Monday 26 September 2016

पैसा के पैसा ?

शास्त्र भन्छ, धन र यौनले आजसम्म यो संसारमा न कोही सन्तुष्ट भएर मर्‍यो न भविष्यमा नै मर्नेछ । यो दुनियाँमा अधिकांश मानिस पैसा कमाउन भनेर दिनरात कुदिरहेका भेटिन्छन्, कोही कमाउँदा–कमाउँदै मर्छन्, कोही कमाउन नसक्दै मर्छन् । हरेक दिन मागेर गुजारा चलाउने भिखारीदेखि विश्वको नम्बर एक धनी मानिएका बिल गेट्ससम्मलाई पैसाकै पिरलो छ । 
पैसाले नै कति सम्बन्ध जुटाउँछ, कति सम्बन्ध छुटाउँछ । पैसा हुनेसँग र पैसा नहुनेसँग मानिसहरूले देखाउने व्यवहार पनि फरक–फरक हुन्छ । यौनमा सन्तुष्ट भएन भने पतिले झर्कोफर्को गर्छ रे, धनमा सन्तुष्ट हुन नसके पत्नीले झर्कोफर्को गर्छे रे । त्यसैगरी पैसा हुँदा पतिको चरित्र र नहुँदा पत्नीको चरित्र उदाङ्ग हुन्छ रे । पैसा माग्ने बेलामा मानिसले यति अनुनय विनय गर्छ कि के रात के बिहान जतिबेला जहाँ जसरी भने पनि आइपुग्छ, तर फिर्ता गर्ने बेलामा दाँतबाट पसिना निकाल्छ । आफैं पुर्‍याउन आउनु त कहाँ हो कहाँ, अनेकपल्ट धाउँदा पनि आफ्नै पैसा लिन पनि भीख मागेझैं गर्नुपर्छ । कसैसँग सम्बन्ध बिगार्न परे पैसाको लेनदेन गरे पुग्छ ।
पैसा कमाउन इमान्दारीपूर्वक काम गर्नेदेखि लिएर कालोधन्दा र डकैती गर्नेसम्मका मानिस समाजमै भेटिन्छन् । परिवारमा समेत पैसाको स्रोत विरलैले सोध्छन्, वश खर्च गर्न पाए सबै दंग पर्छन् । धन–सम्पत्ति, पैसाकै लागि प्रेमको नाटक गर्नेदेखि लिएर परिवारकै मानिसको हत्या गर्नेसम्मका कुकृत्य गर्नसमेत मानिस पछि पर्दैन । कतिपय मानिसहरू पैसा भएर पनि खर्च गर्न सक्दैनन् र दरिद्र जीवन बिताउँछन् । पैसाकै लागि धनी केटो वा केटी फसाउने, छउन्जेल धुत्ने र पछि सम्बन्ध बिगार्ने, उमेर कटिसकेका वा अरूका श्रीमान् वा श्रीमतीसँग सम्बन्ध बनाई घरवार बिगार्ने खेलाडीहरू पनि अनेक भेषमा घुमिरहेकै छन् ।

जागिर खाएपछि निश्चित तलब आउँछ भन्ने थाहा हुन्छ तर व्यापार व्यवसाय गर्ने हिम्मत पनि गर्दैनन् त्यही जागिरमा झुन्डिराख्छन् तर पैसै कमाउन सकिएन भनेर हरबखत गनगनाइरहन्छन् । यस्ता मनुवा यो धर्तीका सर्वाधिक दु:खी मानिसमा पर्छन् । अर्काथरी चाहिँ ल आइज न त मिलेर केही गरौं भन्यो भने सुरुमै नाफाचाहिँ कति हुन्छ भन् न त भन्नेखाले हुन्छन् । लगानी गर्दैनन् र पछि डुब्यो भने मैले पहिल्यै भनेको थिएँ हुन्न भनेर भन्छन् र राम्रो भयो भने मलाई पनि अलिकति सेयर दे न यार भनेर हैरान पार्छन् । यस्ता ताक परे तिवारीहरूसित पनि सतर्क रहनु आवश्यक छ ।

पैसाले कहिल्यै कसैलाई पुग्दैन । करोडपति पनि कुदेकै छ, पत्नीको पति पनि कुदेकै छ । पैसाले सुविधा किन्न सकिन्छ तर सुख किन्न सकिँदैन । आरामदायक ओछ्यान किन्न सकिन्छ तर निद्रा किन्न सकिँदैन । पैसाले रूप किन्न सकिन्छ तर असल सम्बन्ध किन्न सकिँदैन । यौवन किन्न सकिन्छ तर प्रेम किन्न सकिँदैन । ओखती किन्न सकिन्छ तर मृत्यु रोक्न सकिँदैन । घर, गाडी किन्न सकिन्छ तर इज्जत किन्न सकिँदैन । खाली हात आइन्छ, खाली हात गइन्छ, सबैलाई थाहा छ तर बाँचुन्जेल पैसा, धनका लागि मारकाट पनि चलिरहन्छ । पैसा अनेकथोक हो तर सबै थोक होइन । अनेक व्यवहार धान्न सबैलाई पैसा चाहिन्छ । पैसाले टाढाको नातालाई पनि नजिकको बनाइदिन्छ, घरकै मानिसलाई पनि कोसौं टाढा हुत्याइदिन्छ । पैसा विनिमय गर्ने एक माध्यम मात्र हो । पैसाको व्यवस्थापन गर्न सके यसले सुविधा पनि किन्छ, सुख पनि दिन्छ । सदुपयोग गरे पुण्य कमाउँछ, दुरुपयोग गरे पाप कराउँछ । पैसा न कमाउन सजिलो छ न जोगाउन सजिलो छ । पैसाले हसाउँछ पनि रुवाउँछ पनि । छन् गेडी सबै मेरी छैन, गेडी सबै टेढी त्यसै भनिएको होइन ।

मुख्य कुरा आफू जागिर खान वा व्यवसाय गर्न केका लागि जन्मिएको हुँ भनेर पहिचान गर्न सक्नु नै ठूलो चुनौती हो । आफूले गरिराखेको काममा सन्तुष्ट हुनु र आर्जनबाट भोगेको जीवनमा रमाउन सक्नु नै सम्पन्नताको प्रतीक हो । आफ्नै पौरख र मेहनतले कमाएको धन र पैसाले मात्र आनन्द दिन्छ । पैसाकै सिरानी हालेर सुते पनि निदाउन सकिँदैन भने त्यो पैसा के पैसा ? त्यो जिन्दगी के जिन्दगी ?