमान्डै चर्काे !

सन्तानको डिमान्डै चर्काे !

आमाबाउ चाहन्छन्– छोराछोरी सुखी होऊन्, सन्तुष्ट होऊन् । सन्तानका इच्छा र चाहना पूरा गर्न जिन्दगीभर दुःख गर्छन्, कष्ट काट्छन् । तर, नयाँ पुस्ताका ‘डिमान्ड’ चर्का हुन्छन् । उनीहरू मोबाइलदेखि मोटरसाइकलसम्म, घुमफिरदेखि ‘पकेटमनी’सम्मका सबै माग अभिभावकले पु¥याइदिऊन् भन्ने चाहन्छन् । उनीहरूलाई घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने पुरानो उखानको हेक्का हुँदैन । सृजना खड्का र रचना श्रेष्ठले सन्तान र अभिभावबीचको यस्तै माग र पूर्तिको हिसाबकिताब प्रस्तुत गरेका छन् ।
‘डिमान्ड’ अर्थात् माग ।
नयाँ पुस्ताका डिमान्डैडिमान्ड हुन्छन् ।
मोबाइलदेखि मोटरसाइकलसम्मको डिमान्ड । जिमखाना जानेदेखि जन्मदिनमा पार्टी राख्नेसम्मको डिमान्ड । हाइकिङदेखि विदेशै हुइँकिनेसम्मको डिमान्ड । ‘पकेटमनी’को डिमान्ड । फिल्म, घुमफिर खर्चको डिमान्ड । रेस्टुरेन्टमा साथीहरूसँग जमघट गर्ने बजेटको डिमान्ड । अर्थात्, डिमान्डैडिमान्ड ।  
आफ्ना अभिभावकका आर्थिक हैसियत र गच्छेको उनीहरूलाई मतलब नभएजस्तो देखिन्छ । उता, अभिभावक छोराछोरीका चर्का माग पूरा गरिदिन हरसम्भव प्रयत्न गर्छन् ।  
माग थरीथरी
काठमाडौँ, भोटेबहालस्थित एउटा गल्लीमा चटपटे बेच्छिन्, विनिता कार्की । तीन सन्तानकी आमा उनी बिहानदेखि बेलुकासम्म चटपटे बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँछिन् ।
‘बाँच्नै गाह्रो भइरहेका बेला छोराछोरीका अनेक थरी चाहनाले दिक्कै बनाउँछ,’ उनी भन्छिन्, ‘उनीहरूका डिमान्डै चर्का हुन्छन् ।’
भर्खरै एसईई दिएर बसेकी उनकी छोरी पहिरनको सोखिन छिन् । ‘साथीहरूसँग घुम्न जान घुँडामा च्यातिएको प्यान्ट किन्दिनुस् भन्दै थिई,’ विनिताले भनिन्, ‘पहिला त मार झपारेँ । तर, माने पो । नकिन्दिई सुखै पाइएन ।’
चार कक्षामा पढ्ने छोराले मोबाइलको माग गरेको छ । ‘अर्काे सात कक्षामा पढ्ने छोरा ल्यापटप चाहियो भन्छ । खै के त्यो प्रोजेक्ट वर्क कि के हो गर्नप¥यो भन्दैथ्यो,’ उनले भनिन्, ‘नसक्ने कुरा कहाँबाट ल्याउनु ? चटपटे बेचेर कति नै आम्दानी हुन्छ र ? भात खानै मुश्किल हुन्छ । अहिलेका केटाकेटीका कुरै बुझ्दिनँ म ।’
त्यस्तै, ललितपुरका चन्द्रप्रसाद चौलागार्इं पनि पाँच सन्तानका मागले हत्तु भएका छन् । ज्याला–मजदुरी गरेर परिवार पाल्ने उनलाई छोराछोरी पढाउन हम्मेहम्मे परेको छ । ‘सबै छोराछोरी पढ्छन्,’ उनले भने, ‘कोही स्कुल त कोही कलेज । भारी बोकेर घर चलाउनुपर्छ । उनीहरूका किताब, कापी, कलम जुटाउन पनि धौधौ पर्छ । त्यसमाथि कहिले के कहिले के मागिरहन्छन् । बाउ हुन साह्रै गाह्रो हुँदो रैछ ।’
काठमाडौँ, छाउनी बस्ने सविना श्रेष्ठ सिलाईको काम गर्छिन् । श्रीमान् सेनामा छन् । उनका दुई छोरा छन् । ‘सानोमा जेठो छोरा निकै कमजोर भयो भनेर दिनदिनै मासुभात खुवाउँथेँ,’ उनले भनिन्, ‘अहिले लाठे भैसक्यो । मासु नभई भातै खाँदैन । मासु भएन भने अण्डा त उसलाई चाहिन्छ–चाहिन्छ । अरू तरकारी पकाएको दिन फन्किँदै कोठामा गएर चुकुल हालेर बस्छ ।’
नयाँ चाहियो
काठमाडौँको भूगोलपार्कमा टहल्न आएका टेबहालका विजयरत्न तुलाधरलाई अहिलेका केटाकेटीका माग देखेर उदेक लाग्छ । उनले आफ्नै छोराछोरीका उदाहरण दिए । ‘भएको, पुरानो र काम दिइरहेको चिज हुँदैन भन्छन्,’ उनले भने, ‘घरमा पुरानो टीभी राख्दा लाज हुन्छ रे, नयाँ एलईडी टीभी चाहियो रे । चलाइराखेको मोबाइल थोत्रो र पुरानो भयो रे । लेटेस्ट मोडेलको चाहियो भन्छन् । उनीहरूका डिमान्ड पूरा गर्दागर्दै जिन्दगी नै पूरा होलाजस्तो भइसक्यो ।’ उनलाई लाग्छ– नयाँ पुस्ताको मागको कुनै सीमा छैन । ‘हाम्रो जमानाजस्तो कहाँ रह्यो र अब ?’ उनले भने, ‘हामी बारीको पाटामा फुटबल खेल्न जान्थ्यौँ, अहिलेका केटाकेटी पैसा तिरीतिरी फुटसल धाउँछन् ।’
मोबाइल र नेटको माग  
‘बाबामम्मी त मुखले भन्ने मात्रै हो, भनेको कुरा कहिल्यै पु¥याउनुहुँदैन’ काठमाडौँ, ब्रह्मटोलस्थित सरस्वती निकेतनमा ७ कक्षामा पढ्ने याङ्जी लामाले भनिन् । कक्षा छ मा हुँदा उनका बुबाले उनलाई मोबाइल किनिदिएका थिए । ‘मैले धेरै जिद्दी गरेपछि माइक्रोम्याक्सको सेट किनिदिनुभएको थियो,’ उनले भनिन् । ‘त्यो मोबाइल साथीको घरमा जाँदा चार्ज गरेकै ठाँउबाट हरायो ।’ उनका बुबा रेस्टुरेन्टका कुक हुन् भने आमा बैँकमा काम गर्छिन् । ‘अब चाहिँ हराउँदिनँ, अर्को किन्दिनू न भनेर कति चोटि भनिसकेँ,’ उनले सुनाइन्, ‘सुनेको नसुन्यै गर्नुहुन्छ । मम्मीले ‘फेरि हराउनलाई किन किन्नु ? अब १० कक्षा पुगेपछि मात्रै चलाउनू’ भन्नुहुन्छ ।’
यता, उनकी साथी रियालाई भने घरमा आमाबुबाले इन्टरनेट नजोडिदिएर तनाव भएको छ । स्कुलबाट आएपछि उनी फुत्त ठूलीआमाको डेरातिर  लागिहाल्छिन् । ‘आफ्नो डेरामा नेट छैन । ठूल्मम्मीकोमा छ । स्कुलमा दिएको होमवर्क गर्न नेट चाहिन्छ,’ उनले भनिन्, ‘नेट राखेपछि छोराछोरी बिग्रिन्छन् भन्नुहुन्छ ।’ उनकी आमा तरकारी व्यापारी र बुबा डकर्मी हुन् । उनलाई युट्युबमा फिल्म हेर्न साह्रै मज्जा लाग्छ । ‘ड्याडीमम्मीलाई जसरी भए पनि नेट हाल्न लगाउँछु, यही महिनाभित्र,’ उनले भनिन् ।
