Monday 2 July 2012

त्यो रात


निशा केसी

अपर्झट बनेको थियो प्रोग्राम, मोना र हृयारीले बच्चाहरूलाई लिएर नगरकोट जाने । आमा आजै मात्र अफिसियल कामले दुई दिनको लागि भ्याली बाहिर जानु भएको थियो । घरमा बहिनीलाई मात्र एक्लै छोडेर कसरी जानु ? नजाउ भने पनि नमिल्ने । विदेशी सहयोगबाट चल्ने संस्थाका दाताहरू आएको बेलामा उनीहरूले भनेको ठाउँमा पुर्‍याइदिनु पर्छ ।

फोन गरेँ आमालाई । मोबाइल स्वीच अफ थियो । एस.एम.एस.बाट खबर दिएँ । एकरातको लागि बहिनीको साथी बसिदिन उषालाई बोलाएँ र घरको आवश्यक चाँजोपाँजो मिलाएँ । र, लागेँ नगरकोटतर्फ । हामी नगरकोट पुग्दा साँझ झमक्क परिसकेको थियो । काठमाडौंबाट हिँडेदेखि बसमै नाच्दै गाउँदै रमाउँदै गरेका बच्चाहरूको हाँसोले नगरकोटका भिरपाखा बनजङ्गललाई नै उल्लासमय बनाउँदै हाम्रो बस प्वाइन्ट भ्यू होटलको प्राङ्गणमा पुगेर रोकियो । टेलिफोनबाटै रुम बुकिङ्ग गरिसकेको हुँदा होटलमा छिर्नेबित्तिकै हामीले आ-आफ्नो रुमको साँचो पायौँ । बच्चाहरूका लागि ठूलो सामुहिक रुम, हृयारी र मोनाको लागि डबलबेडको रुम र मेरो लागि सिङ्गल रुम ।

जाडो निक्कै थियो सबैजना बच्चाहरूको रुममा हिटरको वरिपरी झ्म्याम्मिए । आफ्नो रुममा गएँ म । हातमुख धोएर प|mेस भएँ र होटल मेनेजरलाई भेट्न काउण्टरतर्फ लागेँ । केहीबेर मेनेजरसँग आवश्यक सरसल्लाह गरेर बाहिर निस्किएँ । पारी क्षितिजमा लाली छँदै डाँडाको टुप्पोबाट जून बिस्तारै निस्कँदै रहेछ । परपरसम्म फैलिएका रक्तिम लाली हेर्दै म आँगनको डिलमा उभिएँ । अहाँ ! कस्तो मनमोहक दृश्य म अनायासै बर्बराउन पुगिछु । सूर्यादय हेर्न आएका हामीले जूनोदय पनि यत्ति सुन्दर र मनमोहक हुन्छ भन्नेतर्फ त ध्यानै दिएका रहेनछौ ।

“म्याम ! माथि गएर हेर्नुस् न । आज आकाश एकदमै सफा छ ।” मसँगै उभिएको मेनेजरले घुमाउरो भर्‍याङ्गतर्फ ईशारा गर्दै भन्यो ।
छ्याङ्ग खुलेको आकाशमा टिलपिल टिलपिल चम्किरहेका ताराहरूलाई भेट्न जून व्यग्र भएझैँ म पनि अपूर्व खुशीको अनुभूतिले आन्दोलित हुँदै सिँढी उक्लन थालेँ । जतिजति सिँढी उक्लँदै गएँ, तलदेखि नै हरेक दृश्यहरू टाढा छुटेको जस्तो अस्पष्ट लाग्दै थियो । मैले पर-परसम्म नियालेँ काठमाडौं खाल्डो र भक्तपुरलाई । ती सबै अर्को आकाशझै विशाल परिदृश्य बनेका थिए । धिप-धिप बलिरहेका बिजुलीका बल्बले ती शहरलाई अर्कौ शून्य आकाशमा परिवर्तित गरिरहेका थिए । न कुनै हल्लाखल्ला, न त गाडीको ट्याँ टुँ ! आफूलाई दुई आकाशबीचको मध्य शून्यतामा एक्लै विचरण गराउँदै घुमाउरो भर्‍याङ्गको मध्यम खुट्किलोमा उभिएर एकछिन टोलाएँ ।

