प्रसंगवश मैले रविनालाई सोधें, 'तिम्रा श्रीमान के काम गर्नुहुन्छ बहिनी ?' हठात् उनका आँखा भरिए । मैले उनीसँग माफी मागेँ । उनलाई सोध्न नहुने थियो यो प्रश्न ।
रोल्पा लिवाङबाट राजधानी छिरेर संघर्ष गरिरहेकी उनका पति सेनाबाट १२ वर्षअघि मारिएका रहेछन् । माओवादी गतिविधिमा संलग्न भएको आरोपमा सुराकी लगाएर मारेको रहेछ, सेनाले उनलाई । जंगलै-जंगल हिँडाएर, पानीमा डुबाएर यातना दिएर गोली हानेको रहेछ, सेनाले उनको लोग्नेको छातीमा ।
उषा हमाल |
पति मारिँदा उनले उनले चौबीसमात्र टेकेकी थिइन् र उनका दुई सन्तान भर्खरका चिचिला थिए । अहिले उनीहरू केही हुर्किएका छन् र सरकारी स्कुल पढ्दैछन् । सरकारी स्कुलमा फि तिर्नु नपर्ने हुँदामात्र उनले छोराछोरी पढाउनसकेकी रहिछन् । अन्यथा सानो चियाखाजा पसल चलाइरहेकी उनले कसरी बालबच्चा पढाउने ? उनलाई कुनै संघ/संस्था, पार्टी र सरकारले केही सहयोग गरेको छैन । कसैले आफ्नालागि केही सहयोग गर्छ भन्ने कुरामा उनमा अब झिनो आशा बाँकी रहेको पनि छैन ।
एकल महिलालाई समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आइसकेको पनि छैन । केही गरी खानलाई पनि कैयौंपटक समाज बाधक भएर तेर्सिन्छ । साँझ नपरी हतार-हतार पसल बन्द गर्नुपर्छ । ग्राहकहरू उनको यौवन ताकेर पसलभित्र पस्न खोज्छन् ।
उनका पति त्यतिबेला नै चल्तापुर्जा र शिक्षित रहेछन् ।आफ्नो पढाइ-लेखाइ नभएकी उनका पतिले उनले नपढेकोमा पछुताउ नगर्न सम्झाउँथे र आपmनो जीवनको गतिलो खम्बा आफ्नो लोग्ने भएकोमा उनलाई गर्व थियो । 'तर खै पढ्नु त आफैले पो पर्ने रहेछ । आपmनोलागि आफैमात्र पो भइँदो रहेछ', उनले भनिन् । त्यस्तै कथा छ, हीरामाया तामाङको । काभ्रे जिल्लाको दुर्गम गाउँमा उनका अठ्ठाईस वर्षे पतिलाई अनाहकमा मारेका थिए, माओवादीले । उनीहरू विरुद्ध सेनालाई सुराकी दिएको आरोप लगाएका थिए, उनीहरूले । उनका दुई चिचिला छोराछोरी र उनकै अगाडि निर्घात कुटेर मारेका थिए, उनका पतिलाई । अहिले हीरामाया बनेपामा चियापसल गर्छिन् र छोराछोरी सरकारी स्कुलमा जेनतेन पढ्छन् । उनले गाउँ छोडेर विस्थापित भएको धेरै भैसकेको छ । उनको गाउँमा रहेको केही जमिन र सानो घर त्यति बेलैदेखि माओवादी कार्यकर्ताका कब्जामा छ ।
जनयुद्ध चलिरहेकै समयमा एउटी एकल महिलासँग मेरो जिल्ला शिक्षा कार्यालय सल्यानमा साक्षात्कार भएको थियो । सेतो पहिरनमा उनी शिक्षा कार्यालयमा आफ्ना छोराछोरीका लागि छात्रवृत्ति पाउन अनुरोध गर्न आएकी थिइन् । उनका पतिलाई उनकै अगाडि, नाबालक छोराछोरीकै अगाडि माओवादीबाट नृशंस हत्या गरिएको रहेछ । यो हत्यापछि उनीहरूको तहसनहस जीवनमा सुधार आउन सक्ने सबै बाटा थुनिए । कहीं कतै राहतको गुञ्जाइस रहेन ।
सरकारबाट छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था भएको कुरा कसैले उनलाई सुनाएको रहेछ । उनी हस्याङ-फस्याङ गर्दै झन्डै कार्यालय बन्द हुने समयमा आइपुगेकी थिइन् । त्यहाँ उनी आफ्ना सबै कुरा भन्नसक्ने अवस्थामा पनि थिइनन् । त्यतिबेला गाउँ छाड्न जनसरकारको अनुमतिपत्र लिनुपर्ने आदेश थियो र त्यो अनुमतिपत्र सेनाले भेट्टाएमा ठूलो कारबाही हुने गथ्र्यो । अरुले जस्तै उनले पनि जनसरकारको अनुमतिपत्र कतै ढुङ्गाले च्यापेर आएकी रहिछन् । छोराछोरीका लागि उनले सरकारी छात्रवृत्ति लिएमा जे पनि हुनसक्ने धम्कीसमेत उनलाई दिइएको रहेछ ।
मलाई लाग्यो- कुनै महिलालाई उमेरदार देख्दैमा उनका पतिबारे सोध्न नहुने र कुनै केटाकेटीलाई उनका बाबुआमाबारे प्रश्न गर्दा विचार पुर्याउनुपर्ने स्थितिबाट हामी गुजि्ररहेका छौं । यत्रतत्र भेटिन्छ, यो संवेदनशील स्थिति । मलाई यहाँनेर एउटा दृश्यको सम्झना हुन्छ- माओवादी युद्ध चरम अवस्थामा पुगिरहेको बेला अमर प्रहरीहरूको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा भेला भएका अमर प्रहरीका पत्नीहरू सयौंको संख्यामा सेतो पहिरनमा उपस्थित थिए । यो दृश्य देख्दा कार्यक्रमका उद्घोषक नै भक्कानिएर रुन थालेपछि ती सहिद पत्नीहरूलाई त झन् सम्झाउन सक्ने कसले ! त्यो हृदयविदारक दृश्य देखेको कति नै भएको छ र !