माग पूरा गरिदिनै गाह्रो
काठमाडौँ, कोटेश्वर बस्ने चेतन बुढाथोकी सिकर्मी हुन् । उनका तीन जना छोराछोरी छन् । श्रीमती सिलाईको काम गर्छिन् । ‘काठमाडौँको ठाउँ, महँगीले बाँच्नै गाह्रो छ,’ उनले भने, ‘त्यसमाथि छोराछोरीका थरिथरिका माग ! जेठी ‘घुम्न जानुप¥यो, पैसा चाहियो’ भन्छे । माइलो ल्यापटप किन्दिएन भनेर गमक्क फुलेर बसेको छ । कान्छोलाई मोबाइल नभई भाको छैन । गरिखानु न मरिजानु पारेका छन् ।’
देखासिकीका कारण आफ्ना छोराछोरीले यस्ता माग गरेका उनको बुझाइ छ । ‘हुनेखानेका छोराछोरीले जे–जे ग¥यो, त्यही गर्न खोज्छन्,’ बुढाथोकीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने उनीहरूलाई ज्ञानै छैन ।’
मनोचिकित्सक रवि शाक्यका अनुसार माग भनेको घाँटी हेरेर हाड निल्ने खालको हुनुपर्छ । ‘आमाबाउले आफ्नो गच्छे हेरेर छोराछोरीको डिमान्ड पूरा गर्नुपर्छ,’ उनले भने, ‘छोराछोरी रिसाए, घर छाडेर हिँडे भन्दैमा केही गरि पो हाल्छन् कि भनी डराएर उनीहरूको सबै डिमान्ड पूरा गर्दिनुपर्छ भन्ने छैन । यस्तो बानीले झनै उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्न सिकाउँछ । त्यसैले हरेक अभिभावकले आफ्नो वास्तविकताबारे सन्तानलाई सम्झाउनुपर्छ ।’
काठमाडौँ, ताहाचलमा किराना पसल गरेर बसेकी कोपिला हुमागाईंका दुई जना छोराछोरी छन् । छोरी ९ र छोरा ११ कक्षामा पढ्छन् । उनको कोठामा नेट काटिएको तीन महिना भयो । तर, छोराछोरीको ‘फेरि नेट जोडिदिनुस् न’ भन्ने माग आएकोे तीन हजार पटकभन्दा बढी भइसक्यो । ‘सामान्य किराना पसल चलाउँछु, उनीहरुले भनेको–भनेको जस्तो गर्न कहाँ पाउनु ? नेट जोडेपछि पढ्नको त कुरै छोडौँ, खानै बिर्सन्छन्,’ उनले भनिन्, ‘उनीहरूले भनेबमोजिम गरे त जोगी भइन्छ ।’
काठमाडौँ, कीर्तिपुरका बाबुराजा महर्जन अभिभावकले छोराछोरीका माग पूरा गरिदिनुपर्ने बताउँछन् । ‘मैले १२ वर्षको उमेरसम्म एक जोर छालाको जुत्तासमेत लाउन पाइनँ,’ उनले भने, ‘आफ्नो पालामा धेरै दुःख कटाइयो, छोराछोरीलाई भने जे–जे भन्यो त्यही पु¥याइदिनुपर्छ जस्तो लाग्छ ।’ एक अस्पतालमा मेडिकल रेकर्डरका रूपमा कार्यरत उनका दुई छोरी र एक छोरा छन् । उनको अनुभवले छोरीहरूलाई बुज्झकी भन्छ । ‘छोरीहरुले अनावश्यक डिमान्ड गरेर कहिल्यै दुःख दिएनन् । छोरालाई आज सय रुपैयाँ दियो, भोलिपल्ट फेरि माग्न थालिहाल्छ,’ उनले भने, ‘छोरीले एउटा डिमान्ड गरे भने छोराले १० वटा कुराको डिमान्ड गर्छ ।’
छोराछोरीका सबै माग पूरा गरिदिने अभिभावकले उनीहरूलाई हानि पु¥याइरहेको हुने शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । भन्छन्, ‘यस्तो अवस्थामा अभिभावक र छोराछोरीको बीचमा ‘कम्युनिकेसन’ हुन जरुरी छ । आमाबाबुले आफ्नो छोराछोरीको डिमान्ड पूरा गरेर मात्र हुँदैन । उनीहरूसँग बसेर कुराकानी गर्ने वातावरण पनि बनाउनुपर्छ । सम्झाउनुपर्छ, बुझाउनुपर्छ ।’
शिक्षाविद् डा. कोइरालाका अनुसार हरेक माग पूरा गरिदिने अभिभावकको बानीले सन्तानलाई अरूमा निर्भर हुन बाध्य बनाउनुका साथै हीनताबोध र निराशाको शिकारसमेत बनाउँछ ।
अभिभावक संघका अध्यक्ष केशव पुरी अभिभावकले भनेको कुरा पु¥याइदिएर सन्तानलाई बिगारिरहेको धारणा राख्छन् । ‘हरेक अभिभावकलाई आफ्ना छोराछोरीको इच्छा पु¥याइदिऊँ भन्ने हुन्छ,’ पुरी भन्छन्, ‘उनीहरूले लगाइदिएको बानीले पछि गएर उनीहरूलाई नै अप्ठ्यारोमा पार्छ । अभिभावकले भनेको कुरा पु¥याइदिएर सन्तानलाई निगरानी गर्न नसक्दा उनीहरू विभिन्न किसिमका कुलतमा फस्न पुगेका उदाहरण पनि प्रशस्त छन् ।’
०००
काठमाडौँ, इन्द्रचोकका अमूल्य स्थापितका दुई छोरा छन् । ‘दुवैका साथीसर्कल फरक–फरक छन्,’ स्थापितले भने, ‘एउटा छोरोका गु्रपमा लगभग १० जना साथी छन् । जसको जन्मदिन आए पनि पार्टी गर्न तम्सिहाल्छन् । उनीहरुको ग्याङमा हरेक महिना जन्मदिनको भोज ! एक जनाको जन्मदिन आयो भने हजार रुपैयाँ घटी नबोकी घरबाट निस्किँदै निस्किँदैन ।’
काठमाडौँ, कोटेश्वर बस्ने रामप्रसाद थपलिया ट्याम्पू चलाउँछन् । उनको १४ वर्षीय छोरा प्रतीक ८ कक्षामा पढ्छन् । ‘उसको डिमान्ड ल्यापटप छ,’ उनले भने, ‘धेरै झगडा ग¥यो भनेर सामसुङको दश हजार पर्ने मोबाइल किनिदिएँ । अब ल्यापटप बनेर बसिखान दिएको छैन ।’
काठमाडौँ, लैनचौर बस्ने हेम्स बञ्जाडेको आफ्ना दुई छोराको माग व्यवस्थापन गर्ने आफ्नै काइदा छ । ‘म कहिल्यै ‘नो’ भन्दिनँ,’ उनले भने, ‘समय आएपछि किन्दिन्छु भन्छु । उनीहरूलाई सम्झाइबुझाइ गर्छु । घाँटी हेरेर हाड निल्नुपर्छ भन्छु ।’
मनोचिकित्सक रवि शाक्य सन्तानको माग सीधै इन्कार गर्न नहुने बताउँछन् । भन्छन्, ‘सीधै ‘नो’ भन्नु समस्याको समाधान होइन । उनीहरूको माग के कारणले पूरा गर्न नसकेको हो भन्ने कुरा उनीहरूले बुझ्ने भाषामा सम्झाउनुपर्छ ।’
‘खर्च गर्न सिकाउँछौँ, कमाउन सिकाउँदैनौँ’
डा. विद्यानाथ कोइराला

