आमाबाउ चाहन्छन्– छोराछोरी सुखी होऊन्, सन्तुष्ट होऊन् । सन्तानका इच्छा र चाहना पूरा गर्न जिन्दगीभर दुःख गर्छन्, कष्ट काट्छन् । तर, नयाँ पुस्ताका ‘डिमान्ड’ चर्का हुन्छन् । उनीहरू मोबाइलदेखि मोटरसाइकलसम्म, घुमफिरदेखि ‘पकेटमनी’सम्मका सबै माग अभिभावकले पु¥याइदिऊन् भन्ने चाहन्छन् । उनीहरूलाई घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने पुरानो उखानको हेक्का हुँदैन । सृजना खड्का र रचना श्रेष्ठले सन्तान र अभिभावबीचको यस्तै माग र पूर्तिको हिसाबकिताब प्रस्तुत गरेका छन् ।
‘डिमान्ड’ अर्थात् माग ।
नयाँ पुस्ताका डिमान्डैडिमान्ड हुन्छन् ।
मोबाइलदेखि मोटरसाइकलसम्मको डिमान्ड । जिमखाना जानेदेखि जन्मदिनमा पार्टी राख्नेसम्मको डिमान्ड । हाइकिङदेखि विदेशै हुइँकिनेसम्मको डिमान्ड । ‘पकेटमनी’को डिमान्ड । फिल्म, घुमफिर खर्चको डिमान्ड । रेस्टुरेन्टमा साथीहरूसँग जमघट गर्ने बजेटको डिमान्ड । अर्थात्, डिमान्डैडिमान्ड ।
आफ्ना अभिभावकका आर्थिक हैसियत र गच्छेको उनीहरूलाई मतलब नभएजस्तो देखिन्छ । उता, अभिभावक छोराछोरीका चर्का माग पूरा गरिदिन हरसम्भव प्रयत्न गर्छन् ।
माग थरीथरी
काठमाडौँ, भोटेबहालस्थित एउटा गल्लीमा चटपटे बेच्छिन्, विनिता कार्की । तीन सन्तानकी आमा उनी बिहानदेखि बेलुकासम्म चटपटे बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँछिन् ।
‘बाँच्नै गाह्रो भइरहेका बेला छोराछोरीका अनेक थरी चाहनाले दिक्कै बनाउँछ,’ उनी भन्छिन्, ‘उनीहरूका डिमान्डै चर्का हुन्छन् ।’
भर्खरै एसईई दिएर बसेकी उनकी छोरी पहिरनको सोखिन छिन् । ‘साथीहरूसँग घुम्न जान घुँडामा च्यातिएको प्यान्ट किन्दिनुस् भन्दै थिई,’ विनिताले भनिन्, ‘पहिला त मार झपारेँ । तर, माने पो । नकिन्दिई सुखै पाइएन ।’
चार कक्षामा पढ्ने छोराले मोबाइलको माग गरेको छ । ‘अर्काे सात कक्षामा पढ्ने छोरा ल्यापटप चाहियो भन्छ । खै के त्यो प्रोजेक्ट वर्क कि के हो गर्नप¥यो भन्दैथ्यो,’ उनले भनिन्, ‘नसक्ने कुरा कहाँबाट ल्याउनु ? चटपटे बेचेर कति नै आम्दानी हुन्छ र ? भात खानै मुश्किल हुन्छ । अहिलेका केटाकेटीका कुरै बुझ्दिनँ म ।’
त्यस्तै, ललितपुरका चन्द्रप्रसाद चौलागार्इं पनि पाँच सन्तानका मागले हत्तु भएका छन् । ज्याला–मजदुरी गरेर परिवार पाल्ने उनलाई छोराछोरी पढाउन हम्मेहम्मे परेको छ । ‘सबै छोराछोरी पढ्छन्,’ उनले भने, ‘कोही स्कुल त कोही कलेज । भारी बोकेर घर चलाउनुपर्छ । उनीहरूका किताब, कापी, कलम जुटाउन पनि धौधौ पर्छ । त्यसमाथि कहिले के कहिले के मागिरहन्छन् । बाउ हुन साह्रै गाह्रो हुँदो रैछ ।’