युद्ध कसका लागि लडियो र कसका लागि समाप्त गरियो, त्यो आपmनो ठाउँमा छ, तर यी एकल महिला र उनका बालबच्चाहरू जस्ताका लागि युद्ध कहिल्यै समाप्त नहुने आगो भएर बलिरहेको छ । रविनाले भनेकी थिइन्, 'मारिने त एकपटक मारिएर गए, हामी बाँच्ोकाहरूले पलपलमा मर्नु परिरहेको छ ।'
कसरी भन्ने अब युद्ध समाप्त भएको छ ? युद्ध कागजमा समाप्त भएको होला । गोलीगठ्ठामा समाप्त भएको होला । सम्झौताहरूमा युद्ध रोकिएको होला । तर के रविनाहरू जस्ताका जीवनमा युद्ध समाप्त भएको छ ? उनका छोराछोरीको पेटमा दन्किरहेको भोकको युद्ध समाप्त भएको छ ? कहिले पनि नपुरिने घाउ थोपरेको छ, जनयुद्धले हामीमाथि । हामी ती घाउहरू महाभारतको श्रापित पात्र अश्वस्थामाको कहिले पनि निको नहुने घाउजस्तै सहिरहेका छौं । यी घाउ निको पार्न सक्ने त अब कुनै उपचार छैन । जुन युवतीका लोग्ने मारिएका छन्, जुन बालबच्चाका बाबुआमा मारिएका छन्, जुन बाबुआमाका छोराछोरी मारिएका छन्, उनीहरूको मुटुमा दुखेको घाउ कसले निको पार्न सक्छ ?
तर राष्ट्रका चालकहरू गतिला भएका भए रविनाका छोराछोरीजस्ता केटाकेटीको पेट भोको नरहनुपर्ने हो । आफ्ना बाबु गुमाएका बालबच्चाको शिक्षा, स्वास्थ्य र भरणपोषणका लागि रविनाजस्ता युवतीहरूले आँसु बगाउनु नपर्ने हो ।
त्यस्तै एकल महिलाका सन्दर्भमा कुरा गर्दा जनयुद्ध एउटा पाटो हो भने अर्को पाटो वैदेशिक रोजगारी पनि हो । दिनहुँ वैदेशिक रोजगारीमा गएका युवायुवतीका मृत शरीर भित्रिन्छन् । ती अनाहकमा ज्यान गुमाएका युवाका उमेरदार पत्नी र बालबच्चाले भोग्ने पीडा पनि उस्तै हुन् । वैदेशिक रोजगार फेरि अर्को जनयुद्ध भएर तेर्सिएको छ, हाम्रोसामु ।
तर त्यसरी पति गुमाएका एकल महिलालाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण भने पीडादायी छ । कमजोर र असहायलाई हेप्ने र बलियाको तलुवा चाट्ने प्रवृत्ति हाम्रो समाजमा यत्रतत्र हावी छ । यही नकारात्मक प्रवृत्तिका कारण एकल महिला, टुहुरा बालबालिका, अशक्त बुढाबुढीजस्ता सहयोगको जरुरत भएकाहरू नै हेपिएका छन् र सहयोगविहीन भएका छन् । यही प्रवृत्तिका कारणले नै एकल, असहाय र बुढी महिलाहरूलाई बोक्सीको आरोप लगाएर यातना दिइन्छ । पुरुषलाई बोक्साको आरोप लगाएर यातना दिएको खबर सुन्नमा आउँदैनन् ।
युद्धविराम घोषणा भएपछिका दिनहरूमा सरकारी र गैरसरकारी संघ/संस्थाका ओठहरूमा शान्ति पुनःस्थापना, द्वन्द्व व्यवस्थापन, द्वन्द्व प्रभावित क्षेत्र, द्वन्द्व पीडित महिला र बालबालिकाहरूजस्ता शब्दहरूले अत्यधिक नृत्य गरिरहेको देखिन्छ । तर के द्वन्द्व व्यवस्थापन भनेको हातहतियारको व्यवस्थापनमात्रै हो त ? युद्धबाट तहसनहस भएको मानवीय पक्षको व्यवस्थापन प्राथमिकतामा पर्नुपर्ने हैन र ? युद्धविरामपछि द्वन्द्वपीडित महिला र बालबालिकाका नाममा अर्बौंका योजनाहरू तर्जुमा भएका खबरहरू सुन्नमा नआएका हैनन्, तर देख्नमा भने आएनन् !
-उषा हमाल
No comments:
Post a Comment