शिक्षाविद्
आजकालका आमाबाउले सानै बेलादेखि आफ्ना छोराछोरीलाई तीनतारे÷पाँचतारे होटलमा लगेर खुवाउँछन् । उनीहरूको गच्छेले भ्याओस् वा नभ्याओस् । सानो बेलामा पूरा हुँदै आएका ‘डिमान्ड’मा ठूलो भएपछि उनीहरूको लत बसिसकेको हुन्छ । यसले तीनटा अवस्था सिर्जना गर्छ । पहिलो, आमाबाउसँग शत्रुता वा दुश्मनी । दोस्रो, दुई नम्बरी काम गर्नतर्फ छोराछोरी प्रेरित हुन्छन् र तेस्रो, आफैँ कमाउनुपर्छ भन्ने सोच उनीहरूमा आउँछ । सम्पन्न घरानाका अभिभावकले छोराछोरीलाई कमाउन सिकाउँदैनन् । उनीहरूले गरेका हरेक डिमान्ड पूरा गरिदिँदै जान्छन् । यसले भविष्यमा उनीहरूकै छोराछोरीलाई हानि पु¥याइरहेको हुन्छ ।
हामी अभिभावकहरू खर्च गर्न सिकाउँछौँ, कमाउन सिकाउँदैनौँ । बाइक किन्दिन्छौँ, ‘आफ्नै पैसाले पेट्रोल भर’ भन्दैनौँ । मोबाइल किन्दिन्छौँ, ‘आफ्नै पैसाले रिचार्ज गर्नुपर्छ’ भनेर सिकाउँदैनौँ । कुनै पनि सामान किनेपछि त्यसको जतन कसरी गर्ने ? मर्मत खर्च कसरी जुटाउने ? आफ्नो अर्थिक हैसियत के हो ? भनेर कहिल्यै पनि बुझाउँदैनौँ÷सिकाउँदैनौँ । बचत गर्ने बानी त झन् धेरै कम अभिभावकले मात्र लगाउँछन् । यो उनीहरूको ठूलो कमजोरी हो । मास्टर्स पास गरेको छोराको बिहेको खर्च र बच्चा हुर्काउने खर्चसम्म अभिभावकले धानेका उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यसले भविष्यमा उनीहरूलाई अरूमा निर्भर हुन बाध्य बनाउनुका साथै हीनताबोध र निराशाको शिकारसमेत बनाउँछ ।
यस्तो अवस्थामा अभिभावक र छोराछोरीको बीचमा ‘कम्युनिकेसन’ हुन जरुरी छ । आमाबाबुले आफ्नो छोराछोरीको डिमान्ड पूरा गरेर मात्र हुँदैन । उनीहरूसँग बसेर कुराकानी गर्ने वातावरण पनि बनाउनुपर्छ । सम्झाउनुपर्छ÷ बुझाउनुपर्छ । किनभने, सम्पन्न परिवारका लागि बाइक, कम्प्युटर र महँगो रेस्टुरेन्टमा गएर खानु आधारभूत डिमान्डमा पर्लान् । तर, विपन्न परिवारका लागि बिहान÷बेलुका टन्न भात खाने डिमान्ड नै पूरा गर्न नसकिरहेको अवस्था पनि हुन्छ ।
‘नयाँ पुस्ता त डिमान्डको पहाडै हो’
केशव पुरी

अध्यक्ष, अभिभावक संघ
अहिलेको अवस्था एकदमै फेरिएको छ । कुनै अभिभावकले आफ्ना छोराछोरीले डिमान्ड गरेको कुरामा ‘नो’ भने भने उनीहरूका छोराछोरी आफ्नो हातबाट गुमे भन्ने बुझे पनि भयो । नयाँ पुस्ताको माग बढ्दै जानुमा मिडियाको ठूलो हात छ । टीभीमा जसले जे लगाएको छ, त्यही लगाउन खोज्ने, जे खाएको छ, त्यही खान खोज्ने, जे बोकेको छ, त्यही बोक्न खोज्ने, जे चढेको छ, त्यही चढ्न खोज्ने क्रम बढ्दो छ । धनाढ्य घरका छोराछोरीको संगतले मध्यमवर्गीय परिवारका छोराछोरीको मागसमेत बढ्दो छ । उनीहरू फजुल खर्च गरेर रमाइलोमा भुलिरहेका छन् । बुबाआमा गाँस कटाएर छोराछोरीलाई पढाउँछन् । छोराछोरी भने दिनकै फिल्म हेर्न जान्छन् । बजारमा आएका नयाँ मोडलका मोबाइल देख्नै नहुने ! उनीहरूको माग भइहाल्छ । यस्ता कुरामा उनीहरू आमाबाउलाई प्रत्यक्ष÷अप्रत्यक्ष दबाब दिइरहेका हुन्छन् । साँच्चै भन्ने हो भने नयाँ पुस्ता त डिमान्डको पहाडै हो ।
हरेक अभिभावकलाई आफ्ना छोराछोरीको इच्छा पु¥याइदिऊँ भन्ने हुन्छ । उनीहरूले लगाइदिएको बानीले पछि गएर उनीहरूलाई नै अप्ठ्यारोमा पार्छ । अभिभावकले भनेको कुरा पु¥याइदिएर सन्तानलाई निगरानी गर्न नसक्दा उनीहरू विभिन्न किसिमका कुलतमा फस्न पुगेका उदाहरण पनि प्रशस्त छन् ।
धेरै अभिभावक आफैँले ‘परीक्षामा यति नम्बर ल्याउनू, यो किन्दिन्छु, त्यो किन्दिन्छु’ भनेर वाचा गर्छन् । यो एकदमै गलत अभ्यास हो । उनीहरूलाई पढ्नका लागि प्रेरित गर्न अन्य उपाय हुन सक्छन् । उनीहरूलाई क्षणिक खुशी दिएर मात्रै हँदैन । भविष्यका बारेमा पनि सोच्ने बनाउनुपर्छ ।  
‘मैले दुःख पाएँ, उमेरमा कति चाहना मार्नुप¥यो’ भन्दै छोराछोरीका हरेक इच्छा पूरा गरिदिने अभिभावक पनि धेरै छन् । तर, आफू दुःख गरेरै सफल भएको र छोराछोरीले पनि जीवनलाई बुझ्नका लागि दुःखै गर्नुपर्छ भन्ने कुरा उनीहरू बिर्सन्छन् ।
असल सन्तानलाई आमाबुबाको सम्पत्तिको चाहना हुँदैन । तर, खराब सन्तानले आमाबुबाको करोडाँै सम्पत्ति क्षणभरमै सखाप पारिदिन सक्छ ।
हरेक अभिभावकले आफ्ना छोराछोरीलाई ‘हामी कस्तो पृष्ठभूमिबाट आएका हाँै ? हाम्रो धरातल के हो ?’ भन्ने कुरा सम्झाउनुपर्छ । नत्र आफूले नसक्दानसक्दै उनीहरूको डिमान्ड पूरा गर्दिंदै जाने हो भने कलेज  पढ्ने बेलासम्म डिमान्डको पहाडै बनिसकेको हुन्छ । यसमा अभिभावक आफैँ सचेत हुनुपर्छ ।

