Saturday, 28 January 2017

अन्तिम मान्छे

                                                                                                       - नव सिलवाल

“ति मी मलाई छाडेर कसरी जान सक्छौ यसरी ? हामी जीवनको अन्तिम सँघारमा पुगिसकेका त छैनौँ ।”
सकिता कदाचित् आवेशमा थिइन । ऊ आफ्नो अनुनयलाई कृत्रिम आवरण दिइरहेकी थिई । आवाजमा न्यानो अनुरोधभन्दा औपचारिकता बढी मिसिएको थियो ।
मीनबहादुर चुपचाप उभियो ।
ऊ प्रतिरोध जनाउने परिस्थितिमा थिएन । ऊ जीवनको यो परिच्छेदलाई यहीँ छाडेर अगाडि बढ्न चाहिरहेको थियो । सायद सकिताको स्वच्छन्दता र अराजकताबाट पर अलग इतिहासको हिस्सा बन्न चाहन्थ्यो ।

“जीवन यात्राको कुरा गर्ने गथ्र्यौ नि तिमी ? अब आएर यात्रामा म रहन्न भनेर कसरी सम्झायौ तिमीले आफैँलाई ?” सकिता भावनालाई शब्दमा पोखिरहेकी थिई ।
अब फेरि पुरानो सम्झौताको प्रसंग सम्झाउनु जरुरी छ र ? उसको अनुहारमा विस्मयका भाव बेजोडले उत्रिँदै बिलाउँदै गरिरहेका थिए ।

“मसँग तिमीलाई दिने कुुनै जवाफ छैन । उत्तर दिन आवश्यक पनि ठान्दिनँ । तिमी मभित्र मक्किएका सम्झौताका उल्झन खडा गर्ने कोसिस नगर । एकतर्फी सम्झौताको के प्रसंग उठाउने अब ?”
मीनबहादुरको आवाजमा असीम आवेश मिसिएको थियो । सायद यो स्वाभाबिक थियो ।
“बस यहाँ आरामले । तिमीले भुल्यौ, आफ्ना अठोटहरू अनि ती वाचाहरू ?” फेरि प्रश्नहरूलाई जोड्ने प्रयास गरी सकिताले ।
ऊ चुपचाप पुरानो काठको मेचमा थचक्क बस्यो । लामो सुस्केरा निकाल्यो ।

“तिमी थाकेका त छैनौ, किन फेरि सुस्केरा ?” सकिता प्रश्नमाथि प्रश्न थोपर्न अभ्यस्त लाग्छे ।
ऊ सायद परिवर्तन चाहन्छ । आवाजमा तिक्तता झल्किन्छ । “तीन वर्षसम्म सँगै बस्दा हामीबीच कुनै त्यस्तो त भएन, जसले गर्दा आज तिमी मलाई रोक्न सक । हामीले एकअर्कालाई माया पनि त गरेनौँ सायद ।”

मीनबहादुरले आफ्नो आवाजलाई सुस्तरी ओकलेको छ । मानौँ ऊ अगाडि हिँड्न पर्ने बाटोहरूका लागि शक्तिको सञ्चय गर्न चाहिरहेको छ । सकिता चुपचाप उसलाई ताकेर हेरिरहेकी छे ।

“तिमीलाई स्वच्छन्द बाँच्नका लागि कतिसम्म म पर्दा हालिरहन सक्छु र ? तिम्रा भन्नेहरूबाट कहिले तिमी थाक्छौ होला र मेरो पालो आउला । तिमीलाई माया गर्न भनेर म कतिसम्म कुरिरहन सक्छु भन तिमी ?” मीनबहादुरको आवाजमा वेदना भरिएको सहजै अनुमान गर्न सकिन्छ ।
सकिता शब्दविहीन देखिन्छे । ऊ आँखाका परेलीभित्रबाट जवाफ हेर्न सक्दिन ।

“के म यति टाढाको पराइ भइसकेँ तिम्रा लागि ? जीवन भोगाइको परिवेश त फरक भएको होइन हाम्रो !”
“तिमीलाई माया गर्नेहरूको भीडमा म त पर्दिन नि हैन र ? एउटै छानोमुनि बस्दैमा एकअर्काप्रति समर्पणका भावहरू प्रकट हुनुु आवश्यक पनि त हुँदैन सायद ।”

“मैले तिमीलाई भन्ने हो कि तिमीले बुझेर गर्ने हो ?” सकिता आँखाभरि आँसु उभारेर शब्दहरू ओकल्न अभ्यस्तझैँ देखिन्छे ।

“एउटी जवान आईमाईले के चाहन्छे र कसरी चाहन्छे भन्ने कुरा तिमीले बुझ्न सक्दैनौ भन्ने लागेर नै अन्यत्र लागेकी हुँ । मैले धेरै प्रतीक्षा गरेकी थिएँ तिम्रा स्पर्शहरूको । यसमा मेरो केही पनि दोष छैन । मेरो तिर्सना मेट्न तिमी पानी लिएर आएनौ र म आफैँ पँधेरो धाउन थालेँ । एउटा जवान आईमाईलाई रोटी र कपडाले मात्र खुसी बनाउन सकिन्छ भनेर कसरी अनुमान लगायौ तिमीले ?” उसले आफ्नो कुरालाई सरासर राखी र आफ्नो मन हलुका बनाई ।

मीनबहादुर चुपचाप उभिएको छ ठिंग । किंकर्तव्यविमूढ छ । सकिताले उसको पुरुषत्वमाथि भयानक प्रहार गरेकी थिई सायद ।

आफ्ना विगतका सम्झौताहरूको परिवेशमा उसले आफूलाई उभ्याउन खोज्यो । उसले जसलाई इज्जत र आदर ठानेको थियो, त्यसलाई सकिताले कमजोरीको रूपमा लिएकी थिई । यो यथार्थ जानेर उसलाई दु:ख लाग्यो । यथार्थहरू पीडादायी नै हुन्छन् ।

एकअर्कालाई बुझ्ने र अपनाउने दृष्टिकोणमा भिन्नता देखिएको थियो । एउटा लोग्नेमान्छे र स्वास्नीमान्छेबीचमा यौन र भौतिक उपभोगको मात्र झिनो फासला हुन्छ भनेर सोचेको थिएन उसले । सम्बन्धहरूलाई परिभाषित गर्न नसक्दा यस्ता उल्झनहरू बेहोर्नुपर्ने अवस्था पैदा हुने रहेछ । आफूभन्दा अरूको ख्याल बढी गर्न थाल्यो भने उल्झनहरू बढ्ने रहेछन् जीवनमा ।

ऊ यथार्थको भुमरीमा पछारिएको थियो । समयले ल्याउने परिवर्तनहरू प्रिय मात्रै हुन्छन् भन्ने पनि त हँुदैन । आफूबाट समेटिन नसकेको जीवनलाई फर्केर यसो चिहाउन खोज्यो उसले । शून्यतामा बिलाउन सकेनन् ती यादहरू । उसको शालीनता र सदाचारले उसलाई चोखो देखाउन सकेको थिएन । जीवनका अवयवहरू छताछुल्ल पोखिएका छन् परिवेशभरि । ती अवयवहरूलाई सँगालेर आफ्नो परिभाषा निर्माण गर्न पनि सकेको छैन उसले ।

फकल्यान्डको लडाइँले निमिट्यान्न बनाउन नसकेको स्पर्शविहीन भावनाहरू चोटग्रस्त बनिरहने गरेका छन् । अनायास सुरु भएको थियो त्यो कहानी, जसलाई उसले कर्तव्य मानेको थियो, त्यो अन्यथा बनेर उभिएको छ । ऊ पीडादायी विगतलाई पछाडि छाडेर अगाडि बढ्न कटिबद्ध बनेको छ एकप्रकारले । ऊ भुल्न चाहन्छ त्यो कहालीलाग्दो विस्मयकारी विगतलाई ।