काठमाडौँ, छाउनी बस्ने सविना श्रेष्ठ सिलाईको काम गर्छिन् । श्रीमान् सेनामा छन् । उनका दुई छोरा छन् । ‘सानोमा जेठो छोरा निकै कमजोर भयो भनेर दिनदिनै मासुभात खुवाउँथेँ,’ उनले भनिन्, ‘अहिले लाठे भैसक्यो । मासु नभई भातै खाँदैन । मासु भएन भने अण्डा त उसलाई चाहिन्छ–चाहिन्छ । अरू तरकारी पकाएको दिन फन्किँदै कोठामा गएर चुकुल हालेर बस्छ ।’
नयाँ चाहियो
काठमाडौँको भूगोलपार्कमा टहल्न आएका टेबहालका विजयरत्न तुलाधरलाई अहिलेका केटाकेटीका माग देखेर उदेक लाग्छ । उनले आफ्नै छोराछोरीका उदाहरण दिए । ‘भएको, पुरानो र काम दिइरहेको चिज हुँदैन भन्छन्,’ उनले भने, ‘घरमा पुरानो टीभी राख्दा लाज हुन्छ रे, नयाँ एलईडी टीभी चाहियो रे । चलाइराखेको मोबाइल थोत्रो र पुरानो भयो रे । लेटेस्ट मोडेलको चाहियो भन्छन् । उनीहरूका डिमान्ड पूरा गर्दागर्दै जिन्दगी नै पूरा होलाजस्तो भइसक्यो ।’ उनलाई लाग्छ– नयाँ पुस्ताको मागको कुनै सीमा छैन । ‘हाम्रो जमानाजस्तो कहाँ रह्यो र अब ?’ उनले भने, ‘हामी बारीको पाटामा फुटबल खेल्न जान्थ्यौँ, अहिलेका केटाकेटी पैसा तिरीतिरी फुटसल धाउँछन् ।’
मोबाइल र नेटको माग
‘बाबामम्मी त मुखले भन्ने मात्रै हो, भनेको कुरा कहिल्यै पु¥याउनुहुँदैन’ काठमाडौँ, ब्रह्मटोलस्थित सरस्वती निकेतनमा ७ कक्षामा पढ्ने याङ्जी लामाले भनिन् । कक्षा छ मा हुँदा उनका बुबाले उनलाई मोबाइल किनिदिएका थिए । ‘मैले धेरै जिद्दी गरेपछि माइक्रोम्याक्सको सेट किनिदिनुभएको थियो,’ उनले भनिन् । ‘त्यो मोबाइल साथीको घरमा जाँदा चार्ज गरेकै ठाँउबाट हरायो ।’ उनका बुबा रेस्टुरेन्टका कुक हुन् भने आमा बैँकमा काम गर्छिन् । ‘अब चाहिँ हराउँदिनँ, अर्को किन्दिनू न भनेर कति चोटि भनिसकेँ,’ उनले सुनाइन्, ‘सुनेको नसुन्यै गर्नुहुन्छ । मम्मीले ‘फेरि हराउनलाई किन किन्नु ? अब १० कक्षा पुगेपछि मात्रै चलाउनू’ भन्नुहुन्छ ।’
यता, उनकी साथी रियालाई भने घरमा आमाबुबाले इन्टरनेट नजोडिदिएर तनाव भएको छ । स्कुलबाट आएपछि उनी फुत्त ठूलीआमाको डेरातिर लागिहाल्छिन् । ‘आफ्नो डेरामा नेट छैन । ठूल्मम्मीकोमा छ । स्कुलमा दिएको होमवर्क गर्न नेट चाहिन्छ,’ उनले भनिन्, ‘नेट राखेपछि छोराछोरी बिग्रिन्छन् भन्नुहुन्छ ।’ उनकी आमा तरकारी व्यापारी र बुबा डकर्मी हुन् । उनलाई युट्युबमा फिल्म हेर्न साह्रै मज्जा लाग्छ । ‘ड्याडीमम्मीलाई जसरी भए पनि नेट हाल्न लगाउँछु, यही महिनाभित्र,’ उनले भनिन् ।
माग पूरा गरिदिनै गाह्रो
काठमाडौँ, कोटेश्वर बस्ने चेतन बुढाथोकी सिकर्मी हुन् । उनका तीन जना छोराछोरी छन् । श्रीमती सिलाईको काम गर्छिन् । ‘काठमाडौँको ठाउँ, महँगीले बाँच्नै गाह्रो छ,’ उनले भने, ‘त्यसमाथि छोराछोरीका थरिथरिका माग ! जेठी ‘घुम्न जानुप¥यो, पैसा चाहियो’ भन्छे । माइलो ल्यापटप किन्दिएन भनेर गमक्क फुलेर बसेको छ । कान्छोलाई मोबाइल नभई भाको छैन । गरिखानु न मरिजानु पारेका छन् ।’
