Friday 22 July 2016

टुट्न नदिऔं सम्बन्धको डोरी

आजको जीवनशैलीमा सबैभन्दा बढी हाम्रो सम्बन्ध प्रभावित भैरहेको पाइन्छ । भौतिक सुख एवं आपसी प्रतिस्पर्धाको भोकले श्रीमान्–श्रीमती, माता–पिता, छोरा–छोरी र अरू कतिपय भावनात्मक सम्बन्धलाई तोडिरहेको हुन्छ । केही समयअनुरूप परिवर्तन भएको छ भने केही हाम्रो महत्त्वाकांक्षा र आधुनिक हुँदै गएको हाम्रो सोचका कारण परिवर्तन भएको पाइन्छ । जीवनमा तीव्र रूपमा अघि बढ्ने चाहनाकै कारण हामीले पछाडि फर्केर हेर्न छोडेका छौं ।
smtsza 
पहिले हामी गर्मीका दिनमा छुट्टी मनाउन स–परिवार घुम्न जान्थ्यौं । धेरै रमाइलो गथ्र्यौं, परिवारका हरेक सदस्यबीच आत्मीयता बढेको अनुभूति हुन्थ्यो तर आज कसैलाई परिवारसित कतै जाने कुरा त टाढाको विषय भैसक्यो, सँगै बसेर खाना खाने फुर्सद पनि छैन ।’ यो परिवर्तनले आपसी सम्बन्धको प्रगाढतामा धेरै हदसम्म प्रभाव पारेको छ ।
बढ्दो एकांकी जीवनले पनि सम्बन्धको डोरीलाई कमजोर बनाउँदै लगेको छ । त्यसैले व्यक्ति अब आफ्नै घरमा सीमित भएको छ । पहिले मानिसहरू अपरिचितलाई पनि दाइ, अंकल, दिदी, बहिनी, आमा आदि भनेर सम्बोधन गर्थे र यसले अपरिचित व्यक्ति पनि आफ्नो बन्न पुग्थ्यो तर आज आफ्नो रगतको नातामा पनि आफ्नोपनको अनुभूति पाइन छोडेको छ । चाहेर पनि संयुक्त परिवारमा रहन असम्भव हुन पुगेको छ । कार्यव्यस्तताले परिवारका सदस्यबीचको भेटघाट पनि दुर्लभ बन्न पुगेको छ । संयुक्त परिवारमै पनि कामकाजी दम्पती आ–आफ्नै काममा व्यस्त रहने भएकाले एकअर्काका लागि समय निकाल्न असमर्थ छन् भने परिवारका अन्य सदस्य अझ टाढा हुनु स्वाभाविक हो । यसले संयुक्त परिवारमा एकसाथ रहने सम्भावना घट्छ ।
आज इच्छाको आकाश फराकिलो बन्दैछ । इच्छाको त्यो आकाशमा उड्ने चाहनाले सम्बन्धको महत्त्व र महिमा घट्न थालेको छ । आफ्नो इच्छापूर्तिका लागि मानिसहरू सम्बन्धको घाँटी थिच्न पनि तयार हुन्छन् । मानिसहरू परिवार एवं साथीभाइबीच रहेर आनन्दको क्षण बिताउनुभन्दा एक्लै बसेर टेलिभिजन हेर्न वा नेट चलाउन चाहन्छन् । घरका सदस्यसित कुराकानी गर्नुभन्दा नेटमा च्याट गर्दा बढी आराम महसुस गर्छन् । सम्बन्धमा आत्मीयताको कमी हुनु र एकअर्काको भावनालाई प्राथमिकता नदिनु वा नबुझ्नुका पछाडिको सबैभन्दा ठूलो कारण हो–हामीबीच बढ्दो कम्युनिकेसन ग्याप । कामकाजको व्यस्तताले हामीमध्ये कतिपय सम्पूर्ण परिवारजनसित सँगै बसेर न लञ्च गर्न पाउँछौं न त डिनर नै । आपसी सम्बन्धमा व्यवसायिक सोच हावी भएको छ ।
सम्बन्धलाई कायम राख्न स–साना कुरालाई बेवास्ता गर्नुहुँदैन । यसो गर्नाले हामी हाम्रा सम्बन्धलाई टुट्नबाट जोगाउन सक्छौं । यदि कोही घरमा आउँछ भने उसको आतिथ्यमा सबै जुट्नुपर्छ । आफ्नो इच्छापूर्तिका लागि अरूको इच्छाको अवहेलना गर्नुहुँदैन । पाहुनाप्रति उदार व्यवहार अपनाउनुपर्छ ।
सम्बन्धलाई सुदृढ बनाउने प्रयास सबैभन्दा पहिले आफूबाट आरम्भ हुनुपर्छ । बाध्यता सबैमा हुन्छ, तर त्यसलाई कारण बन्न दिनुहुँदैन । यदि हामी सतर्क रहन्छौं भने मात्र हाम्रो अर्को पुस्ता पनि जागरुक हुन्छ । हामी आफ्ना सन्तानले हाम्रो कमजोरीलाई बुझ्दैनन् भन्ने गल्ती गर्छौं तर उनीहरूको दृष्टि सचेत र सतर्क हुन्छ । आफ्ना कमजोरीलाई सुधार्नु आफ्नो परिवार र सम्बन्धलाई सुधार्ने दिशामा पहिलो पाइला हो । 

http://bit.ly/1M54roI

Saturday 9 July 2016

श्रीमानको कमाइ कति छ ?