वातावरण चिसो छ । परिस्थिति उसको पक्षमा छैन सायद । ऊ लडाइँ जिते पनि जीवन हारेको मान्छे ठान्छ आफूलाई । उसका आफ्ना भन्ने मान्छेहरू छैनन् । जसलाई उसले आफ्नो ठानेको थियो, उ विद्रोही बनेकी थिई । ऊ जाओस् पनि कता ? जाने कुनै ठाउँ छैन । कुनै गन्तव्य छैन ।

ऊ लडाइँबाट बाँचेर घर फर्कियो । कुन प्रयोजनका लागि बाँच्यो ? त्यो उसैलाई थाहा छैन । उत्तरविहीन सोधाइहरूको शृंखलाहरू समेटेर ऊ अविछिन्न उभिएको मान्छे फगत मान्छे हुनु र उपयोगिता नहुनुको दोसाँधमा असरल्ल छ । ऊ बेजोडले परित्यक्त बनेको छ । जीवनले उसलाई यसरी अपरिभाषित प्रस्तुत गर्न आजसम्म सम्हालेर राखेको थियो भनेर विश्वास गरोस् पनि कसरी ?

मन्दमन्द चिसोले काठमाडौँको वातावरणमा कठोरता भर्दै थियो । मीनबहादुरले झोलाभित्र जीवनका उल्झनहरूलाई थन्क्याइरहेको छ । जीवनले थुप्रै थकाइ दिएको छ उसलाई । विद्यालयदेखि गाउँ र बस्तीभरि ऊ एउटा पहिचानभन्दा पनि अरूको सहयोगीको भूमिकामा पोखिइरह्यो । बस्तीबाट बाहिरिएपछि ऊ एउटा सडकमा बाँच्ने अभ्यस्ततामा पुग्यो । गरिएका उपलब्धिहरूले कुनै रचनात्मक परिणाम नदिएपछि ऊ आफ्ना उपलब्धिविहीन यथार्थहरूलाई किल्लामा झुन्ड्याएर फुर्सद लिन हतारिएको पनि थिएन । ऊ सधँै अघि बढ्ने तरखरमा हुन्छ तर अगाडिको यात्राले उसलाई अड्काउने गर्छ । एउटा अथक् र पृथक् हिँडाइको अपेक्षा बोकेर ।

भीडमा आफ्नो भन्ने कोही छ कि भन्ने आशा पनि असमञ्जस्यतामा बदलिइरहेको हुन्छ । मान्छे, मान्छेहरूबाट किन भागिरहेका हुन्छन्, उसलाई थाहा छ्रैन । आफ्ना युद्धहरूसँग आफैँ लड्ने हो । अर्थहरूको डुंगुर लगाएर अनुमानको खेती उमार्नेे अभ्यास निस्तो लाग्छ ।

उन्मुक्तितिरको आवाज या एउटा सानो प्रतिरोध ऊ फरक आयाम अपनाउन चाहन्छ । ऊ उपलब्धिको भोको छ । पाउन नसकेका उपलब्धिहरूप्रति उस्तो आसक्त पनि छैन । उसको प्रयत्न जारी नै छ र निरन्तर छ । उसको आँखामा एउटा सपना थियो, जसको पछाडि हिँडेर मीनबहादुरले धेरै नै हन्डर खाएको छ । धेरै नै जोडले हार र उपेक्षाहरूबाट पिटिएको छ । तर, उत्साहहरूलाई मर्न दिएको छैन उसले । ऊ एक्लो यथार्थको परिधिमा बाँधिएर संकुचित बाँचिरहन सक्दैन ।

यस्तै सोचहरूलाई समेटेर नयाँ युगको आत्मसात् गर्ने परिकल्पना गरेर बिस्तारै पाइला बढाइरहेको थियो । बाटो सुनसान थियो । उसको गन्तव्य कतातिर थियो, उसलाई राम्ररी थाहा थिएन । ऊ बाटोले जहाँ पुर्‍याउँछ, त्यहीँ जान चाहिरहेको थियो । सकिता उसको बाटो छेक्न उभिएकी थिई वा हिजोका साथहरूको क्षतिपूर्तिको हिसाब खोजिरहेकी थिई, उसैलाई थाहा थिएन ।
“जाने नै भयौ त भन्या तिमी मीनबहादुर ?” उसले हतास प्रश्न तेस्र्याई ।

व्यवधानहरूबाट म भागेको होइन भनेर स्पष्टीकरण दिन चाहेन उसले सायद । “मेरो जानु र नजानुको बीचमा तिमी कुनै परिस्थिति निर्माण गर्न नखोज । म जान्छु या जान्न । त्यो अब सान्दर्भिक अर्थ राख्ने कुरा पनि भएन ।”
सकिताले अन्तिम प्रयास गर्न चाहिन सायद ।
“तिमी यहाँबाट गई हाल । त्यही नै ठीक होला मलाई ।” ऊ स्तब्ध पनि छैन ।
“नरहे बाँस न बजे बाँसुरी । तिमीबिनाको परिवेशले मलाई बढी स्वतन्त्रताको अनुभूति दिने छ भन्ने मलाई लाग्छ ।”
“तिमी यहाँबाट गैहाल र छिटो जाऊ । सकिता आवेशमा थिई ।”

मीनबहादुरले फर्किएर सकितातर्फ हेरेन । बाटोमा सन्नाटा व्याप्त छ । ऊ बाटोमा मिसिएको छ । बाटोले उसलाई आफ्नो ठानेको पनि छैन सायद । अलिकति हिँडेपछि पाइलाहरू बोझिल भएजस्तो महसुस गर्‍यो उसले । सायद सकिताले बढाएको उल्झन र उसले पुर्‍याएको चोटलाई भुल्न चाहन्छ ऊ ।
ऊ बस स्टपमा पुगेर उभियो । बस चढेर अब कहाँ जान्छ, उसैलाई थाहा छैन । एउटा झोला छ अनि ऊ छ । ऊ लामो सुस्केरा हालेर नजिकैको बेन्चमा थचक्क बस्यो । दुइटा हत्केलाले अनुहार छोप्यो र लामो लामो श्वास फेर्‍यो । मान्छेहरूको भीडमा उसले आफूलाई एक्लो महसुस गर्‍यो ।

अनायास कुममा कसैले घचघचायो उसलाई । उसले टाउको उठाएर हेर्‍यो । सकिता आँखाभरि आँसु भरेर उसको अगाडि उभिएकी थिई ।
“तिमीबिना म बाँच्ने कुरा भएन । तिमी फर्किंदैनौ भने म पनि बाँच्दिन अब । सायद आँधीखोलामा हामफालेर मर्छु म ।” उ हुँक्क हुँक्क गरेर रुन थाली ।

सकिताको आँखाबाट झरेका आँसुका बुँदहरू मीनबहादुरको कमिजको फेरमा तप्किरहेका थिए । उसका आँसुहरूले मीनबहादुरको मन रुझाइरहेको अनुभूति गहन बनिरहेको थियो ।
सकिताले उसको हात समातेर उठाई र अघि बढ्न थाली । ऊ बालकझैँ सकिताका औँला पक्डेर पछि पछि हिँड्न थाल्यो ।

बाटोमा कुनै अवरोध छैन । सकिता सुँक्कसुँक्क रोइरहेकी थिई । उसले केही प्रतिक्रिया जनाएन । घरनजिक पुगेर उसले आफूलाई फरक महसुस गर्‍यो ।