देखासिकीका कारण आफ्ना छोराछोरीले यस्ता माग गरेका उनको बुझाइ छ । ‘हुनेखानेका छोराछोरीले जे–जे ग¥यो, त्यही गर्न खोज्छन्,’ बुढाथोकीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने उनीहरूलाई ज्ञानै छैन ।’
मनोचिकित्सक रवि शाक्यका अनुसार माग भनेको घाँटी हेरेर हाड निल्ने खालको हुनुपर्छ । ‘आमाबाउले आफ्नो गच्छे हेरेर छोराछोरीको डिमान्ड पूरा गर्नुपर्छ,’ उनले भने, ‘छोराछोरी रिसाए, घर छाडेर हिँडे भन्दैमा केही गरि पो हाल्छन् कि भनी डराएर उनीहरूको सबै डिमान्ड पूरा गर्दिनुपर्छ भन्ने छैन । यस्तो बानीले झनै उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्न सिकाउँछ । त्यसैले हरेक अभिभावकले आफ्नो वास्तविकताबारे सन्तानलाई सम्झाउनुपर्छ ।’
काठमाडौँ, ताहाचलमा किराना पसल गरेर बसेकी कोपिला हुमागाईंका दुई जना छोराछोरी छन् । छोरी ९ र छोरा ११ कक्षामा पढ्छन् । उनको कोठामा नेट काटिएको तीन महिना भयो । तर, छोराछोरीको ‘फेरि नेट जोडिदिनुस् न’ भन्ने माग आएकोे तीन हजार पटकभन्दा बढी भइसक्यो । ‘सामान्य किराना पसल चलाउँछु, उनीहरुले भनेको–भनेको जस्तो गर्न कहाँ पाउनु ? नेट जोडेपछि पढ्नको त कुरै छोडौँ, खानै बिर्सन्छन्,’ उनले भनिन्, ‘उनीहरूले भनेबमोजिम गरे त जोगी भइन्छ ।’
काठमाडौँ, कीर्तिपुरका बाबुराजा महर्जन अभिभावकले छोराछोरीका माग पूरा गरिदिनुपर्ने बताउँछन् । ‘मैले १२ वर्षको उमेरसम्म एक जोर छालाको जुत्तासमेत लाउन पाइनँ,’ उनले भने, ‘आफ्नो पालामा धेरै दुःख कटाइयो, छोराछोरीलाई भने जे–जे भन्यो त्यही पु¥याइदिनुपर्छ जस्तो लाग्छ ।’ एक अस्पतालमा मेडिकल रेकर्डरका रूपमा कार्यरत उनका दुई छोरी र एक छोरा छन् । उनको अनुभवले छोरीहरूलाई बुज्झकी भन्छ । ‘छोरीहरुले अनावश्यक डिमान्ड गरेर कहिल्यै दुःख दिएनन् । छोरालाई आज सय रुपैयाँ दियो, भोलिपल्ट फेरि माग्न थालिहाल्छ,’ उनले भने, ‘छोरीले एउटा डिमान्ड गरे भने छोराले १० वटा कुराको डिमान्ड गर्छ ।’
छोराछोरीका सबै माग पूरा गरिदिने अभिभावकले उनीहरूलाई हानि पु¥याइरहेको हुने शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । भन्छन्, ‘यस्तो अवस्थामा अभिभावक र छोराछोरीको बीचमा ‘कम्युनिकेसन’ हुन जरुरी छ । आमाबाबुले आफ्नो छोराछोरीको डिमान्ड पूरा गरेर मात्र हुँदैन । उनीहरूसँग बसेर कुराकानी गर्ने वातावरण पनि बनाउनुपर्छ । सम्झाउनुपर्छ, बुझाउनुपर्छ ।’
शिक्षाविद् डा. कोइरालाका अनुसार हरेक माग पूरा गरिदिने अभिभावकको बानीले सन्तानलाई अरूमा निर्भर हुन बाध्य बनाउनुका साथै हीनताबोध र निराशाको शिकारसमेत बनाउँछ ।
