Friday 7 July 2017

केटाकेटीलाई कसरी सिकाउने बचत गर्न

sampada
हरेक आमाबुबा आफ्ना सन्तानलाई राम्रो शिक्षा-दीक्षा दिने प्रयास गर्छन्। त्यसैले उनीहरू आफ्ना सन्तान असल बनी कुनै न कुनै क्षेत्रमा सफलता हासिल गरेको देख्न चाहन्छन्। उनीहरू आफ्ना छोराछोरीलाई पढाइका साथै खेलकुद, गीत, संगीत एवं नृत्यमा पनि पोख्त बनाउने धोको हुन्छ। यद्यपि हामीले आफ्ना छोराछोरीलाई पैसाको मूल्य बुझाउने शिक्षा कहिल्यै दिएका छौं ? सम्भवतः छैनौं। यस किसिमको काम थोरै अभिभावकले मात्र गरेका होलान्।
पैसाको मूल्य सम्झाउनुको अर्थ यो होइन कि उनीहरू 'मनी माइन्डेड' बनून्। यसको आशय हो, उनीहरूमा पैसा बचत गर्ने बानीको विकास होस्। यदि आफ्ना सन्तानमा पैसा बचत गर्ने बानीको विकास गराउन चाहने हो भने निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।
-    आफ्ना सन्तानलाई त्यस दिनदेखि पैसाको हिसाब-किताब सिकाउन थालांै, जुन दिनदेखि उनीहरूले अंक जोड-घटाउ गर्न सक्छन्। बालबालिकालाई कथा एवं खेलको माध्यमबाट पैसाको महत्वसम्बन्धी शिक्षा दिनुपर्छ।
-    जब-जब शिशु बढ्दै जान्छन् तब-तब उनीहरूको माग पनि बढ्दै जान्छ। विस्तारै-विस्तारै उनीहरूलाई फजुल खर्चबाट रोकौं। उनीहरूलाई आफ्नो संघर्षको सत्य कथा बताऔं। उनीहरूले थाहा पाउनुपर्छ कि, पैसा कमाउन कति कठिन छ ? उनीहरूलाई इमान्दारीका साथ पैसा खर्च गर्न सिकाउनुपर्छ।
-    बालबालिकाले गर्ने सबै माग जायज हुँदैनन्। उनीहरूले जे माग गरिरहेका छन्, त्यो कति सही वा कति गलत छ ? भन्ने विषयमा जानकारी दिनुपर्छ। त्यसपछि उनीहरू स्वयंलाई निर्णय लिन दिनुपर्छ।
-    उनीहरूको आवश्यकता पूर्तिका लागि निश्चित पैसा दिनुपर्छ। उनीहरूलाई विकल्प दिने प्रयास गरौं। आफूले दिएको पैसा कहाँ र कसरी खर्च गर्छन् ? निगरानी राखौं। बालबालिकालाई आफ्नो खर्चको सूची बनाउन लगाउनुपर्छ। यो कुरा पनि महसुस गराउनुपर्छ कि, आफूले गर्ने हरेक क्रियाकलाप उनीहरूकै भलाइको निम्ति हो।
-    आफ्ना सन्तानले राम्रोसँग बचत गर्छन् भने उनीहरूलाई पुरस्कृत पनि गर्नुपर्छ। यसले उनीहरूलाई थप उत्साहित गर्छ।
-    कहिलेकाहीँ बालबालिकासँग पैसा सापटी मागौं। त्यस्तो पैसा फिर्ता गर्दा बजारमा चलेको व्याजको हिसाब गरेर दिनुपर्छ। यसबाट उनीहरूले बजारमा चलेको व्याज दरसम्बन्धी जानकारी हासिल गर्छन्। उनीहरूले जति धेरै बचत गर्छन्, उति नै बढी पैसा सापट चलाएर व्याजसहित फिर्ता गर्नुपर्छ। यसले उनीहरूको मनोबल वृद्धि हुन्छ।
-    आर्थिक लेनदेनका सम्बन्धमा बालबालिकाले राख्ने कुनै पनि जिज्ञासा सही रूपमा समाधान गरिदिनुपर्छ।
-    सधैं फाइदा वा नाफा मात्र दिएर उनीहरूलाई हौस्याउनु पनि हुँदैन। कहिलेकाहीँ घाटा पनि हुन दिनुपर्छ। यसबाट उनीहरूले थाहा पाउँछन्, कि घाटा हुँदा कस्तो परिस्थिति हुन्छ।