“अब भित्र हिँड । मलाई नाम देऊ तिमी । भोलि मन्दिर गएर मलाई विवाह गर । म आजैबाट प्रतिज्ञा गर्छु, तिम्रो मात्र रहने छु । हिजोसम्मको मेरो जिन्दगीको आजबाट अन्त गर्दैछु म । मलाई यौन होइन, माया चाहिन्छ । मलाई अस्थायी ग्राहक होइन, स्थायी जीवन चाहिन्छ । आऊ मलाई अपनाऊ । म तिम्रो जीवनमा नयाँ वसन्त बनेर छाउने छु । तिमीलाई जीवनका हरेक मोडमा साथ दिनेछु । म आफ्नो पवित्रतालाई पुन: प्रमाणित गरेर मात्र मर्न चाहन्छु । हिजोका पीडा र अस्तव्यस्तताहरूले अनि अभाव र बाध्यताहरूले मलाई जहाँजहाँबाट गुज्रिन लगायो, त्यो यात्रालाई म बिसाउने छु । यो जीवनको बाँकी यात्रा म तिमीबाट सुरु गरेर तिमीमै अन्त गर्न चाहन्छु । म आफूलाई सडकभन्दा भिन्न परिचयमा प्रस्तुत गर्न चाहन्छु ।”

सकिताको मनभित्र आँधी चलिरहेको थियो । ऊ निस्वार्थ र साँचो आवाज बोलिरहेकी थिई । घरबाहिर ती पुराना अनुहारहरू जम्मा भएका थिए । ऊ फटाफट भित्र पसी । “पख म नुहाएर मन्दिर पुगेर पवित्र भएर आउँछु । एक चिम्टी सिन्दुर भरिदिनु मेरो सिउँदोमा । बस् तिमी मात्र मेरो जीवनको अन्तिम मान्छे हुनेछौ ।”

घरभित्रबाट उसको आवाज हुर्रिंदै बाहिरसम्म आइपुग्यो । बाहिर जम्मा भएका अनुहारका भावहरू बिस्तारै फेरिइरहेको थियो ।

मीनबहादुरभित्र पनि सकिताप्रति माया भरिएर आयो । लामो श्वास निकालेर ऊ पिँढीको डिलमा थचक्क बस्यो । पर कतै क्षितिजमा सानो गन्तव्यको आकृति उसको आँखासम्म ठोक्किरह्यो । 

Monday, 16 January 2017

छोरीको आशीर्वाद आमालाई

खोलामा परेको एउटा पात बग्दाबग्दै कहाँ पुग्छ, थाहा हुँदैन । हावामा उडेको कपास कहाँ पुग्छ, पत्तो हुँदैन । आकाशमा बादलको आकार छिनछिनमा परिवर्तन भएजस्तै हाम्रो जीवनमा पनि थरीथरीका मोड एवं परिस्थिति आउँछन् अनि जिन्दगीका रूपरेखाहरू फेरिएर जान्छन् । आफूले गर्न खोजेको काम, आफ्नो चाहना सबै हावामा उड्दै कता पुग्छन् कता ? हामी बालक हुँदँ मात्र हो केही सामान चाहियो कि बेसरी चिच्यायो अनि पाइएन भने क्वाँ–क्वाँ रुन सक्छौं । ठूलो हुँदै गएपछि त्यस्तो नहुने रहेछ । आफूले चाहेको सामान नपाए पनि त्याग्ने बानी पर्दै जान्छ । 
जति ठूलो हुँदै गयो मन पनि कठोर हुँदै जान्छ । आमा हो गर्नुपर्ने कर्तव्य पूरा गर्नैपर्‍यो । आफ्नो चाहनाभन्दा बढी छोराछोरीको खुसीका लागि बाँचे तिमीहरूलाई हुर्काउनमा नै मेरा सबै दिन गैरहेका छन् । म कराउँछु, छोरीछोरीलाई तिमीहरूले गर्दा मैले दु:ख पाएको । मलाई गर्न मन लागेको कुरा गर्न नसकेको पनि तिमीहरूले गर्दा नै हो । खोइ मैले त्यसको बदला के पाएँ ? न छोरा मैले भनेअनुसारको छ । न छोरीले नै मेरो मनको कुरा बुझ्छे । मैले यसरी गाली गर्दा वा कराउँदा छोरी चुप लागेर बस्छे, पहिले सानी छँदा छोरी रुन्थी अनि आफैले नै फकाउनुपर्ने गरी तर अहिले छोरी बस चुप लागेर मेरो गाली सुनेर बस्छे । 
हुन त विवाह गरेकोमा मलाई दु:ख लागेको छैन । मेरा प्राणभन्दा प्यारा छोराछोरीदेखि मलाई रिस पनि उठेको छैन । उनीहरू त मेरा लागि मेरो प्राणवायु नै हुन् । यो गाली सिर्फ मेरो मनमा जम्मा भएको ज्वालामुखी हो जसको हावाले कहिले छोराछोरीलाई पोल्छ त कहिले श्रीमान्लाई ।
सबैजना मेरो बानीका बारेमा परिचित भैसके....सबैजना म कराएको सुनेर चुप बस्छन् अनि पछि मलाई जुन कुराले खुसी तुल्याउँछ र म जुन कुरा देखेर खुसी हुन्छु त्यही गर्छन् । छोरीले १०–१२ दिनसम्म मलाई घरको कामकाजमा सघाइदिन्छे अनि छोरा बाहिरका कुरा सुनाउँदै उसले हेरेका चलचित्रहरूको कहानी सुनाउँदै र जोक भन्दै मलाई हँसाइरहन्छ । उहाँले सम्झाउनुहुन्छ–‘मन भारी हुँदा चित्र कोर्ने गर....तिम्रो कला धेरै राम्रो छ, बानी छुटाउनु हुँदैन .....।’ म पनि पहिले–पहिलेका कुरा सम्झेर मन हल्का बनाउँछु । मेरो चित्रकला हेरी सबैले दिल खोलेर त्यसको प्रशंसा गर्थे । विवाहपछि मेरो हौसला उहाँ नै हुनुहुन्छ । सधैं मलाई क्यानभासमा रंगसँग खेल्ने मौका दिनुहुन्छ ।  
मेरा चाहनाजस्तै कैद भएका मेरा सबै चित्रकला देखेर मलाई कहिलेकाहीँ झर्को लागेर आउँछ । कति कोठामा मात्र बसिरहन्छन् यिनीहरू.... मैले छोराछोरीलाई जस्तो यिनीहरूलाई हुर्काउन सकिन केवल जन्म मात्र दिएँ । पहिले मौका पनि नआएको होइन प्रदर्शनीमा सजाउने तर मात्र बाहिरको संसार आउन नचाहने मेरो आफ्नै संकोचले मेरा चित्रहरू पनि घरमै कैद भए । अब छोराछोरी हुर्किए, उनीहरू कलेज जाँदा मसँग दिनभरि प्रशस्त समय हुन्थ्यो रंगसँग खेल्ने, क्यानभासमा आफ्ना भावनाका रेखाहरू फैलाउन....छोरी कलेजबाट फर्केर सीधा मेरो काम गर्ने कक्षमा आउँछे ....खोई आमा आज के बनाउनुभयो हेरौं न भन्दै.... अनि केही नयाँ गरेको छैन भने कराउँछे किन दिनभरि यत्तिकै बस्नुभएको आमा तपाईं ? राम्रा–राम्रा सिर्जना गर्नुहोस् न मलाई आमाको नयाँ–नयाँ कला हेर्न मनलाग्छ ...आमाको सिर्जना देखेर मलाई मेरो दिन नै सफल भएजस्तो लाग्छ ... ...भन्थी । ठ्याक्कै उसकै बुवाजस्तो बोल्छे यो । 
मलाई हौसला दिने काम सिकेकी छ उसको बुवाबाट । उहाँले भनेजस्तै गरी अब छोरीले भन्न थाली । सानी छँदा म नभई नहुने जहाँ गए पनि पछिपछि आउने छोरी अहिले ठूली भई । अब बुवाको पछि लाग्ने जुन कुरामा पनि बुवाकै सल्लाह चाहिने । म पनि खुसी छु समय परिवर्तन भएकोमा । अब छोरीले आफ्नो भविष्य राम्रो बनाउँछे भन्नेमा मलाई पूृर्ण विश्वास छ उसको हरेक नयाँ पाइलामा मेरो साथ छ । 
एकदिन राति खाना खाइसकेपछि छोरीले भनी–आमा, तपाईंका सबै कलाकृतिलाई म एकदिन बाहिर लिएर जान्छु है, कसैलाई देखाउनु छ । उसले मन परायो भने आमाको भविष्य नै अझ उज्ज्वल हुन्छ । छोरीले देखाउन लान्छु भन्नेबितिकै मलाई अझ बढी चित्र बनाउन मन लाग्यो । मैले दिनका दिन बिस्तारै समय बढाउँदै लगें चित्र कोर्न । 
एकदिन यस्तो दिन पनि आयो मेरा वर्षौंदेखि थुप्रिएका चित्रकला चाङचाङ पारी छोरी र छोरीका साथीहरूले लिएर गए । मैले कति सोधें छोरीलाई कता लान लागेको भनेर तर पछि भन्छु भन्दै फकाए । अझ बुवालाई पनि थाहा नदिनू है भन्छन् । मैले राति उहाँसँग कुरा गरें छोरीले मेरा सबै पुराना र नयाँ चित्र घरबाट बाहिर लगेकी छे तर कहाँ हो भन्दै भन्दिन । ए हो र... भनेर उहाँ पनि मोबाइलमा गेम खेल्न व्यस्त हुनुभयो । मेरो कुरामा उहाँले ध्यान दिनुभएन । यस्तै हो उहाँ कहिलेकाहीँ मलाई जानी–जानी बेवास्ता गर्नुहुन्छ । त्यस रात खुलदुल–खुलदुलमै कुन बेला निद्रा लाग्यो पत्तै भएन ।  
मेरा चित्रकलाहरू लगेको दुई हप्तापछि बिहान ९ बजे छोरीले आमा आज तपाईंलाई बोलाएको छ त्यो मान्छेले जसकहाँ मैले तपाईंका कृतिहरू लगेर दिएकी थिएँ । त्यही भएर आज ठ्याक्क चार बजे पुल्चोकमा आउनु है अलि राम्री भएर, हुन त मेरी प्यारी आमा त्यसै राम्री हुनुहुन्छ..... भन्दै हुइँकिएर गई केही सोध्नै नपाई । दिनभरि मन उताउता डुलिरह्यो कता लगेकी छे यो छोरीले मेरा सबै कृति, त्यो मान्छेले मलाई नै किन बोलाउनुपरेको खुरुक्क छोरीसँगै आए पनि हुन्थ्यो नि....भैहाल्यो म उहाँलाई फोन गर्छु सँगै छोरीले भनेको ठाउँमा जान । फोन गरेर थाहा भयो उहाँ पनि व्यस्त रे अफिसको मिटिङमा..... । 
म हिँडेर पुल्चोकसम्म गएँ । त्यहाँ पुगेपछि छोरीलाई भेटें । छोरीले मलाई एउटा नयाँ ग्यालरीमा लिएर गई । त्यहाँको परिवेश देखेर मेरो खुसीको सीमा नै रहेन । छोरीले लिएर गएको गेटमै ब्यानरमा ठूल्ठूला अक्षरमा लेखिएको थियो चित्रकला प्रदर्शनी भनेर । अनि सुन्दर अक्षरमा लेखिएको थियो मेरो नाम पनि । म एकछिन लाटीजस्तै भएँ । ग्यालरीको कोठामा पुगेपछि मैले अनौठो अनुभव गरें । मलाई लाग्यो मेरा चित्रकलाहरू सबै खुसी छन् भित्तामा सजिन पाएकोमा । सबैजसो चित्र मलाई देखेर मुस्कुराइरहेका छन् जस्तो लाग्यो । भित्र छोरीका साथीहरू अनि उहाँका साथीहरू पनि हुनुहुन्थ्यो । एकछिनपछि उहाँ पनि आउनुभयो ठूलो स्वरमा ....सरप्राइज.... भन्दै । दुई हप्ताको प्रदर्शनी । मेरो बायोडाटा पनि त्यहाँ राखिएको देखें मैले । म निकै खुसी भएँ रुन मात्र सकिंन ।  
यो सब गर्न उसको बुवासँगै सल्लाह लिएकी थिई छोरीले । उहाँले पनि हामीलाई सक्दो सहायता दिनुभएको छ भूतकाल अनि वर्तमान कालमा पनि । अब मेरो काम बाँकी रह्यो मेरा सबै साथी अनि आफन्तहरूलाई पनि निम्तो दिने मेरो चित्रकला प्रदर्शनीका लागि । आज म बिउँझें छोरीको कामले गर्दा । आजका छोराछोरीहरू खुम्चिएर बाँच्न सक्दैनन् हामीजस्तो । आफूले गर्न सक्ने काम गरेरै छोड्छन् । बाहिरको मान्छेलाई थाहा नभए पनि मलाई थाहा भयो छोरी मेरी महान् छे, मलाई बाटो देखाउने भएकी छे, आमालाई आशीर्वाद दिन सक्ने भएकी छे । 