श्रीमानको कमाइ कति छ 

महिलाको उमेर र  पुरुषको आय नसोध्नु भन्ने उक्ति हाम्रो समाजमा निकै प्रचलित छ अधिकांश श्रीमती श्रीमानको आयप्रति बेवास्ता गर्छन् । यसलाई स्वीकार गर्छन् र थाहा नभएजस्तो देखाउँछन् । उनीहरूलाई आफ्नो पूरा बजेट प्राप्त भए, खाना, नाना र छानाको आवश्यकता पूरा भए, अन्य कुराको खासै वास्ता हुँदैन । उनीहरू आफ्नो आवश्यकता पूरा भए कुनै खोजीनीति गर्न चाहँदैनन् । 

कतिपय महिला भने श्रीमान्को कमाइमा निकै ध्यान पुर्‍याउँछन् । उनीहरू श्रीमान्को आयस्रोत के–के छ ? कहाँबाट कति आम्दानी भयो त्यो कहाँ–कहाँ खर्च भयो, सम्पूर्ण हरहिसाब राख्छन् । आर्थिक कारोबारमा पनि दम्पतीको विश्वास अडेको हुन्छ । कतिपय दम्पती यसमा पारदर्शी हुन्छन् भने कतिपय अपारदर्शी । यद्यपि आयको हिसाब राख्नु आवश्यक छ । अहिलेको बढ्दो महँगीमा आफ्नो बजेट तथा सन्ततिको भविष्यका लागि खर्च कम गरी बचत गर्ने बानी बसाल्नु बुद्धिमानी हुन्छ । एक एनजीओमा कार्यरत भगवती पंगेनी भन्छन्–जसरी अरु मुद्दा पारदर्शी हुनुपर्छ, त्यसैगरी आर्थिक मुद्दा पनि पारदर्शी हुनुपर्छ । श्रीमान्–श्रीमतीको समझदारीमा अघि बढ्दा कहिल्यै आर्थिक संकट आउँदैन अनि भविष्य सुरक्षित हुन्छ । यसले महिलाहरूलाई पनि आर्थिक स्वतन्त्रताको अनुभव दिलाउँछ ।
श्रीमान्–श्रीमतीबीचमा आयको विषयलाई लिएर कुराकानी हँुदा आपसी सम्बन्ध अझ सुमधुर हुन्छ । श्रीमान्–श्रीमती दुवै कमाउँछन् भने कति कमाउँछन् ? उनीहरूको एकाउन्ट कहाँ–कहाँ छ ? रुपैयाँ कहाँ कति जम्मा छ ? नोकरीका साथमा अरू व्यापार छ भने त्यसको पैसा कहाँ जम्मा भएको छ ? ज्वाइन्ट एकाउन्ट, लकर, जीवन बीमा, शेयर, बचत, लोन आदि सबै मुद्दामा दुवैको चर्चा हुनुपर्छ । उनीहरू यस विषयमा सन्तुष्ट छन् भने आपसी सम्बन्ध पनि राम्रोसँग अघि बढ्छ । आर्थिक विषयमा अपारदर्शी दम्पतीको भविष्य असुरक्षित हुन्छ । यसले उनीहरूको भविष्यलाई दु:खद् बनाउँछ । दुवैका बीच सधैं तनाव रहन्छ । साँचो कुरा भए पनि झूटो हुन्छ ।
मिलेर बनाउनुपर्छ योजना
श्रीमान्–श्रीमती एउटै रथका दुई पाङ्ग्रा हुन् । त्यसैले अर्थ व्यवस्था पनि दुवैले मिलेर अघि बढाउनुपर्छ ।  सफल तथा उज्ज्वल भविष्यका लागि श्रीमान्–श्रीमतीले आफ्नो आयको स्रोतका सम्बन्धमा खुलस्त बताउनुपर्छ । एनसीसी बैंककी चाँदनी श्रेष्ठका अनुसार आर्थिक मतभेदले सम्बन्धमा सधैं तिक्तता ल्याउँछ र घरायसी वातावरण पनि नराम्रो बनाउँछ । त्यसैले आफ्नो आय के–कहाँ खर्च गर्ने कहाँ लगानी गर्ने तथा कसरी बचत गर्ने कुरा श्रीमान्–श्रीमती मिलेर बनाउनुपर्छ । ऋण तथा तिर्ने ठाउँ पनि रुटिन बनाएर अघि बढ्नुपर्छ ।
विवाहपछि पैसाकै कुरालाई लिएर दम्पतीमा असमझदारी उत्पन्न हुनसक्छ । श्रीमतीमा श्रीमान्को आयलाई लिएर कुनै शंका उत्पन्न हुनुभन्दा पहिले नै कुरा खुल्नुपर्छ ।
नयाँ–नयाँ गृहस्थी बसाउँदा श्रीमान्को खरिद गर्ने बानीमा प्रशंसा गरेर पनि आय जान्न सकिन्छ ।