रङ्ग फुङ्ग उडेको रेष्टुरेण्टमा एक कप कफी खाँदै एक अर्काको ढुकढुकीमा मायाँ साँचिरहेका रवि र मेरो प्रेमले प्रकृतिको यो सुन्दरताको सामिप्य कहिल्यै पाएन । भीडहरू बीच एक अर्कालाई अनुभूत गरेर हुर्किरहेको हाम्रो प्रेमले यो एकान्त, यो उदाउँदै गरेको जूनको सानिध्यता पाएको भए !सायद उसका नीला र लट्ठ परेका आँखाका गहिराइमा म अझै बढी पौडिन सक्थेँ, डुब्न सक्थेँ र हराउन सक्थेँ । चिसो सिरेटोले मन र शरीरलाई चसक्क छोयो । मप\mलरलाई टाउकोदेखि कानसम्म ढाक्दै म घुमाउरो भर्‍याङ्गको अन्तिम खुड्किलोमा उभिएँ ।

अलि परैबाट देखेँ, एक जोडी ढाडहरूलाई । कालो टोपीसहितको ज्याकेट लगाएका, मेरो उपस्थितिको पूर्ण अनभिज्ञ ती एकअर्काको आलिङ्गनमा बाँधिएर एकटकले जुन हेरिरहेका थिए । प्रकृतिप्रेमी प्रेमीपे्रमिका होलान् भाग्यमानी ! जो व्यस्त शहरको चमकधमकभन्दा टाढा यो एकान्त !  रातको प्रथम प्रहरमा ! आफ्ना भावना प्रकृति र जूनसँग साटासाट गरिहेछन् । उनीहरूको एकान्त भङ्ग नहोस्, यस अर्थमा म अन्तिम खुड्किलोमा नै उभिएँ । जून अझ माथिमाथि आकाशिँदै थियो । जूनको सुनौलो किरण एकमुष्ठ भएर ती जोडीहरू माथि नै पोखिइरहेको थियो । हावाको एक झोक्का बेस्सरी आयो जस्मीन अत्तरको सुवाससँगै ! युवती युवकसँग लपक्क टाँसिइन् । एकअर्काको आलिङ्गनमा अझ बढी कसिँदै युवतीले युवकको निधार, गाला र ओठमा चुम्बनको वर्षात गरिन् । मैले आँखा चिम्म गरेँ । रविको न्यानो स्पर्षलाई अनुभूत गरे ।

रेष्टुरेण्टमा कफी पिउँदै गर्दा कहिलेकाहीँ उसका औंला टेबुलले छेकिएर मेरा औला सुम्सुम्याउन पुग्थे । त्यस क्षण मीठो आनन्दले तरङ्गति हुँदै उसका निधार, गाला र ओठमा बगुबगुझैँ लाग्थ्यो मलाई । फेरि हावाको अर्को झोक्का बेस्सरी आयो । मैले पुनः आँखा उघारे ! सरसर चलिरहेको बेजोडको हावाले युवतीको टोपीलाई टाउकोबाट खसालेर उनको बाक्लो लामो केशराशीलाई कुमबाट उडाउँदै यत्रतत्र छरिदियो । छरपस्टीएको उनको कपाललाई तह लगाउने कोशिस गर्दै युवक पूर्णरुपमा चम्किरहेको जुनतर्फ ईशारा गर्दै केही अथ्र्याउँदै थियो । त्यसैबेला युवती अलिकति कोल्टे परिन् । उनको सम्पूर्ण अनुहार देख्न न सके पनि देब्रेनाकमा चम्किएको फूलीले म पट्टी झिलिक्क किरण फाल्यो !

‘अहो ! आमा !…..!’  म बेस्सरी चिच्याएँ । तर त्यो चिच्याहट घाँटीभन्दा माथी आउनै सकेन छ !  एकाएक पर्न आएको त्यो विषम परिस्थितिको सामना गर्न सक्ने हिम्मत ममा थिएन । मुटुको धड्कन तीब्र गतिले धड्किरहेको थियो । हातखुट्टा लल्याकलुलुक्क भएर भर्‍याङको खुड्किलोमा नै थ्याच्च बसुँबसुँ भन्दै थियो । जून हुनु र नहुनको मेरो लागि कुनै अर्थ थिएन । अन्धकारले झ्वाप्पै छोप्यो । सारा संसारमा भुइँचालो गएको जस्तो आकाश, वायुमण्डल र पृथ्वी सबै फनफनी घुमेको भान भइरहेथ्यो । मैले आफूलाई सम्हालेँ । अनि भर्‍याङको रेलिङ समातेर छिटोछिटो झरेँ आफ्नो रुमतर्फ । कम्प्युटरमा झैँ डिलिट गर्न मिल्ने भए त्यस क्षणलाई सदाको लागि आफ्नो मनसपटलबाट डिलिट गरिदिन्थेँ । जति नै मेटूँभन्दा भन्दै पनि आँखाको पर्दामा झलझली आइरहेको आमा र त्यस अपरिचित मान्छेको झझल्को आगो र धुवाँ बनेर त्यस होटलको कोठाभरी रङमङ्गी रहेका थिए ।