http://bit.ly/2iTAFWI

Monday, 26 September 2016

पैसा के पैसा ?

शास्त्र भन्छ, धन र यौनले आजसम्म यो संसारमा न कोही सन्तुष्ट भएर मर्‍यो न भविष्यमा नै मर्नेछ । यो दुनियाँमा अधिकांश मानिस पैसा कमाउन भनेर दिनरात कुदिरहेका भेटिन्छन्, कोही कमाउँदा–कमाउँदै मर्छन्, कोही कमाउन नसक्दै मर्छन् । हरेक दिन मागेर गुजारा चलाउने भिखारीदेखि विश्वको नम्बर एक धनी मानिएका बिल गेट्ससम्मलाई पैसाकै पिरलो छ । 
पैसाले नै कति सम्बन्ध जुटाउँछ, कति सम्बन्ध छुटाउँछ । पैसा हुनेसँग र पैसा नहुनेसँग मानिसहरूले देखाउने व्यवहार पनि फरक–फरक हुन्छ । यौनमा सन्तुष्ट भएन भने पतिले झर्कोफर्को गर्छ रे, धनमा सन्तुष्ट हुन नसके पत्नीले झर्कोफर्को गर्छे रे । त्यसैगरी पैसा हुँदा पतिको चरित्र र नहुँदा पत्नीको चरित्र उदाङ्ग हुन्छ रे । पैसा माग्ने बेलामा मानिसले यति अनुनय विनय गर्छ कि के रात के बिहान जतिबेला जहाँ जसरी भने पनि आइपुग्छ, तर फिर्ता गर्ने बेलामा दाँतबाट पसिना निकाल्छ । आफैं पुर्‍याउन आउनु त कहाँ हो कहाँ, अनेकपल्ट धाउँदा पनि आफ्नै पैसा लिन पनि भीख मागेझैं गर्नुपर्छ । कसैसँग सम्बन्ध बिगार्न परे पैसाको लेनदेन गरे पुग्छ ।
पैसा कमाउन इमान्दारीपूर्वक काम गर्नेदेखि लिएर कालोधन्दा र डकैती गर्नेसम्मका मानिस समाजमै भेटिन्छन् । परिवारमा समेत पैसाको स्रोत विरलैले सोध्छन्, वश खर्च गर्न पाए सबै दंग पर्छन् । धन–सम्पत्ति, पैसाकै लागि प्रेमको नाटक गर्नेदेखि लिएर परिवारकै मानिसको हत्या गर्नेसम्मका कुकृत्य गर्नसमेत मानिस पछि पर्दैन । कतिपय मानिसहरू पैसा भएर पनि खर्च गर्न सक्दैनन् र दरिद्र जीवन बिताउँछन् । पैसाकै लागि धनी केटो वा केटी फसाउने, छउन्जेल धुत्ने र पछि सम्बन्ध बिगार्ने, उमेर कटिसकेका वा अरूका श्रीमान् वा श्रीमतीसँग सम्बन्ध बनाई घरवार बिगार्ने खेलाडीहरू पनि अनेक भेषमा घुमिरहेकै छन् ।