अभिभावक संघका अध्यक्ष केशव पुरी अभिभावकले भनेको कुरा पु¥याइदिएर सन्तानलाई बिगारिरहेको धारणा राख्छन् । ‘हरेक अभिभावकलाई आफ्ना छोराछोरीको इच्छा पु¥याइदिऊँ भन्ने हुन्छ,’ पुरी भन्छन्, ‘उनीहरूले लगाइदिएको बानीले पछि गएर उनीहरूलाई नै अप्ठ्यारोमा पार्छ । अभिभावकले भनेको कुरा पु¥याइदिएर सन्तानलाई निगरानी गर्न नसक्दा उनीहरू विभिन्न किसिमका कुलतमा फस्न पुगेका उदाहरण पनि प्रशस्त छन् ।’
०००
काठमाडौँ, इन्द्रचोकका अमूल्य स्थापितका दुई छोरा छन् । ‘दुवैका साथीसर्कल फरक–फरक छन्,’ स्थापितले भने, ‘एउटा छोरोका गु्रपमा लगभग १० जना साथी छन् । जसको जन्मदिन आए पनि पार्टी गर्न तम्सिहाल्छन् । उनीहरुको ग्याङमा हरेक महिना जन्मदिनको भोज ! एक जनाको जन्मदिन आयो भने हजार रुपैयाँ घटी नबोकी घरबाट निस्किँदै निस्किँदैन ।’
काठमाडौँ, कोटेश्वर बस्ने रामप्रसाद थपलिया ट्याम्पू चलाउँछन् । उनको १४ वर्षीय छोरा प्रतीक ८ कक्षामा पढ्छन् । ‘उसको डिमान्ड ल्यापटप छ,’ उनले भने, ‘धेरै झगडा ग¥यो भनेर सामसुङको दश हजार पर्ने मोबाइल किनिदिएँ । अब ल्यापटप बनेर बसिखान दिएको छैन ।’
काठमाडौँ, लैनचौर बस्ने हेम्स बञ्जाडेको आफ्ना दुई छोराको माग व्यवस्थापन गर्ने आफ्नै काइदा छ । ‘म कहिल्यै ‘नो’ भन्दिनँ,’ उनले भने, ‘समय आएपछि किन्दिन्छु भन्छु । उनीहरूलाई सम्झाइबुझाइ गर्छु । घाँटी हेरेर हाड निल्नुपर्छ भन्छु ।’
मनोचिकित्सक रवि शाक्य सन्तानको माग सीधै इन्कार गर्न नहुने बताउँछन् । भन्छन्, ‘सीधै ‘नो’ भन्नु समस्याको समाधान होइन । उनीहरूको माग के कारणले पूरा गर्न नसकेको हो भन्ने कुरा उनीहरूले बुझ्ने भाषामा सम्झाउनुपर्छ ।’
‘खर्च गर्न सिकाउँछौँ, कमाउन सिकाउँदैनौँ’
डा. विद्यानाथ कोइरालाशिक्षाविद्आजकालका आमाबाउले सानै बेलादेखि आफ्ना छोराछोरीलाई तीनतारे÷पाँचतारे होटलमा लगेर खुवाउँछन् । उनीहरूको गच्छेले भ्याओस् वा नभ्याओस् । सानो बेलामा पूरा हुँदै आएका ‘डिमान्ड’मा ठूलो भएपछि उनीहरूको लत बसिसकेको हुन्छ । यसले तीनटा अवस्था सिर्जना गर्छ । पहिलो, आमाबाउसँग शत्रुता वा दुश्मनी । दोस्रो, दुई नम्बरी काम गर्नतर्फ छोराछोरी प्रेरित हुन्छन् र तेस्रो, आफैँ कमाउनुपर्छ भन्ने सोच उनीहरूमा आउँछ । सम्पन्न घरानाका अभिभावकले छोराछोरीलाई कमाउन सिकाउँदैनन् । उनीहरूले गरेका हरेक डिमान्ड पूरा गरिदिँदै जान्छन् । यसले भविष्यमा उनीहरूकै छोराछोरीलाई हानि पु¥याइरहेको हुन्छ ।