आफ्ना यौवनका रसमय सुकोमल समयहरू हाम्रा लागि समर्पित गरेर दियोझैँ बलिरहेकी आमाको आजको त्यो रुप विश्वास गर्न सकिने थिएन । तर उनी मेरी आमा नै हुन् किनकि उनको त्यो कालो बाक्लो लामो कपाल ! उनको जिउडाल, उचाई ! उनको नाकमा चम्किरहेको हिराको फूली र हावामा मिसिएर आएको जस्मीन अत्तरको सुवास ! यी सम्पूर्ण प्रमाणले उनी मेरी आमा भएकै पुष्टि गर्दथे । मलाई मन पर्दैन भनेर जस्मीनको प्रयोग आमा आक्कल झुक्कल विशेष अवसरमा मात्र प्रयोग गर्ने गर्नुहुन्थ्यो । फेरि आमाले लगाउनु भएको त्यो कालो ज्याकेट ! त्यो पनि त आमा र म साटासाट गर्दै लगाउने गथ्यौँ ।

म तीन वर्षकी हँदा बुवा स्वर्गे हुनुभएको थियो रे । बहिनी त त्यतिबेला बामे सर्दै थिई भन्नुहुन्थ्यो आमा । दुःखका ती दिनहरूमा अविचलित नभइ अथक परिश्रम गरेर हाम्रो लालनपालन, शिक्षादिक्षा दिँदै आइरहनुभएकी आमाका आँखाका नानीहरूमा हाम्रै भविष्यका सुन्दर सपना देख्थेँ । हामीलाई सही मार्ग निर्देशन गर्दै आफ्नो कर्तव्यबाट कहिल्यै पछि नहट्ने आमा छरछिमेकी, आफन्त, नाताकुटुम्ब सबैका सामु उदाहरणीय हुनुभएको छ । सबैको हाइहाइ हुनुभएको छ । म आफ्नी आमाप्रति गर्व गर्ने गर्थेँ तर अब ?  टाउको फुट्लाजस्तो गरेर चड्कीरहेको थियो । ओठमुख सुकेर खङग्रङ्ग भएको थियो । साइड टेबुलमा राखेको गिलासमा जगबाट पानी भरेर पिएँ । रविले थाहा पायो भने के सोच्ला ? एउटी चरित्रहीन आमाकी छोरी भनेर उसका परिवारले पनि मलाई अस्वीकार गर्न सक्छन् । यस्ता कुरा एक कान दुई कान मैदान हुन के बेर ? फेरि आमाको र मेरो यसै ठाउँमा जम्काभेट भयो भने त्यो क्षणको सामना कसरी गर्नु ? आमालाई पनि त अप्ठेरो पर्छ । म यस्तै सोचिरहेकी थिएँ ।