जागिर खाएपछि निश्चित तलब आउँछ भन्ने थाहा हुन्छ तर व्यापार व्यवसाय गर्ने हिम्मत पनि गर्दैनन् त्यही जागिरमा झुन्डिराख्छन् तर पैसै कमाउन सकिएन भनेर हरबखत गनगनाइरहन्छन् । यस्ता मनुवा यो धर्तीका सर्वाधिक दु:खी मानिसमा पर्छन् । अर्काथरी चाहिँ ल आइज न त मिलेर केही गरौं भन्यो भने सुरुमै नाफाचाहिँ कति हुन्छ भन् न त भन्नेखाले हुन्छन् । लगानी गर्दैनन् र पछि डुब्यो भने मैले पहिल्यै भनेको थिएँ हुन्न भनेर भन्छन् र राम्रो भयो भने मलाई पनि अलिकति सेयर दे न यार भनेर हैरान पार्छन् । यस्ता ताक परे तिवारीहरूसित पनि सतर्क रहनु आवश्यक छ ।

पैसाले कहिल्यै कसैलाई पुग्दैन । करोडपति पनि कुदेकै छ, पत्नीको पति पनि कुदेकै छ । पैसाले सुविधा किन्न सकिन्छ तर सुख किन्न सकिँदैन । आरामदायक ओछ्यान किन्न सकिन्छ तर निद्रा किन्न सकिँदैन । पैसाले रूप किन्न सकिन्छ तर असल सम्बन्ध किन्न सकिँदैन । यौवन किन्न सकिन्छ तर प्रेम किन्न सकिँदैन । ओखती किन्न सकिन्छ तर मृत्यु रोक्न सकिँदैन । घर, गाडी किन्न सकिन्छ तर इज्जत किन्न सकिँदैन । खाली हात आइन्छ, खाली हात गइन्छ, सबैलाई थाहा छ तर बाँचुन्जेल पैसा, धनका लागि मारकाट पनि चलिरहन्छ । पैसा अनेकथोक हो तर सबै थोक होइन । अनेक व्यवहार धान्न सबैलाई पैसा चाहिन्छ । पैसाले टाढाको नातालाई पनि नजिकको बनाइदिन्छ, घरकै मानिसलाई पनि कोसौं टाढा हुत्याइदिन्छ । पैसा विनिमय गर्ने एक माध्यम मात्र हो । पैसाको व्यवस्थापन गर्न सके यसले सुविधा पनि किन्छ, सुख पनि दिन्छ । सदुपयोग गरे पुण्य कमाउँछ, दुरुपयोग गरे पाप कराउँछ । पैसा न कमाउन सजिलो छ न जोगाउन सजिलो छ । पैसाले हसाउँछ पनि रुवाउँछ पनि । छन् गेडी सबै मेरी छैन, गेडी सबै टेढी त्यसै भनिएको होइन ।

मुख्य कुरा आफू जागिर खान वा व्यवसाय गर्न केका लागि जन्मिएको हुँ भनेर पहिचान गर्न सक्नु नै ठूलो चुनौती हो । आफूले गरिराखेको काममा सन्तुष्ट हुनु र आर्जनबाट भोगेको जीवनमा रमाउन सक्नु नै सम्पन्नताको प्रतीक हो । आफ्नै पौरख र मेहनतले कमाएको धन र पैसाले मात्र आनन्द दिन्छ । पैसाकै सिरानी हालेर सुते पनि निदाउन सकिँदैन भने त्यो पैसा के पैसा ? त्यो जिन्दगी के जिन्दगी ?