‘घाँटी हेरी हाड निल्नुपर्छ’
रवि शाक्य
, मनोचिकित्सक
अहिलेका पुस्तालाई परिवारले ‘के सिकाउँछ’ त्यो महŒवपूर्ण हुँदैन । साथीभाइले के खाए, के लाए, के गरे र कहाँ गए भन्ने चाहिँ महत्वपूर्ण हुन्छ । उनीहरूका आ–आफ्नै ग्रुप हुन्छन् । ग्रुपमा ‘अरूभन्दा म के कम’ भनेर देखाउने होडबाजी चलि नै रहेको हुन्छ । आज एउटाले नयाँ÷महँगो मोबाइल ल्याएको छ भने भोलि त्यो अर्काको डिमान्ड हुन पुग्छ । एउटाले बाइक चढ्यो भने अर्कोले डिमान्ड गरिहाल्छ ।
डिमान्ड भनेको घाँटी हेरेर हाड निल्ने खालको हुनुपर्छ । आमाबाउले पनि आफ्नो गच्छे हेरेर छोराछोरीको डिमान्ड पूरा गर्नुपर्छ । छोराछोरी रिसाए, घर छाडेर हिँडे भन्दैमा केही गरि पो हाल्छन् कि भनी डराएर उनीहरूको सबै डिमान्ड पूरा गर्दिनुपर्छ भन्ने छैन । यस्तो बानीले झनै उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्न सिकाउँछ । त्यसैले हरेक अभिभावकले आफ्नो वास्तविकताबारे सम्झाउनुपर्छ ।
कोही निकै अटेरी स्वभावका पनि हुन्छन् । आमाबुबाको कुरा सुन्दै सुन्दैनन् । यस्तो अवस्थामा आफ्ना आफन्त तथा उनीहरूका नजिकका वा मिल्ने साथीको सहारा लिन सकिन्छ । तर, उनीहरूको माग सीधै इन्कार गर्नु हुँदैन । जवाफ नदिई चुप भएर पनि बस्नु हुँदैन । ‘नो’ भन्नु नै पनि समस्याको समाधान होइन । उनीहरूको माग के कारणले पूरा गर्न नसकेको हो भन्ने कुरा उनीहरूले बुझ्ने भाषामा सम्झाइबुझाइ गर्नुपर्छ ।
कसैले ल्यापटपको डिमान्ड गर्छन्, त्यो पाएपछि आफ्नो प्राथमिक कामकाज÷पढाइ नै छाडेर चौबीसै घण्टा त्यसैमा झुण्डेर बस्छन् । यस्तो खालको डिमान्ड पूरा गरेर पनि त्यसको औचित्य भएन । हरेक अभिभावकले छोराछोरीको माग पूरा गर्नुपूर्व आफ्नो क्षमता र छोराछोरीको आवश्यकता के हो भन्ने कुरा बुझ्नु जरुरी छ ।
छोराछोरी बुझ्दै नबुझ्ने हुँदैनन् । अभिभावकले उनीहरूलाई कुन रूपमा सम्झाउँछन्, त्यसमा भर पर्छ । आफूले गरेको डिमान्ड पूरा नहुँदा छोराछोरी स्वाभाविक रूपमा दुःखी हुन्छन् । यस्तो अवस्थामा अभिभावकले आफ्नो विवेक लगाउन सक्नुपर्छ ।