कसैले ढोकामा नक गरेको आवाजले मेरो सोचाई भङ्ग भयो । ढोका उघारेर मुसुक्क हाँस्दै वेटरले भन्यो- “म्याम डिनर रेडी छ ।”"ए हो ! ल-ल । ए सुन त भाइ !” जति लुकाउन खोजे पनि त्यो हड्बडाहट, छट्पटाहट लुकाउन नसकेको जस्तो आफैँले महशुस गरेँ । ऊ पछाडि हात बाँधेर यथावत उभिइ रह्यो ।
आफूलाई साम्य बनाउँदै मैले सोधे, “डिनर हलमा हाम्रो ग्रुपबाहेक अरु पनि कोही हुन्छन् कि ?”"छैन म्याम । आज हजुरको ग्रुप मात्र हो । हिजोआज अफ् सिजन भएकोले त्यस्तो भिडभाड छैन । एक जोडी पल्लो रुममा हुनुहुन्छ उहाँहरू रुममै डिनर लिनुहुन्छ ।” “ए, ओ के ! दश मिनेटमा हामी आउँछौँ !”‘ओ के म्याम’ भन्दै वेटर फर्कियो । मैले केही राह्रत अनुभव गरेँ ।केहीछिनपछि सबैलाई लिएर डिनर हलमा पुगेँ । बच्चाहरू भोकाएका थिए । हल्लाखल्ला गर्दै खाना खान थाले । मोना, हृयारी र म एउटै टेबुलमा बस्यौँ । खाना खाइरहँदा हृयारी र मोनाले गरेका कुरामा मैले हो वा होइन भनी टाउको मात्र हल्लाएँ । सकेसम्म कुराकानीलाई छोटो बनाएँ ।

खाना खाइओरी हामी आ-आफ्नो रुममा लाग्यौँ । बिहान साढे पाँच बजे सूर्याेदय हेर्ने समयको सम्झना गराउँदै । निद्रा लाग्ने सम्भावना थिएन । बहिनी सुती कि सुतिन होला ? मोवाइल उठाएँ । मोबाइल चार्ज नभएर स्वीच अफ् भइसकेको रहेछ । चार्ज गर्न खोज्दाखोज्दै बत्ती झ्याप्पै गयो । लोडसेडिङले यहाँ पनि छोएको रहेछ । रविले नगरकोट पुगेपछि कल गर्नु भनेको थियो, बिर्सिएँछु । लोडसेडिङ भएको बेलामा जेनेटर चलाएर कम प्रकाशको बत्ति बाल्ने व्यवस्था भए पनि मोवाइल चार्ज गर्ने सुविधा भने उपलब्ध गराएका रहेनछन् । राती बत्ती आए चार्ज होला नि ! मोवाइल चार्जमा राखेँ । नाइटी फेर्नसमेत मन भएन । त्यसै डङ्ग्रङग पल्टिएँ ओच्छ्यानमा । कताकता आमाको माया टाढा… हुँदै गएको भान भयो ।

कहिलेकाहीँ आमा अफिसियल कामले एक दुई दिनको लागि भ्याली बाहिर जाने गर्नुहुन्थ्यो । हामी दुई एउटै संस्थामा आबद्ध भए पनि उहाँ दलित महिलाको उत्थान अन्तर्गत कार्यरत हुनुहन्थ्यो, म अनाथ बालबालिका पट्टी । उमेरमा आमाको र मेरो सोह्र वर्षको मात्र फरकले गर्दा पनि हामी साथी जस्तै थियाँै तर आमाले कहिल्यै यस बारेमा कुरा गर्नु भएन । के उहाँको यो सम्बन्ध लामो समयदेखि जारी थियो ? अनेकौं निरुत्तरित प्रश्नले घेरिएर म ओल्टेकोल्टे फेरिरहेँ । अचानक अघि वेटरले भनेका कुरा सम्झन पुगेँ, “पल्लो रुममा एक कपल हुनुहुन्छ… ।” पल्लो रुम भन्नुको अर्थ मेरोभन्दा अघिल्तिरकै रुम हुनुपर्छ । किनकि मेरोभन्द पछाडिका दुईटा रुम हामीले नै लिएका थियौँ । विस्तारै ढोका उघारेर म अघि बढेँ ।
रुम नं. १०४ ।
के गरुँ के नगरुँ ! बडो असमन्जस्यमा परेर एकछिन रुम नम्बर १०४ को ढोकामा उभिएँ । एक मनले त नचाहिने काम गरिरहेको जस्तो लागिरहेको थियो । मनले फर्किने आदेश दिइरहेको थियो । तर आमाको त्यो रहस्य मेरा लागि पर्दाफास हुन जरुरी थियो । मनमा उब्जेका अनेकौं प्रश्नको उत्तर केवल रुम नम्बर १०४ ले मात्र दिन सक्थ्यो । जे पर्ला पर्ला भनेर मन दह्रो बनाएँ । र, ढोकाको कि होलबाट चिहाएँ । डिमलाइटको मधुरो उज्यालो कोठाभरि फैलिएको थियो । उही अपरिचत व्यक्ति टेबुलमा केक सजाउँदै थियो । कौतुहल हुँदै हेरिरहे । उसले एउटा प्याकेटबाट सानो केक निकाल्यो । दुइटा मैनबत्ती राख्यो । रिबनले बाँधिएको छुरीलाई केकसँगै राख्यो ।