Tuesday, 23 August 2016

गोरो बनाउने क्रिमको कालो कथा

 डा. अरुणा उप्रेती

छाला ‘उपचार गर्ने’ भनेर ‘फेयर एन्ड लभ्ली’ ले  एउटा विज्ञापन प्रचार गर्ने गरेको छ। अनुहारको छाला गोरो बनाउने भनिएको यो क्रिमको विज्ञापनमा भनिएको छ, ‘तपाईंको छालाको रंग गहुँगोरो हुनु (सेतो नहुनु) एउटा रोग हो र यो क्रिमले छाला सेतो बनाएर छालाको रोग ठीक पार्छ।’ 
वास्तवमा यो क्रिमको व्यापारिक स्वार्थ पूरा गर्न अघि सारिएको गलत भनाइ हो।
मानिसको छालाको रङ शरीरमा भएको मेलानिन नामक पदार्थका कारण हुन्छ। बढी मेलानिन भएकाहरूको रङ कालो र कम भएकाहरूको गोरो वा गहुँगोरो हुन्छ। त्यसरी नै कपालको रङ पनि कसैको कालो, कसैको खैरो, कसैको हल्का खैरो हुन्छ। यी सबै प्राकृतिक कुरा हुन्। मानिसको यो प्राकृतिकपनालाई वा शरीरमा बढी मेलानिन हुनुलाई ‘रोग लागेको’ भन्ने यस्ता विज्ञापनलाई नै रोक लगाउनु उचित हो। रोक नलगाएको अवस्थामा उपभोक्ताले नै बहिष्कार गर्नु बढी श्रेयस्कर हुन्छ।
‘गोरो हुनु सुन्दरता हो’ भन्ने भ्रम पनि यस्तै वस्तु उत्पादक बहुराष्ट्रिय कम्पनीहरूले सिर्जना गरिरहेका छन्। भौगोलिक अवस्थाअनुसार विभिन्न भू–भागका मानिसको रङ पनि फरक–फरक नै हुन्छ। कालो, गोह्रो, गहुँगोह्रो, सेतो, खैरो वा अरू कुनै रङ भएका मानिस त्यस स्थानका लागि र त्यो समुदायका लागि सुन्दर र सुहाउँदिलो नै हुन्छन्। तर अर्को स्थानमा जाँदा स्वाभाविक रूपमा भिन्न र अमिल्दो हुनसक्छ। कुन वर्ण सुन्दर भन्ने मानिसको दृष्टिकोणमा भर पर्ने कुरा हो।
कुनै वर्णविशेष संसारभरका लागि मान्य हुन्छ भन्ने हुँदैन। तर, बहुराष्ट्रिय कम्पनीहरूले सेतो वा गोरो हुनु नै सुन्दर हुनु हो भन्ने भ्रम छर्दै अन्य रङको छालालाई पनि गोरो वा सेतो बनाउने क्षमता भएका क्रिम बजारमा ल्याएको दाबीका साथ आक्रामक विज्ञापन गरिरहेका हुन्छन्। यसले मानिसमा भ्रम उत्पन्न गरेर त्यस्ता वस्तु किन्न बाध्य पार्ने त छँदै छ, साथै मानिसमा भेदभाव पनि सिर्जना गरिरहेको छ। मानिसको कुनै एउटा रङ राम्रो हो भनेर प्रचार गर्नु शतप्रतिशत भेदभाव र अन्यायपूर्ण हो। यसले सेतो तथा गोरो रङ बाहेकका मानिसलाई हिनताबोध र आत्मग्लानी गराइरहेको हुन्छ। यस किसिमको भेदभाव गरेर हिनता भाव सिर्जना गर्दा पनि आममानिसले यसको विरोध गरिरहेको देखिन्न। बरु उल्टै त्यस्ता विभेदयुक्त भनाइको समर्थनमा गोरो बनाउने भनिएका त्यस्ता क्रिम खरिद गर्नमा हामीले ठूलो रकम खर्च गरिरहेका छौं। र, आफ्नो प्राकृतिक रङलाई विकृत बनाउने महंगा क्रिम खरिद गरेर मुखमा पोतिरहेका छौं।
किशोरावस्थामा प्रवेश गरेका स्कुल जाने उमेरका कतिपय केटीले पनि गोरो बन्ने भनिएका क्रिम लगाएर अनुहारलाई कुरुप अवस्थामा पुर्याउने गरेको पाइएको छ। बाह्रबिसेको एउटा स्कुलमा जाँदा केही किशोरीको अनुहारमा अलि बढी नै कालो पोतो पाइयो। उनीहरूसँग चिकित्सकले अन्तक्र्रिया गर्दा छाला गोरो पार्ने भनिएको २५ रुपैयाँ पर्ने क्रिम लगाएपछि उनीहरूमा यस्तो समस्या आएको फेला पर्यो। स्कुलमा पढ्ने गहुँगोरो वर्णका ती किशोरीले ‘सेतो छाला’ को चाहना राखेका थिए। आफ्नो अनुहारको छाला सेतो पार्न लगाइएको क्रिमले उनीहरूको छालामा समस्या उत्पन्न भयो। यस किसिमको समस्या स्कुल पढ्ने किशोरीहरूमा प्रशस्तै देखिने गरेको छ।
काठमाडौं मेडिकल कलेजमा कार्यरत छालारोग विशेषज्ञ डा. सविना भट्टराईका अनुसार ‘अस्पतालमा दैनिक २–३ जना मानिस गोरोपन बढाउने भनिएका क्रिम लगाउँदा छाला बिग्रिएर अनुहार नै कुरुप बनेपछि उपचार गर्न आउने’ गरेका छन्। यसरी आउनेले गोरो पार्ने क्रिम लगाउँदा केही दिनसम्म त राम्रो देखिएको, तर पछि छाला बिग्रिँदै गई कालो चायाँ आएर झन् विरुप भएको पीडा सुनाएका थिए। डा. सविनाका अनुसार छाला विरुप भएपछि उपचार गर्न पनि कठिन हुन्छ। साथै, यसरी छाला बिग्रेका कारण उनीहरूको आत्मविश्वास पनि हराउन थाल्छ। 
डा. सविनाले अनुहारमा लगाउने भनिएका हानिकारक क्रिमका कारण विरुप बनेर उपचारका लागि आएका धेरै पीडित महिलाको फोटो संकलन गर्नुभएको छ। यी फोटाहरू हेर्दा क्रिम भनेको मानिसको अनुहार विरुप गराउने विषादी नै हो कि भन्ने अनुभव हुन्छ। यसरी पीडित बनेर आउनेमा धेरै युवतीहरू छन्, जसमा पढेलेखेका र स्वास्थ्य क्षेत्रमै काम गरेकाहरू पनि छन्। डा. सविनाको अस्पतालमा कार्यरत एक जना नर्ससमेत यस्तै गोरोपन बढाउने भनिएको क्रिम लगाएर छाला बिग्रिएपछि कुरुप अवस्थामा उपचार गर्न आएकी थिइन्। छाला गोरो पार्न रामबाण भनेर प्रचार गरिएको एउटा हर्बल (जडिबुटी) क्रिम लगाएको केही दिनमै उनलाई समस्या सुरु भएको थियो। त्यस क्रिममा कस्ता–कस्ता रसायन प्रयोग गरिएको छ भन्नेतिर उनको ध्यान गएन। बरु जडिबुटीले बनेको भनेपछि राम्रै हुन्छ होला भनेर उक्त क्रिम लगाएको उनको भनाइ छ। 
गोरो बनाउने भनिएका क्रिमले छालामा विभिन्न समस्या उत्पन्न गर्नसक्ने भएकाले यसको जथाभाबी प्रयोग नगर्न छालारोग विशेषज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन्, तर प्रयोगकर्ताहरू ध्यान दिँदैनन्।
छालारोग विशेषज्ञ डा. विमल ओझा भन्नुहुन्छ, ‘मकहाँ अनुहारको छाला बिग्रियो, दाग आयो भनेर गुनासो गर्दै उपचारका लागि धेरै मानिस आउँछन्। उनीहरूको कुरा सुनेपछि थाहा हुन्छ, ३–४ महिनादेखि लगाइरहेको गोरो पार्ने क्रिम नै त्यसको कारण हो। तर, उनीहरूलाई यही कुरा भन्दा विश्वास गर्दैनन्। लगातार आइरहेका विज्ञापनले उनीहरूको मस्तिष्क नै एकोहोरो बनाएको हुँदो रहेछ। म उनीहरूलाई गोरोपनको क्रिम छाड्ने सल्लाह दिन्छु। त्यसको सट्टा स्वस्थ जीवनशैली अपनाउन र पौष्टिक खानामा ध्यान दिन भन्छु। तर सबैले यो कुरा बुझ्दैनन्।’
स्वास्थकर खाना, पानी र योगले अनुहार र शरीर स्वस्थ रहन्छ। स्वस्थ भएपछि चमक आउँछ। छालाको रंग गहुँगोरो होस् वा कालो होस् वा गोरो होस्, अस्वस्थ शरीरमा कसरी सुन्दरता आउँछ? गोरोपन नै सौन्दर्यको मापदण्ड हुँदो हो त अमेरिका र युरोपका सबै महिला–पुरुष सौन्दर्यवान मानिन्थे होला। तर, उनीहरूमध्ये कतिपय त छालाको रंग गहुँगारो होस् भनेर सूर्य स्नान गर्छन्।
अनुहार र शरीरमा लगाउने साबुनको विज्ञापन भने फिल्मका नायक/नायिका, मोडललाई अघि सारेर गर्ने गरिन्छ। कुनै खास किसिमको साबुन लगाएपछि अनुहारको रंग गोरो, छाला नरम हुन्छ भनिएको हुन्छ। यस्तो लाग्छ, मानौं कुनै खास साबुन प्रयोग गरेपछि अनुहार नै फरक हुन्छ। अहिले आउने विज्ञापनहरूमा लक्स साबुनको विज्ञापन निकै नै बढी छ। विज्ञापनको भ्रममा परेर मानिसहरू ‘ऐश्वर्या राय’ जस्तो अनुहार पाउने आशामा साबुन प्रयोग गर्छन्। विज्ञापनमा भनिएजस्तो गोरो अनुहार साबुनले पार्न सक्दैन। किनभने, शरीरको छालाको रंग त मानव शरीरमा भएको ‘मेलानिन’ नामक तत्वले गर्दा गोरो, गहुँगोरो वा कालो हुने हो। यसलाई बाहिरबाट साबुनले धोएर वा क्रिम लगाएर परिवर्तन गर्न सकिन्न।
छालाको सफाइका लागि महँगा साबुन किन्नुपर्ने जरुरत नै छैन, जुनसुकै साबुनले पनि त्यो काम गर्नसक्छ। जाडो बेला त बरु साबुनको सकेसम्म प्रयोग नै बन्द गर्नुपर्छ। साबुनको धेरै प्रयोगले जाडोमा छाला सुख्खा हुने र फुट्ने समस्या आउँछ।
त्यस्तै खाना खानुभन्दा अगाडि कुनै खास साबुनले हात धुनुपर्दैन। हात धुने जुनसुकै साबुनले धोए हुन्छ। अहिले ‘लाइफबोय’ नामको साबुनले अति आक्रामक भएर विज्ञापन गरिरहेको छ।  हातको ९९.९ प्रतिशत किटाणु सफाइ गर्ने भन्ने विज्ञापन नै गलत छ। त्यस्तै प्रकारले डिटोल साबुनले नुहाएपछि मन प्रसन्न हुने, बच्चाहरूलाई चिसो नलाग्ने भन्ने विज्ञापनमा देखाइन्छ, त्यो पनि भ्रम नै हो। डिटोल साबुन लगाएर नुहाएपछि शरीरको वरिपरि गोलो भएर एउटा घेरा बन्छ र व्यक्ति सुरक्षित रहन्छ भन्ने कुराले त भ्रमको चरमसीमा नै पार गरेको छ।