Sunday, 26 March 2017

व्यक्तित्व विकासका लागि

व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो । पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ । व्यक्तित्वमै सफलताको रहस्य लुकेको हुनाले सफलता प्राप्तिका लागि व्यक्तित्व निर्माण अत्यावश्यक छ । आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा पनि व्यक्तित्वकै आधारमा तय हुन्छ तसर्थ कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ । हिजोआज व्यक्तित्व विकासका लागि तालिम पनि लिन सकिन्छ । तालिम प्रदान गर्ने संस्थामा गएर वा विज्ञहरूको सहायता लिएर व्यक्तित्वलाई चाहेअनुरूप बनाउन सकिन्छ ।
पहिरन : फेसन डिजाइनरहरूका अनुसार व्यक्तित्व विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका पहिरन वा ड्रेस सेन्सको हुन्छ । पहिरनलाई जति तरिका मिलाएर लगाउन सकियो त्यो त्यति नै प्रभावकारी हुन्छ । कस्तो अवसरमा कस्तो पहिरन लगाउनुपर्छ भन्ने कुराको जानकारी राखेर त्यसलाई अवलम्बन गर्दा अरूलाई सहजै आकर्षित गर्न सकिन्छ । पार्टी पहिरन, मिटिङ तथा कार्यालय जाँदाको पहिरन, भ्रमण गर्दाको पहिरन आदि एकै प्रकारको हुँदैन । त्यसैले जुन बेला जस्तो पहिरन लगाउँदा सुहाउँछ त्यसैअनुसार पहिरन छनोट गर्न सके व्यक्तित्वमा अभूतपूर्व आकर्षण उत्पन्न गराउन सकिन्छ । पार्टीकै कुरा गर्दा पनि आफ्नो घरमा पार्टी हुँदा र अरूको पार्टीमा जाँदा लगाइने पहिरन फरक किसिमको हुनु आवश्यक छ ।
शृंगार :
महिलाको सौन्दर्य शृंगार गर्दा अझ खुल्छ, शृंगारले व्यक्तित्वमा पनि परिवर्तन ल्याउँछ । शृंगार पनि कस्तो समारोहमा जाने हो त्यसैअनुरूप हुनुपर्छ । पार्टीमा जाने हो भने कलरफुल मेकअप तथा अफिसमा सामान्य हलुका मेकअप गर्नुपर्छ । पहिरन तथा उमेरका आधारमा पनि मेकअप फरक हुनुपर्छ अन्यथा आकर्षक बन्न गरिने मेकअपले भद्दा वा कुरूप बनाउन बेर लाग्दैन । मेकअप आफ्नो पद–प्रतिष्ठा, सामाजिक सम्बन्ध एवं मर्यादा अनुकूल पनि हुनुपर्छ ।
बडी ल्याङ्ग्वेज :
शरीरको पनि आफ्नै प्रकारको भाषा हुन्छ जसलाई चालढाल, बानी वा बडी ल्याङ्ग्वेज भनिन्छ । हिँडडुल गर्ने, उठबस गर्ने, उभिने, फोनमा कुरा गर्ने आदि कुरामा पनि सबैको आ–आफ्नै शैली हुन्छ । व्यक्तित्व निर्माणमा यस्ता कुराको पनि अहम् भूमिका हुन्छ । कसैको हात हल्लाउने, नङ टोक्ने, नाकमा हात लाने, औंलाले भुइँ कोतर्नेजस्तो बानी हुन्छ । यस्तो बानीले व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछ ।
व्यक्तित्व विकासका लागि आफ्नो विशेषता पहिचान गर्नुपर्छ । खुबी वा बलियो पक्ष पहिचान भैसकेपछि त्यसलाई वृद्धि गर्ने र कमजोरी लुकाउने कुरामा ध्यान दिनुपर्छ ।
सबैका लागि आफ्नो नाम सर्वाधिक प्रिय, मधुर एवं महत्वपूर्ण हुन्छ । अरूको प्रशंसा गरियो भने आफूले पनि अरूको प्रशंसा पाइन्छ । त्यसैले अरूको कुरा काट्नु हुँदैन, त्यसो गरे आफ्नो नकारात्मक छवि निर्माण हुन्छ र व्यक्तित्व विकासमा बाधा पुग्छ ।
राम्रो श्रोता बन्नुपर्छ । अरूको कुरालाई महत्व दिँदै ध्यानपूर्वक सुन्नु उपयुक्त हुन्छ । अरूको रुचि बुझेर व्यवहार गर्नसके अझ उत्तम हुन्छ, आफ्नो मात्र रुचिको कुरा गरेर अरूका अगाडि गलत छाप पर्न दिनु पनि राम्रो होइन । तर्कको अन्त्य हुँदैन, त्यसैले कुतर्क गरेर समय नष्ट गर्नु हुँदैन । उचित कुरा छ भने जोसुकैको विचारको सम्मान गर्नुपर्छ र आफ्नो गल्ती भए त्यसलाई स्वीकार गर्नुपर्छ । यसो गर्दा आफ्नै व्यक्तित्वमा निखार आउँछ ।
व्यवहारमा शिष्टाचार, अनुहारमा मुस्कान एवं आत्मविश्वास छ भने व्यक्तित्वमा गजबको चमक पैदा हुन्छ । तनाव, निराशा, क्रोध, चिडचिडेपनजस्ता भावना चाहेर पनि लुकाउन सकिँदैन, कलुषित भावनाले व्यक्तित्वलाई नै अनाकर्षक बनाउँछ ।
सकारात्मक सोच राख्नुपर्छ । आफूबाट गल्ती भए क्षमा माग्न कन्जुस्याइँ गर्नुहुँदैन । कसैले सहयोग गरे वा कसैको सेवा लिइएको भए धन्यवाद भन्न बिर्सनुहुँदैन । गल्ती ढाकछोप गर्ने, अरूमाथि दोष थोपरेर पन्छिने स्वभावले आफनै व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछ ।

Wednesday, 22 February 2017

भेट्नुपर्छ है !

smtsza forever
भनिन्छ, यो संसारमा भएका करोडौं मानिसमध्ये जोसँग भेट हुन्छ, त्यसको कुनै न कुनै कारण हुन्छ । कसैसँग त्यसै भेट हुँदैन कि त त्यो मानिसले सकारात्मक प्रभाव पार्छ कि नकारात्मक वा समन्वयकारी भूमिका खेल्छ । चाहे अघि वा पछि कतै न कतै जीवनको कुनै मोडमा कुनै भूमिकामा जोडिन आइपुग्छ । कतिसँग एकफेर भेट भएपछि वर्षौं देखादेख पनि हुँदैन । कसैसँग दोहोर्‍याएर भेट्नै मन लाग्दैन । कतिसँग भेटिरहूँ, कुरा गरिरहूँ जस्तो लाग्छ । फेरि कतिसँग भेट्दिनँ भने पनि दिनहुँ भेटिरहनुपर्छ । मान्छेले इच्छा गर्दैमा सबै कुरा गर्न पाउँदैन । मानिसको अधिकांश उमेर परिस्थितिको सिकार भएर वा समयसँग सम्झौता गरेरै बित्छ ।  
भेटहरू पनि अनेक खालका हुन्छन्, जस्तै— आकस्मिक भेट, नियोजित भेट, प्रायोजित भेट, जम्काभेट यस्तै–यस्तै । हिजोआज त अझ इन्टरनेट तथा सामाजिक सञ्जालको विकासले सबैसँग सधैं भेटिरहेजस्तो भ्रम हुन्छ । सबै कुरा थाहा भैरहेजस्तो भान पर्छ । सामाजिक सञ्जालमा देखाइएको कुराले समग्र जीवनका घटनाको प्रतिनिधित्व गर्दैन । सार्वजनिक रूपमा देखाउन र भन्न नमिल्ने कतिपय कुरा मानिसले लुकाइराखेको हुन्छ अर्थात् व्यक्त गरेको हुँदैन । कति कुरा भेटेरै गरुँला भनेर साँचिएको हुन्छ तर मानिसहरू अचेल भौतिक रूपमा त्यति भेट्न छोडिसके ।
 भेटे पनि उनीहरू अन्तै हराएका हुन्छन् । भेटेर कुरा गर्दा आउने आत्मीयता, निकटता र सामीप्यताको मिठास मानिसले बिर्सन थालिसके । प्राय: सबैको नियमित भेटघाट भैरहने सानो कोटरी हुन्छ । एकै खालका मानिससँग भेटघाट गरिरहने बानी पर्दा अरू कति धेरै मानिससँग भेट र भलाकुसारी हुँदैन । आफ्नो समूूह सबैलाई गज्जब र जान्ने–सुन्ने छ जस्तो लाग्छ र हामी त्यही सानो घेरामा रमाउने बानी बसाल्छौं । फरक तर्क गर्ने वा विपरीत विचार राख्नेको कुरा सुन्ने धैर्य कमैसँग हुन्छ ।  
 कतिसँग कैयन् दिनदेखि भेट्न खोज्दा पनि चाँजोपाँजो मिल्दैन । कसैसँग ल भेटौं न त भन्नासाथै भेटिन्छ । धेरै जनासँग चाहिँ कतै छुस्स देखेका बेला प्रत्येक पटक अब चाँडै भेट्न पर्छ है भनिन्छ, तर त्यो दिन कहिल्यै आउँदैन । कतिलाई भेटौं न है भन्न अप्ठ्यारो लाग्छ । कतिलाई भेटौं न भन्दा किन भेट्नुपर्‍यो र भन्ने जवाफ आउँछ । भेटेरै भनुम्ला भन्दा भन्दै कति कुरा मनमै मेटिएर जान्छन् । भौतिक रुपमा भेटेर बोल्दा र इन्टरनेटको च्याटमा वा टेलिफोनमा बोल्दा पनि धेरै कुरा फरक पर्छ । आँखा जुधाएर कुरा गर्दा मानिस धकाउँछ, लजाउँछ, डराउँछ अर्थात् उसमा विविध प्रकारका भाव पैदा हुन्छ तर लेखेर कुरा गर्दा ऊ कुन भावमा कुरा गरिरहेको छ थाहा हुँदैन । लेखेर कुरा गर्दा कति पटक अर्थको अनर्थ पनि लाग्छ र त्यसै मनमुटाव बढ्न सक्छ । भेटेर कुरा गर्दा मानिसको व्यक्तित्वले पनि प्रभाव पार्छ । च्याटमा जे पनि बोल्ने, जिस्कने मानिस अघि पर्दा बोल्नै नसक्ने पनि हुन सक्छ ।  
भेटेर बोल्दा र नभेटी बोल्दा मानिस बेग्लाबेग्लै लाग्छ । भेटेर कुरा गरिसकेपछि कतिपय शंकाहरू मेटिन्छन् । भेटेपछि सम्बन्धको आधिकारिकता बढ्छ । भेटले प्रेम बढाउँछ, विश्वास बढाउँछ । कोसँग कहाँ भेट भयो त्यो महत्वपूर्ण होइन, कोसँगको भेट कति सार्थक रह्यो— हार्दिक रह्यो त्यसको अर्थ हुन्छ । आजभोलि नयाँ–नयाँ मानिससँग इन्टरनेटमार्फत भेट हुन्छ र त्यो विकसित भएर भौतिक भेटसम्म पुग्छ । त्यो भेटले प्रेम सम्बन्धको मोड लिन सक्छ, सामाजिक कामको, व्यापारिक कामको वा मित्रताको जरो पनि गाड्न सक्छ । कतिसँग चिया खान जाँदा वा रक्सी खान जाँदा भेट भएको हुन्छ, कतिसँग सधैं एउटै बाटो हिंड्ने क्रममा भेट भएको हुन्छ । कोही आपत्विपत्मा भेटिन्छन् भने कोही यात्रामा भेटिन्छन्, कोही मेलामा कोही भेलामा भेटिन्छन् । पहिलो भेट संयोग हुन सक्छ तर दोस्रो भेटलाई नियोजित बनाउन सकिन्छ । भेट्दिनँ भनेको मान्छेसँग कतै जाँदा फेरि जम्काभेट भैदिन्छ । 
बोलौं कि नबोलौं हुन्छ । चिनेको मान्छेलाई नचिनेजस्तो गर्न र देखेको मान्छेलाई नदेखेजस्तो गरेर एकै ठाउँमा बस्न जस्तो गार्‍हो केही हुँदैन । फेरि कतिमा जति पटक भेट्दा पनि नचिनेको जस्तो गर्ने र प्रत्येक भेट्मा परिचय गरिरहनुपर्ने झर्कोलाग्दो बानी हुन्छ । कोही भेट्दा नबोल्ने अनि टाढा गएपछि निहुँ खोज्ने खालका हुन्छन् । कोही भेटौं न भेटौं भनेर हैरान पार्छन्, कसैले भने नभेटेरै हैरान तुल्याउँछन् । कोही तिर्खा मेट्न मात्र भेट्छन् । कोही पैसा माग्न मात्र भेट्छन् । कोही रक्सी खान मात्र भेट्छन् । कतिले जहिले भेटे पनि हँसाउँछन्, कतिले भेटैपिच्छे रुवाउँछन् ।