श्रीमान्को आयका सम्बन्धमा उनका बोस तथा साथीभाइसँग चर्चा गर्नु हुँदैन । आय विवरणमा ध्यान दिनुपर्छ ।
बजेट बनाउँदा आफूसँग पैसा नै नभएको अभिनय गर्नुपर्छ । किनमेल, स्कुल फि, घर खर्च आदि कहाँबाट तिर्ने चिन्ता व्यक्त गर्नुपर्छ ।
जागिरको कर फायल गर्दा श्रीमतीलाई जानकारी दिनुपर्छ ।
पारदर्शिता
पैसा परिवारका लागि सबैथोक होइन र हो पनि । धन खुसी र सबै आवश्यकता पूरा गर्ने आवश्यक साधन हो तसर्थ पूर्ण विश्वास, प्रतिबद्धता एवं आपसी समझदारीका साथ पैसाको मामिलामा पारदर्शी हुनुपर्छ । पैसाले सम्बन्ध बिगार्छ र बनाउँछ पनि । श्रीमान्–श्रीमतीको तारतम्य मिलाउँदा परिवारमा खुसी छाउँछ ।
श्रीमती श्रीमान्की जीवन संगिनी हुन् । एक–अर्काको कामका बारेमा जानकारी छैन भने कुनै समयमा अकस्मात् श्रीमान्को मृत्यु भएको स्थितिमा कारोबार ठप्प हुन्छ । नातेदारहरू पैसा बाँकी छ भनेर लिन आउन सक्छन् तसर्थ श्रीमान्को आयका सम्बन्धमा श्रीमतीलाई जानकारी  भए दु:खद् घडीमा काम लाग्छ ।
श्रीमान् खर्चालु छन् भने श्रीमतीले लगानी कहाँ–कहाँ छ पत्ता लगाउनुपर्छ । गलत ढंगबाट गरिएको लगानीले संकट निम्त्याउन सक्छ । कुनै समस्या आउनुभन्दा पहिले कहाँ–कहाँ कति पैसा लगानी र बचत छ जाँच्नुपर्छ ।
आफूले महँगो माग राख्नुभन्दा पहिले श्रीमान्को आयका सम्बन्धमा जान्नुपर्छ । यसका आधारमा खर्चको सूची बनाउनुपर्छ ।
आयस्रोत थाहा पाउनुपर्छ
श्रीमतीलाई श्रीमान्को आयका सम्बन्धमा जानकारी छ भने बढी खर्च, ऋण, व्याज कहाँबाट तिर्ने भन्ने चिन्ता हुन्छ । श्रीमतीहरूले कारोबारका बारेमा जानकारी लिनुपर्छ । बढी खर्चले परिवारको भविष्य जोखिममा पुग्छ । त्यसैले उनीहरूको आय जान्नुपर्छ ।
श्रीमान्–श्रीमती दुवैको अलग–अलग एकाउन्ट हुनु राम्रो हो तर गुप्त एकाउन्टले सम्बन्धमा निराशा पैदा गराउँछ । यसले भविष्यमा नकारात्मक परिस्थिति उत्पन्न गर्छ । गुप्त एकाउन्टले परस्त्री सम्बन्ध, अन्डर वल्र्ड सरोकार, भ्रष्टाचारको अकुत सम्पत्तितर्फ इंगित गर्छ । यस्तो समस्या उत्पन्न नहोस् भनेर पनि आयका सम्बन्धमा जानकारी राख्नु आवश्यक छ ।
फाइदाका साथ बेफाइदा पनि
पैसा अलग–अलग राखौं वा एकसाथ यसको फाइदा–बेफाइदा भने जानिराखौं ।
अलग बैंक एकाउन्ट
फाइदा : आफ्नो पैसाको आवत–जावतमा एक–अर्कालाई जिम्मेवार बनाउनु हुँदैन । यसले फजुल खर्चबाट जोगाउँछ । ऋणको जवाफदेही कोही हुँदैन ।
बेफाइदा : आपसी समझदारीमा कमी आउँछ । पैसा लुकाउन सकिन्छ ।
बचत
फाइदा : दुवैले अलग–अलग बचत गर्न सक्छन् । यो एक प्रकारको सुरक्षा हो ।
बेफाइदा : आफैले गरेको निर्णयमा प्रश्नचिन्ह खडा हुनसक्छ ।
ज्वाइन्ट एकाउन्ट
फाइदा : श्रीमान्–श्रीमतीमा आपसी विश्वास रहन्छ । दुवैको आयमा समान पहुँच हुन्छ । यसले खर्च नियन्त्रण गर्छ ।
बेफाइदा : पैसा निकाल्दा दुवैको हस्ताक्षर चाहिन्छ ।
घर तथा अचल सम्पत्ति
फाइदा : बढी सुरक्षित हुन्छ ।
बेफाइदा : दुवैको स्वीकृतिबिना बेच्न सकिँदैन ।


http://bit.ly/1XDj6ZI