Friday, 22 July 2016

टुट्न नदिऔं सम्बन्धको डोरी

आजको जीवनशैलीमा सबैभन्दा बढी हाम्रो सम्बन्ध प्रभावित भैरहेको पाइन्छ । भौतिक सुख एवं आपसी प्रतिस्पर्धाको भोकले श्रीमान्–श्रीमती, माता–पिता, छोरा–छोरी र अरू कतिपय भावनात्मक सम्बन्धलाई तोडिरहेको हुन्छ । केही समयअनुरूप परिवर्तन भएको छ भने केही हाम्रो महत्त्वाकांक्षा र आधुनिक हुँदै गएको हाम्रो सोचका कारण परिवर्तन भएको पाइन्छ । जीवनमा तीव्र रूपमा अघि बढ्ने चाहनाकै कारण हामीले पछाडि फर्केर हेर्न छोडेका छौं ।
smtsza 
पहिले हामी गर्मीका दिनमा छुट्टी मनाउन स–परिवार घुम्न जान्थ्यौं । धेरै रमाइलो गथ्र्यौं, परिवारका हरेक सदस्यबीच आत्मीयता बढेको अनुभूति हुन्थ्यो तर आज कसैलाई परिवारसित कतै जाने कुरा त टाढाको विषय भैसक्यो, सँगै बसेर खाना खाने फुर्सद पनि छैन ।’ यो परिवर्तनले आपसी सम्बन्धको प्रगाढतामा धेरै हदसम्म प्रभाव पारेको छ ।
बढ्दो एकांकी जीवनले पनि सम्बन्धको डोरीलाई कमजोर बनाउँदै लगेको छ । त्यसैले व्यक्ति अब आफ्नै घरमा सीमित भएको छ । पहिले मानिसहरू अपरिचितलाई पनि दाइ, अंकल, दिदी, बहिनी, आमा आदि भनेर सम्बोधन गर्थे र यसले अपरिचित व्यक्ति पनि आफ्नो बन्न पुग्थ्यो तर आज आफ्नो रगतको नातामा पनि आफ्नोपनको अनुभूति पाइन छोडेको छ । चाहेर पनि संयुक्त परिवारमा रहन असम्भव हुन पुगेको छ । कार्यव्यस्तताले परिवारका सदस्यबीचको भेटघाट पनि दुर्लभ बन्न पुगेको छ । संयुक्त परिवारमै पनि कामकाजी दम्पती आ–आफ्नै काममा व्यस्त रहने भएकाले एकअर्काका लागि समय निकाल्न असमर्थ छन् भने परिवारका अन्य सदस्य अझ टाढा हुनु स्वाभाविक हो । यसले संयुक्त परिवारमा एकसाथ रहने सम्भावना घट्छ ।
आज इच्छाको आकाश फराकिलो बन्दैछ । इच्छाको त्यो आकाशमा उड्ने चाहनाले सम्बन्धको महत्त्व र महिमा घट्न थालेको छ । आफ्नो इच्छापूर्तिका लागि मानिसहरू सम्बन्धको घाँटी थिच्न पनि तयार हुन्छन् । मानिसहरू परिवार एवं साथीभाइबीच रहेर आनन्दको क्षण बिताउनुभन्दा एक्लै बसेर टेलिभिजन हेर्न वा नेट चलाउन चाहन्छन् । घरका सदस्यसित कुराकानी गर्नुभन्दा नेटमा च्याट गर्दा बढी आराम महसुस गर्छन् । सम्बन्धमा आत्मीयताको कमी हुनु र एकअर्काको भावनालाई प्राथमिकता नदिनु वा नबुझ्नुका पछाडिको सबैभन्दा ठूलो कारण हो–हामीबीच बढ्दो कम्युनिकेसन ग्याप । कामकाजको व्यस्तताले हामीमध्ये कतिपय सम्पूर्ण परिवारजनसित सँगै बसेर न लञ्च गर्न पाउँछौं न त डिनर नै । आपसी सम्बन्धमा व्यवसायिक सोच हावी भएको छ ।
सम्बन्धलाई कायम राख्न स–साना कुरालाई बेवास्ता गर्नुहुँदैन । यसो गर्नाले हामी हाम्रा सम्बन्धलाई टुट्नबाट जोगाउन सक्छौं । यदि कोही घरमा आउँछ भने उसको आतिथ्यमा सबै जुट्नुपर्छ । आफ्नो इच्छापूर्तिका लागि अरूको इच्छाको अवहेलना गर्नुहुँदैन । पाहुनाप्रति उदार व्यवहार अपनाउनुपर्छ ।
सम्बन्धलाई सुदृढ बनाउने प्रयास सबैभन्दा पहिले आफूबाट आरम्भ हुनुपर्छ । बाध्यता सबैमा हुन्छ, तर त्यसलाई कारण बन्न दिनुहुँदैन । यदि हामी सतर्क रहन्छौं भने मात्र हाम्रो अर्को पुस्ता पनि जागरुक हुन्छ । हामी आफ्ना सन्तानले हाम्रो कमजोरीलाई बुझ्दैनन् भन्ने गल्ती गर्छौं तर उनीहरूको दृष्टि सचेत र सतर्क हुन्छ । आफ्ना कमजोरीलाई सुधार्नु आफ्नो परिवार र सम्बन्धलाई सुधार्ने दिशामा पहिलो पाइला हो । 

http://bit.ly/1M54roI

Saturday, 9 July 2016

श्रीमानको कमाइ कति छ ?

श्रीमानको कमाइ कति छ 

महिलाको उमेर र  पुरुषको आय नसोध्नु भन्ने उक्ति हाम्रो समाजमा निकै प्रचलित छ अधिकांश श्रीमती श्रीमानको आयप्रति बेवास्ता गर्छन् । यसलाई स्वीकार गर्छन् र थाहा नभएजस्तो देखाउँछन् । उनीहरूलाई आफ्नो पूरा बजेट प्राप्त भए, खाना, नाना र छानाको आवश्यकता पूरा भए, अन्य कुराको खासै वास्ता हुँदैन । उनीहरू आफ्नो आवश्यकता पूरा भए कुनै खोजीनीति गर्न चाहँदैनन् । 