कति खराब भेटिएलान्, कति असल भेटिएलान्, त्यो पछिको कुरा भयो तर कसैका बारेमा पूर्वानुमान् गरेर धारणा बनाउनु हुँदैन । अरूले यस्तो छ, उस्तो छ भनिदिएको भरमा आफूले भेट्दै नभेटी सुरुमै कुनै पनि सम्बन्धको घाँटी निमोठ्नु हुँदैन, किनभने कसैसँग कुनै बेला भेटेर कुरा गर्दा ऊ सुनेको भन्दा बेग्लै र अनुकूल पनि निस्कन सक्छ । भेटिनु, छुट्टिनु त संसारको रीत हो भनिन्छ तर छुट्टिनुपर्ला भनेर भेट्नै छोड्नु पनि हुँदैन । भेट्न मन लागेको मान्छेलाई एकफेर भेट्नुपर्छ है भन्नुस्, जिन्दगी नै बदलिन पनि सक्छ । 

Saturday, 28 January 2017

अन्तिम मान्छे

                                                                                                       - नव सिलवाल

“ति मी मलाई छाडेर कसरी जान सक्छौ यसरी ? हामी जीवनको अन्तिम सँघारमा पुगिसकेका त छैनौँ ।”
सकिता कदाचित् आवेशमा थिइन । ऊ आफ्नो अनुनयलाई कृत्रिम आवरण दिइरहेकी थिई । आवाजमा न्यानो अनुरोधभन्दा औपचारिकता बढी मिसिएको थियो ।
मीनबहादुर चुपचाप उभियो ।
ऊ प्रतिरोध जनाउने परिस्थितिमा थिएन । ऊ जीवनको यो परिच्छेदलाई यहीँ छाडेर अगाडि बढ्न चाहिरहेको थियो । सायद सकिताको स्वच्छन्दता र अराजकताबाट पर अलग इतिहासको हिस्सा बन्न चाहन्थ्यो ।

“जीवन यात्राको कुरा गर्ने गथ्र्यौ नि तिमी ? अब आएर यात्रामा म रहन्न भनेर कसरी सम्झायौ तिमीले आफैँलाई ?” सकिता भावनालाई शब्दमा पोखिरहेकी थिई ।
अब फेरि पुरानो सम्झौताको प्रसंग सम्झाउनु जरुरी छ र ? उसको अनुहारमा विस्मयका भाव बेजोडले उत्रिँदै बिलाउँदै गरिरहेका थिए ।

“मसँग तिमीलाई दिने कुुनै जवाफ छैन । उत्तर दिन आवश्यक पनि ठान्दिनँ । तिमी मभित्र मक्किएका सम्झौताका उल्झन खडा गर्ने कोसिस नगर । एकतर्फी सम्झौताको के प्रसंग उठाउने अब ?”
मीनबहादुरको आवाजमा असीम आवेश मिसिएको थियो । सायद यो स्वाभाबिक थियो ।
“बस यहाँ आरामले । तिमीले भुल्यौ, आफ्ना अठोटहरू अनि ती वाचाहरू ?” फेरि प्रश्नहरूलाई जोड्ने प्रयास गरी सकिताले ।
ऊ चुपचाप पुरानो काठको मेचमा थचक्क बस्यो । लामो सुस्केरा निकाल्यो ।

“तिमी थाकेका त छैनौ, किन फेरि सुस्केरा ?” सकिता प्रश्नमाथि प्रश्न थोपर्न अभ्यस्त लाग्छे ।
ऊ सायद परिवर्तन चाहन्छ । आवाजमा तिक्तता झल्किन्छ । “तीन वर्षसम्म सँगै बस्दा हामीबीच कुनै त्यस्तो त भएन, जसले गर्दा आज तिमी मलाई रोक्न सक । हामीले एकअर्कालाई माया पनि त गरेनौँ सायद ।”

मीनबहादुरले आफ्नो आवाजलाई सुस्तरी ओकलेको छ । मानौँ ऊ अगाडि हिँड्न पर्ने बाटोहरूका लागि शक्तिको सञ्चय गर्न चाहिरहेको छ । सकिता चुपचाप उसलाई ताकेर हेरिरहेकी छे ।