हामी अभिभावकहरू खर्च गर्न सिकाउँछौँ, कमाउन सिकाउँदैनौँ । बाइक किन्दिन्छौँ, ‘आफ्नै पैसाले पेट्रोल भर’ भन्दैनौँ । मोबाइल किन्दिन्छौँ, ‘आफ्नै पैसाले रिचार्ज गर्नुपर्छ’ भनेर सिकाउँदैनौँ । कुनै पनि सामान किनेपछि त्यसको जतन कसरी गर्ने ? मर्मत खर्च कसरी जुटाउने ? आफ्नो अर्थिक हैसियत के हो ? भनेर कहिल्यै पनि बुझाउँदैनौँ÷सिकाउँदैनौँ । बचत गर्ने बानी त झन् धेरै कम अभिभावकले मात्र लगाउँछन् । यो उनीहरूको ठूलो कमजोरी हो । मास्टर्स पास गरेको छोराको बिहेको खर्च र बच्चा हुर्काउने खर्चसम्म अभिभावकले धानेका उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यसले भविष्यमा उनीहरूलाई अरूमा निर्भर हुन बाध्य बनाउनुका साथै हीनताबोध र निराशाको शिकारसमेत बनाउँछ ।
यस्तो अवस्थामा अभिभावक र छोराछोरीको बीचमा ‘कम्युनिकेसन’ हुन जरुरी छ । आमाबाबुले आफ्नो छोराछोरीको डिमान्ड पूरा गरेर मात्र हुँदैन । उनीहरूसँग बसेर कुराकानी गर्ने वातावरण पनि बनाउनुपर्छ । सम्झाउनुपर्छ÷ बुझाउनुपर्छ । किनभने, सम्पन्न परिवारका लागि बाइक, कम्प्युटर र महँगो रेस्टुरेन्टमा गएर खानु आधारभूत डिमान्डमा पर्लान् । तर, विपन्न परिवारका लागि बिहान÷बेलुका टन्न भात खाने डिमान्ड नै पूरा गर्न नसकिरहेको अवस्था पनि हुन्छ ।
‘नयाँ पुस्ता त डिमान्डको पहाडै हो’
केशव पुरी
अध्यक्ष, अभिभावक संघ
अहिलेको अवस्था एकदमै फेरिएको छ । कुनै अभिभावकले आफ्ना छोराछोरीले डिमान्ड गरेको कुरामा ‘नो’ भने भने उनीहरूका छोराछोरी आफ्नो हातबाट गुमे भन्ने बुझे पनि भयो । नयाँ पुस्ताको माग बढ्दै जानुमा मिडियाको ठूलो हात छ । टीभीमा जसले जे लगाएको छ, त्यही लगाउन खोज्ने, जे खाएको छ, त्यही खान खोज्ने, जे बोकेको छ, त्यही बोक्न खोज्ने, जे चढेको छ, त्यही चढ्न खोज्ने क्रम बढ्दो छ । धनाढ्य घरका छोराछोरीको संगतले मध्यमवर्गीय परिवारका छोराछोरीको मागसमेत बढ्दो छ । उनीहरू फजुल खर्च गरेर रमाइलोमा भुलिरहेका छन् । बुबाआमा गाँस कटाएर छोराछोरीलाई पढाउँछन् । छोराछोरी भने दिनकै फिल्म हेर्न जान्छन् । बजारमा आएका नयाँ मोडलका मोबाइल देख्नै नहुने ! उनीहरूको माग भइहाल्छ । यस्ता कुरामा उनीहरू आमाबाउलाई प्रत्यक्ष÷अप्रत्यक्ष दबाब दिइरहेका हुन्छन् । साँच्चै भन्ने हो भने नयाँ पुस्ता त डिमान्डको पहाडै हो ।
हरेक अभिभावकलाई आफ्ना छोराछोरीको इच्छा पु¥याइदिऊँ भन्ने हुन्छ । उनीहरूले लगाइदिएको बानीले पछि गएर उनीहरूलाई नै अप्ठ्यारोमा पार्छ । अभिभावकले भनेको कुरा पु¥याइदिएर सन्तानलाई निगरानी गर्न नसक्दा उनीहरू विभिन्न किसिमका कुलतमा फस्न पुगेका उदाहरण पनि प्रशस्त छन् ।
धेरै अभिभावक आफैँले ‘परीक्षामा यति नम्बर ल्याउनू, यो किन्दिन्छु, त्यो किन्दिन्छु’ भनेर वाचा गर्छन् । यो एकदमै गलत अभ्यास हो । उनीहरूलाई पढ्नका लागि प्रेरित गर्न अन्य उपाय हुन सक्छन् । उनीहरूलाई क्षणिक खुशी दिएर मात्रै हँदैन । भविष्यका बारेमा पनि सोच्ने बनाउनुपर्छ ।