आमा सायद ट्वाइलेट गएको हुनु पर्छ, म अनुमान लगाउँदै थिएँ । ठीक त्यसैबेला आमा रातो सारीमा सजिएर देखापर्नु भयो । सोह्र श्रृंगारमा सजिएकी उहाँ साँच्चै नयाँ दुलहीजस्तै चिन्नै नसकिने हुनुभएको थियो । त्यस अपरिचित व्यक्तिले मुस्कुराउँदै केक काट्न भन्यो । आमाले मैनबत्ती फुकेर केक काट्नु भयो ।
“हृप्पी बर्थडे नानु ! हृप्पी बर्थडे नानु ! ” ऊ भनिरहेको थियो । आमाले एक टुक्रा केक  त्यो व्यक्तिको मुखमा राखिदिनु भयो । त्यही एक टुक्रा केक दुवैले बाँडेचुडी खाएँ । उसले रातो गुलाफको फूल उपहार स्वरुप आमालाई दियो । आमाका आँखाबाट खुशीका बलिन्द्रधारा आँशु बगिरहेका थिए । आमालाई आलिङ्गनमा भरेर ऊ थुम्थुमाइरहेको थियो । त्यसपछि आमाको अनुहार मैले देख्न सकिनँ । किनकि त्यो अपरिचित व्यक्तिको अनुहार ढोका सामुन्ने फर्कियो ।

त्यसैबेला कोही हिँडेको पदचापले म झस्किएँ । हतारहतार भिजेका परेली पुच्छ्दै म आफ्नो रुम भित्र छिरेँ । आँखा वरिपरि एक-एक घटना र दृष्य आउँदै जाँदै गरे ।
सधैँसधैँ हाम्रो जन्मदिन मनाउने हाम्री आमाको जन्म दिनको त हामीले ख्यालै गरेनछौँ ।
आमा खुशी भएको त्यो पल र आमालाई असंख्य मायाँ दिने त्यस अपरिचित व्यक्ति प्रति किन-किन श्रद्धा जागेर आयो । मायाँ लागेर आयो । “हृप्पी वर्थडे मामु !” मैले सानो स्वरमा भनेँ अनि बेडस्वीच अफ् गरेर ओच्छ्यानमा पल्टिएँ ।
लगातार बजेको मोवाइलको घण्टीले मलाई व्यूँझायो । हत्तन पत्त मोवाइल उठाएँ । फोन घरबाट रहेछ ।
“हेलो !”  मेरो आवाजको प्रति उत्तरमा उत्ताबाट आमाको आवाज गुञ्जियो !
“शुभ-प्रभात नानु !”
“आमा हजुर ! कसरी घरमा ?” म आश्चर्यले चिच्याउनै पुगेँछु ।
आमाले उही शान्त भावमा भन्नुभयो ।
“मुग्लिन बन्द भएछ, हिजै फर्कैँ नि !”
आमाको त्यो भनाईलाई विश्वास गर्न सक्ने अवस्थामा म थिइनँ । अविश्वास गरौँ भने पनि फोन घरकै नं.बाट आएको थियो । रातारात घर पुगेर कतै आमाले झूट त बोल्नु भएको हैन ? आखिर नगरकोट र काठमाडौँ कत्ति न टाढा छ र ?
मेरो टाउको रन्थनियो । आमा के-के भनिरहनु भएको थियो । मैले सुनिरहेकी थिइनँ । जति सक्दो छिटो रुम नं. १०४ का ती जोडीलाई भेट्न चाहन्थेँ । आमाको फोन बीचैमा काटेर म रुम नं १०४ तिर लम्किएँ । तर ढोका लक थियो । कि होलबाट चिहाएर हेरे, कोठा रित्तो रहेछ । म हस्याङफस्याङ गर्दै घुमाउरो भर्‍याङ उक्लिएर टावरमा पुगेँ । ती जोडी चिसोको परवाह नगरी सूर्योदयको प्रतिक्षामा रहेछन् । हिजोजस्तै एक अर्काको अलिङ्गनमा बाँधिएर ।
सुकेधारा, काठमाडौं

No comments:

Post a Comment