“तिमीलाई स्वच्छन्द बाँच्नका लागि कतिसम्म म पर्दा हालिरहन सक्छु र ? तिम्रा भन्नेहरूबाट कहिले तिमी थाक्छौ होला र मेरो पालो आउला । तिमीलाई माया गर्न भनेर म कतिसम्म कुरिरहन सक्छु भन तिमी ?” मीनबहादुरको आवाजमा वेदना भरिएको सहजै अनुमान गर्न सकिन्छ ।
सकिता शब्दविहीन देखिन्छे । ऊ आँखाका परेलीभित्रबाट जवाफ हेर्न सक्दिन ।

“के म यति टाढाको पराइ भइसकेँ तिम्रा लागि ? जीवन भोगाइको परिवेश त फरक भएको होइन हाम्रो !”
“तिमीलाई माया गर्नेहरूको भीडमा म त पर्दिन नि हैन र ? एउटै छानोमुनि बस्दैमा एकअर्काप्रति समर्पणका भावहरू प्रकट हुनुु आवश्यक पनि त हुँदैन सायद ।”

“मैले तिमीलाई भन्ने हो कि तिमीले बुझेर गर्ने हो ?” सकिता आँखाभरि आँसु उभारेर शब्दहरू ओकल्न अभ्यस्तझैँ देखिन्छे ।

“एउटी जवान आईमाईले के चाहन्छे र कसरी चाहन्छे भन्ने कुरा तिमीले बुझ्न सक्दैनौ भन्ने लागेर नै अन्यत्र लागेकी हुँ । मैले धेरै प्रतीक्षा गरेकी थिएँ तिम्रा स्पर्शहरूको । यसमा मेरो केही पनि दोष छैन । मेरो तिर्सना मेट्न तिमी पानी लिएर आएनौ र म आफैँ पँधेरो धाउन थालेँ । एउटा जवान आईमाईलाई रोटी र कपडाले मात्र खुसी बनाउन सकिन्छ भनेर कसरी अनुमान लगायौ तिमीले ?” उसले आफ्नो कुरालाई सरासर राखी र आफ्नो मन हलुका बनाई ।

मीनबहादुर चुपचाप उभिएको छ ठिंग । किंकर्तव्यविमूढ छ । सकिताले उसको पुरुषत्वमाथि भयानक प्रहार गरेकी थिई सायद ।

आफ्ना विगतका सम्झौताहरूको परिवेशमा उसले आफूलाई उभ्याउन खोज्यो । उसले जसलाई इज्जत र आदर ठानेको थियो, त्यसलाई सकिताले कमजोरीको रूपमा लिएकी थिई । यो यथार्थ जानेर उसलाई दु:ख लाग्यो । यथार्थहरू पीडादायी नै हुन्छन् ।

एकअर्कालाई बुझ्ने र अपनाउने दृष्टिकोणमा भिन्नता देखिएको थियो । एउटा लोग्नेमान्छे र स्वास्नीमान्छेबीचमा यौन र भौतिक उपभोगको मात्र झिनो फासला हुन्छ भनेर सोचेको थिएन उसले । सम्बन्धहरूलाई परिभाषित गर्न नसक्दा यस्ता उल्झनहरू बेहोर्नुपर्ने अवस्था पैदा हुने रहेछ । आफूभन्दा अरूको ख्याल बढी गर्न थाल्यो भने उल्झनहरू बढ्ने रहेछन् जीवनमा ।

ऊ यथार्थको भुमरीमा पछारिएको थियो । समयले ल्याउने परिवर्तनहरू प्रिय मात्रै हुन्छन् भन्ने पनि त हँुदैन । आफूबाट समेटिन नसकेको जीवनलाई फर्केर यसो चिहाउन खोज्यो उसले । शून्यतामा बिलाउन सकेनन् ती यादहरू । उसको शालीनता र सदाचारले उसलाई चोखो देखाउन सकेको थिएन । जीवनका अवयवहरू छताछुल्ल पोखिएका छन् परिवेशभरि । ती अवयवहरूलाई सँगालेर आफ्नो परिभाषा निर्माण गर्न पनि सकेको छैन उसले ।

फकल्यान्डको लडाइँले निमिट्यान्न बनाउन नसकेको स्पर्शविहीन भावनाहरू चोटग्रस्त बनिरहने गरेका छन् । अनायास सुरु भएको थियो त्यो कहानी, जसलाई उसले कर्तव्य मानेको थियो, त्यो अन्यथा बनेर उभिएको छ । ऊ पीडादायी विगतलाई पछाडि छाडेर अगाडि बढ्न कटिबद्ध बनेको छ एकप्रकारले । ऊ भुल्न चाहन्छ त्यो कहालीलाग्दो विस्मयकारी विगतलाई ।

वातावरण चिसो छ । परिस्थिति उसको पक्षमा छैन सायद । ऊ लडाइँ जिते पनि जीवन हारेको मान्छे ठान्छ आफूलाई । उसका आफ्ना भन्ने मान्छेहरू छैनन् । जसलाई उसले आफ्नो ठानेको थियो, उ विद्रोही बनेकी थिई । ऊ जाओस् पनि कता ? जाने कुनै ठाउँ छैन । कुनै गन्तव्य छैन ।

ऊ लडाइँबाट बाँचेर घर फर्कियो । कुन प्रयोजनका लागि बाँच्यो ? त्यो उसैलाई थाहा छैन । उत्तरविहीन सोधाइहरूको शृंखलाहरू समेटेर ऊ अविछिन्न उभिएको मान्छे फगत मान्छे हुनु र उपयोगिता नहुनुको दोसाँधमा असरल्ल छ । ऊ बेजोडले परित्यक्त बनेको छ । जीवनले उसलाई यसरी अपरिभाषित प्रस्तुत गर्न आजसम्म सम्हालेर राखेको थियो भनेर विश्वास गरोस् पनि कसरी ?

मन्दमन्द चिसोले काठमाडौँको वातावरणमा कठोरता भर्दै थियो । मीनबहादुरले झोलाभित्र जीवनका उल्झनहरूलाई थन्क्याइरहेको छ । जीवनले थुप्रै थकाइ दिएको छ उसलाई । विद्यालयदेखि गाउँ र बस्तीभरि ऊ एउटा पहिचानभन्दा पनि अरूको सहयोगीको भूमिकामा पोखिइरह्यो । बस्तीबाट बाहिरिएपछि ऊ एउटा सडकमा बाँच्ने अभ्यस्ततामा पुग्यो । गरिएका उपलब्धिहरूले कुनै रचनात्मक परिणाम नदिएपछि ऊ आफ्ना उपलब्धिविहीन यथार्थहरूलाई किल्लामा झुन्ड्याएर फुर्सद लिन हतारिएको पनि थिएन । ऊ सधँै अघि बढ्ने तरखरमा हुन्छ तर अगाडिको यात्राले उसलाई अड्काउने गर्छ । एउटा अथक् र पृथक् हिँडाइको अपेक्षा बोकेर ।