‘मैले दुःख पाएँ, उमेरमा कति चाहना मार्नुप¥यो’ भन्दै छोराछोरीका हरेक इच्छा पूरा गरिदिने अभिभावक पनि धेरै छन् । तर, आफू दुःख गरेरै सफल भएको र छोराछोरीले पनि जीवनलाई बुझ्नका लागि दुःखै गर्नुपर्छ भन्ने कुरा उनीहरू बिर्सन्छन् ।
असल सन्तानलाई आमाबुबाको सम्पत्तिको चाहना हुँदैन । तर, खराब सन्तानले आमाबुबाको करोडाँै सम्पत्ति क्षणभरमै सखाप पारिदिन सक्छ ।
हरेक अभिभावकले आफ्ना छोराछोरीलाई ‘हामी कस्तो पृष्ठभूमिबाट आएका हाँै ? हाम्रो धरातल के हो ?’ भन्ने कुरा सम्झाउनुपर्छ । नत्र आफूले नसक्दानसक्दै उनीहरूको डिमान्ड पूरा गर्दिंदै जाने हो भने कलेज पढ्ने बेलासम्म डिमान्डको पहाडै बनिसकेको हुन्छ । यसमा अभिभावक आफैँ सचेत हुनुपर्छ ।
‘घाँटी हेरी हाड निल्नुपर्छ’
रवि शाक्य, मनोचिकित्सक
अहिलेका पुस्तालाई परिवारले ‘के सिकाउँछ’ त्यो महŒवपूर्ण हुँदैन । साथीभाइले के खाए, के लाए, के गरे र कहाँ गए भन्ने चाहिँ महत्वपूर्ण हुन्छ । उनीहरूका आ–आफ्नै ग्रुप हुन्छन् । ग्रुपमा ‘अरूभन्दा म के कम’ भनेर देखाउने होडबाजी चलि नै रहेको हुन्छ । आज एउटाले नयाँ÷महँगो मोबाइल ल्याएको छ भने भोलि त्यो अर्काको डिमान्ड हुन पुग्छ । एउटाले बाइक चढ्यो भने अर्कोले डिमान्ड गरिहाल्छ ।
डिमान्ड भनेको घाँटी हेरेर हाड निल्ने खालको हुनुपर्छ । आमाबाउले पनि आफ्नो गच्छे हेरेर छोराछोरीको डिमान्ड पूरा गर्नुपर्छ । छोराछोरी रिसाए, घर छाडेर हिँडे भन्दैमा केही गरि पो हाल्छन् कि भनी डराएर उनीहरूको सबै डिमान्ड पूरा गर्दिनुपर्छ भन्ने छैन । यस्तो बानीले झनै उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्न सिकाउँछ । त्यसैले हरेक अभिभावकले आफ्नो वास्तविकताबारे सम्झाउनुपर्छ ।
कोही निकै अटेरी स्वभावका पनि हुन्छन् । आमाबुबाको कुरा सुन्दै सुन्दैनन् । यस्तो अवस्थामा आफ्ना आफन्त तथा उनीहरूका नजिकका वा मिल्ने साथीको सहारा लिन सकिन्छ । तर, उनीहरूको माग सीधै इन्कार गर्नु हुँदैन । जवाफ नदिई चुप भएर पनि बस्नु हुँदैन । ‘नो’ भन्नु नै पनि समस्याको समाधान होइन । उनीहरूको माग के कारणले पूरा गर्न नसकेको हो भन्ने कुरा उनीहरूले बुझ्ने भाषामा सम्झाइबुझाइ गर्नुपर्छ ।
कसैले ल्यापटपको डिमान्ड गर्छन्, त्यो पाएपछि आफ्नो प्राथमिक कामकाज÷पढाइ नै छाडेर चौबीसै घण्टा त्यसैमा झुण्डेर बस्छन् । यस्तो खालको डिमान्ड पूरा गरेर पनि त्यसको औचित्य भएन । हरेक अभिभावकले छोराछोरीको माग पूरा गर्नुपूर्व आफ्नो क्षमता र छोराछोरीको आवश्यकता के हो भन्ने कुरा बुझ्नु जरुरी छ ।
छोराछोरी बुझ्दै नबुझ्ने हुँदैनन् । अभिभावकले उनीहरूलाई कुन रूपमा सम्झाउँछन्, त्यसमा भर पर्छ । आफूले गरेको डिमान्ड पूरा नहुँदा छोराछोरी स्वाभाविक रूपमा दुःखी हुन्छन् । यस्तो अवस्थामा अभिभावकले आफ्नो विवेक लगाउन सक्नुपर्छ ।