भीडमा आफ्नो भन्ने कोही छ कि भन्ने आशा पनि असमञ्जस्यतामा बदलिइरहेको हुन्छ । मान्छे, मान्छेहरूबाट किन भागिरहेका हुन्छन्, उसलाई थाहा छ्रैन । आफ्ना युद्धहरूसँग आफैँ लड्ने हो । अर्थहरूको डुंगुर लगाएर अनुमानको खेती उमार्नेे अभ्यास निस्तो लाग्छ ।

उन्मुक्तितिरको आवाज या एउटा सानो प्रतिरोध ऊ फरक आयाम अपनाउन चाहन्छ । ऊ उपलब्धिको भोको छ । पाउन नसकेका उपलब्धिहरूप्रति उस्तो आसक्त पनि छैन । उसको प्रयत्न जारी नै छ र निरन्तर छ । उसको आँखामा एउटा सपना थियो, जसको पछाडि हिँडेर मीनबहादुरले धेरै नै हन्डर खाएको छ । धेरै नै जोडले हार र उपेक्षाहरूबाट पिटिएको छ । तर, उत्साहहरूलाई मर्न दिएको छैन उसले । ऊ एक्लो यथार्थको परिधिमा बाँधिएर संकुचित बाँचिरहन सक्दैन ।

यस्तै सोचहरूलाई समेटेर नयाँ युगको आत्मसात् गर्ने परिकल्पना गरेर बिस्तारै पाइला बढाइरहेको थियो । बाटो सुनसान थियो । उसको गन्तव्य कतातिर थियो, उसलाई राम्ररी थाहा थिएन । ऊ बाटोले जहाँ पुर्‍याउँछ, त्यहीँ जान चाहिरहेको थियो । सकिता उसको बाटो छेक्न उभिएकी थिई वा हिजोका साथहरूको क्षतिपूर्तिको हिसाब खोजिरहेकी थिई, उसैलाई थाहा थिएन ।
“जाने नै भयौ त भन्या तिमी मीनबहादुर ?” उसले हतास प्रश्न तेस्र्याई ।

व्यवधानहरूबाट म भागेको होइन भनेर स्पष्टीकरण दिन चाहेन उसले सायद । “मेरो जानु र नजानुको बीचमा तिमी कुनै परिस्थिति निर्माण गर्न नखोज । म जान्छु या जान्न । त्यो अब सान्दर्भिक अर्थ राख्ने कुरा पनि भएन ।”
सकिताले अन्तिम प्रयास गर्न चाहिन सायद ।
“तिमी यहाँबाट गई हाल । त्यही नै ठीक होला मलाई ।” ऊ स्तब्ध पनि छैन ।
“नरहे बाँस न बजे बाँसुरी । तिमीबिनाको परिवेशले मलाई बढी स्वतन्त्रताको अनुभूति दिने छ भन्ने मलाई लाग्छ ।”
“तिमी यहाँबाट गैहाल र छिटो जाऊ । सकिता आवेशमा थिई ।”

मीनबहादुरले फर्किएर सकितातर्फ हेरेन । बाटोमा सन्नाटा व्याप्त छ । ऊ बाटोमा मिसिएको छ । बाटोले उसलाई आफ्नो ठानेको पनि छैन सायद । अलिकति हिँडेपछि पाइलाहरू बोझिल भएजस्तो महसुस गर्‍यो उसले । सायद सकिताले बढाएको उल्झन र उसले पुर्‍याएको चोटलाई भुल्न चाहन्छ ऊ ।
ऊ बस स्टपमा पुगेर उभियो । बस चढेर अब कहाँ जान्छ, उसैलाई थाहा छैन । एउटा झोला छ अनि ऊ छ । ऊ लामो सुस्केरा हालेर नजिकैको बेन्चमा थचक्क बस्यो । दुइटा हत्केलाले अनुहार छोप्यो र लामो लामो श्वास फेर्‍यो । मान्छेहरूको भीडमा उसले आफूलाई एक्लो महसुस गर्‍यो ।

अनायास कुममा कसैले घचघचायो उसलाई । उसले टाउको उठाएर हेर्‍यो । सकिता आँखाभरि आँसु भरेर उसको अगाडि उभिएकी थिई ।
“तिमीबिना म बाँच्ने कुरा भएन । तिमी फर्किंदैनौ भने म पनि बाँच्दिन अब । सायद आँधीखोलामा हामफालेर मर्छु म ।” उ हुँक्क हुँक्क गरेर रुन थाली ।

सकिताको आँखाबाट झरेका आँसुका बुँदहरू मीनबहादुरको कमिजको फेरमा तप्किरहेका थिए । उसका आँसुहरूले मीनबहादुरको मन रुझाइरहेको अनुभूति गहन बनिरहेको थियो ।
सकिताले उसको हात समातेर उठाई र अघि बढ्न थाली । ऊ बालकझैँ सकिताका औँला पक्डेर पछि पछि हिँड्न थाल्यो ।

बाटोमा कुनै अवरोध छैन । सकिता सुँक्कसुँक्क रोइरहेकी थिई । उसले केही प्रतिक्रिया जनाएन । घरनजिक पुगेर उसले आफूलाई फरक महसुस गर्‍यो ।

“अब भित्र हिँड । मलाई नाम देऊ तिमी । भोलि मन्दिर गएर मलाई विवाह गर । म आजैबाट प्रतिज्ञा गर्छु, तिम्रो मात्र रहने छु । हिजोसम्मको मेरो जिन्दगीको आजबाट अन्त गर्दैछु म । मलाई यौन होइन, माया चाहिन्छ । मलाई अस्थायी ग्राहक होइन, स्थायी जीवन चाहिन्छ । आऊ मलाई अपनाऊ । म तिम्रो जीवनमा नयाँ वसन्त बनेर छाउने छु । तिमीलाई जीवनका हरेक मोडमा साथ दिनेछु । म आफ्नो पवित्रतालाई पुन: प्रमाणित गरेर मात्र मर्न चाहन्छु । हिजोका पीडा र अस्तव्यस्तताहरूले अनि अभाव र बाध्यताहरूले मलाई जहाँजहाँबाट गुज्रिन लगायो, त्यो यात्रालाई म बिसाउने छु । यो जीवनको बाँकी यात्रा म तिमीबाट सुरु गरेर तिमीमै अन्त गर्न चाहन्छु । म आफूलाई सडकभन्दा भिन्न परिचयमा प्रस्तुत गर्न चाहन्छु ।”

सकिताको मनभित्र आँधी चलिरहेको थियो । ऊ निस्वार्थ र साँचो आवाज बोलिरहेकी थिई । घरबाहिर ती पुराना अनुहारहरू जम्मा भएका थिए । ऊ फटाफट भित्र पसी । “पख म नुहाएर मन्दिर पुगेर पवित्र भएर आउँछु । एक चिम्टी सिन्दुर भरिदिनु मेरो सिउँदोमा । बस् तिमी मात्र मेरो जीवनको अन्तिम मान्छे हुनेछौ ।”

घरभित्रबाट उसको आवाज हुर्रिंदै बाहिरसम्म आइपुग्यो । बाहिर जम्मा भएका अनुहारका भावहरू बिस्तारै फेरिइरहेको थियो ।

मीनबहादुरभित्र पनि सकिताप्रति माया भरिएर आयो । लामो श्वास निकालेर ऊ पिँढीको डिलमा थचक्क बस्यो । पर कतै क्षितिजमा सानो गन्तव्यको आकृति उसको आँखासम्म ठोक्किरह्यो ।