कतिपय महिला भने श्रीमान्को कमाइमा निकै ध्यान पुर्‍याउँछन् । उनीहरू श्रीमान्को आयस्रोत के–के छ ? कहाँबाट कति आम्दानी भयो त्यो कहाँ–कहाँ खर्च भयो, सम्पूर्ण हरहिसाब राख्छन् । आर्थिक कारोबारमा पनि दम्पतीको विश्वास अडेको हुन्छ । कतिपय दम्पती यसमा पारदर्शी हुन्छन् भने कतिपय अपारदर्शी । यद्यपि आयको हिसाब राख्नु आवश्यक छ । अहिलेको बढ्दो महँगीमा आफ्नो बजेट तथा सन्ततिको भविष्यका लागि खर्च कम गरी बचत गर्ने बानी बसाल्नु बुद्धिमानी हुन्छ । एक एनजीओमा कार्यरत भगवती पंगेनी भन्छन्–जसरी अरु मुद्दा पारदर्शी हुनुपर्छ, त्यसैगरी आर्थिक मुद्दा पनि पारदर्शी हुनुपर्छ । श्रीमान्–श्रीमतीको समझदारीमा अघि बढ्दा कहिल्यै आर्थिक संकट आउँदैन अनि भविष्य सुरक्षित हुन्छ । यसले महिलाहरूलाई पनि आर्थिक स्वतन्त्रताको अनुभव दिलाउँछ ।
श्रीमान्–श्रीमतीबीचमा आयको विषयलाई लिएर कुराकानी हँुदा आपसी सम्बन्ध अझ सुमधुर हुन्छ । श्रीमान्–श्रीमती दुवै कमाउँछन् भने कति कमाउँछन् ? उनीहरूको एकाउन्ट कहाँ–कहाँ छ ? रुपैयाँ कहाँ कति जम्मा छ ? नोकरीका साथमा अरू व्यापार छ भने त्यसको पैसा कहाँ जम्मा भएको छ ? ज्वाइन्ट एकाउन्ट, लकर, जीवन बीमा, शेयर, बचत, लोन आदि सबै मुद्दामा दुवैको चर्चा हुनुपर्छ । उनीहरू यस विषयमा सन्तुष्ट छन् भने आपसी सम्बन्ध पनि राम्रोसँग अघि बढ्छ । आर्थिक विषयमा अपारदर्शी दम्पतीको भविष्य असुरक्षित हुन्छ । यसले उनीहरूको भविष्यलाई दु:खद् बनाउँछ । दुवैका बीच सधैं तनाव रहन्छ । साँचो कुरा भए पनि झूटो हुन्छ ।
मिलेर बनाउनुपर्छ योजना
श्रीमान्–श्रीमती एउटै रथका दुई पाङ्ग्रा हुन् । त्यसैले अर्थ व्यवस्था पनि दुवैले मिलेर अघि बढाउनुपर्छ ।  सफल तथा उज्ज्वल भविष्यका लागि श्रीमान्–श्रीमतीले आफ्नो आयको स्रोतका सम्बन्धमा खुलस्त बताउनुपर्छ । एनसीसी बैंककी चाँदनी श्रेष्ठका अनुसार आर्थिक मतभेदले सम्बन्धमा सधैं तिक्तता ल्याउँछ र घरायसी वातावरण पनि नराम्रो बनाउँछ । त्यसैले आफ्नो आय के–कहाँ खर्च गर्ने कहाँ लगानी गर्ने तथा कसरी बचत गर्ने कुरा श्रीमान्–श्रीमती मिलेर बनाउनुपर्छ । ऋण तथा तिर्ने ठाउँ पनि रुटिन बनाएर अघि बढ्नुपर्छ ।
विवाहपछि पैसाकै कुरालाई लिएर दम्पतीमा असमझदारी उत्पन्न हुनसक्छ । श्रीमतीमा श्रीमान्को आयलाई लिएर कुनै शंका उत्पन्न हुनुभन्दा पहिले नै कुरा खुल्नुपर्छ ।
नयाँ–नयाँ गृहस्थी बसाउँदा श्रीमान्को खरिद गर्ने बानीमा प्रशंसा गरेर पनि आय जान्न सकिन्छ ।
श्रीमान्को आयका सम्बन्धमा उनका बोस तथा साथीभाइसँग चर्चा गर्नु हुँदैन । आय विवरणमा ध्यान दिनुपर्छ ।
बजेट बनाउँदा आफूसँग पैसा नै नभएको अभिनय गर्नुपर्छ । किनमेल, स्कुल फि, घर खर्च आदि कहाँबाट तिर्ने चिन्ता व्यक्त गर्नुपर्छ ।
जागिरको कर फायल गर्दा श्रीमतीलाई जानकारी दिनुपर्छ ।
पारदर्शिता
पैसा परिवारका लागि सबैथोक होइन र हो पनि । धन खुसी र सबै आवश्यकता पूरा गर्ने आवश्यक साधन हो तसर्थ पूर्ण विश्वास, प्रतिबद्धता एवं आपसी समझदारीका साथ पैसाको मामिलामा पारदर्शी हुनुपर्छ । पैसाले सम्बन्ध बिगार्छ र बनाउँछ पनि । श्रीमान्–श्रीमतीको तारतम्य मिलाउँदा परिवारमा खुसी छाउँछ ।
श्रीमती श्रीमान्की जीवन संगिनी हुन् । एक–अर्काको कामका बारेमा जानकारी छैन भने कुनै समयमा अकस्मात् श्रीमान्को मृत्यु भएको स्थितिमा कारोबार ठप्प हुन्छ । नातेदारहरू पैसा बाँकी छ भनेर लिन आउन सक्छन् तसर्थ श्रीमान्को आयका सम्बन्धमा श्रीमतीलाई जानकारी  भए दु:खद् घडीमा काम लाग्छ ।
श्रीमान् खर्चालु छन् भने श्रीमतीले लगानी कहाँ–कहाँ छ पत्ता लगाउनुपर्छ । गलत ढंगबाट गरिएको लगानीले संकट निम्त्याउन सक्छ । कुनै समस्या आउनुभन्दा पहिले कहाँ–कहाँ कति पैसा लगानी र बचत छ जाँच्नुपर्छ ।
आफूले महँगो माग राख्नुभन्दा पहिले श्रीमान्को आयका सम्बन्धमा जान्नुपर्छ । यसका आधारमा खर्चको सूची बनाउनुपर्छ ।
आयस्रोत थाहा पाउनुपर्छ
श्रीमतीलाई श्रीमान्को आयका सम्बन्धमा जानकारी छ भने बढी खर्च, ऋण, व्याज कहाँबाट तिर्ने भन्ने चिन्ता हुन्छ । श्रीमतीहरूले कारोबारका बारेमा जानकारी लिनुपर्छ । बढी खर्चले परिवारको भविष्य जोखिममा पुग्छ । त्यसैले उनीहरूको आय जान्नुपर्छ ।
श्रीमान्–श्रीमती दुवैको अलग–अलग एकाउन्ट हुनु राम्रो हो तर गुप्त एकाउन्टले सम्बन्धमा निराशा पैदा गराउँछ । यसले भविष्यमा नकारात्मक परिस्थिति उत्पन्न गर्छ । गुप्त एकाउन्टले परस्त्री सम्बन्ध, अन्डर वल्र्ड सरोकार, भ्रष्टाचारको अकुत सम्पत्तितर्फ इंगित गर्छ । यस्तो समस्या उत्पन्न नहोस् भनेर पनि आयका सम्बन्धमा जानकारी राख्नु आवश्यक छ ।
फाइदाका साथ बेफाइदा पनि
पैसा अलग–अलग राखौं वा एकसाथ यसको फाइदा–बेफाइदा भने जानिराखौं ।
अलग बैंक एकाउन्ट
फाइदा : आफ्नो पैसाको आवत–जावतमा एक–अर्कालाई जिम्मेवार बनाउनु हुँदैन । यसले फजुल खर्चबाट जोगाउँछ । ऋणको जवाफदेही कोही हुँदैन ।
बेफाइदा : आपसी समझदारीमा कमी आउँछ । पैसा लुकाउन सकिन्छ ।
बचत
फाइदा : दुवैले अलग–अलग बचत गर्न सक्छन् । यो एक प्रकारको सुरक्षा हो ।
बेफाइदा : आफैले गरेको निर्णयमा प्रश्नचिन्ह खडा हुनसक्छ ।
ज्वाइन्ट एकाउन्ट
फाइदा : श्रीमान्–श्रीमतीमा आपसी विश्वास रहन्छ । दुवैको आयमा समान पहुँच हुन्छ । यसले खर्च नियन्त्रण गर्छ ।
बेफाइदा : पैसा निकाल्दा दुवैको हस्ताक्षर चाहिन्छ ।
घर तथा अचल सम्पत्ति
फाइदा : बढी सुरक्षित हुन्छ ।
बेफाइदा : दुवैको स्वीकृतिबिना बेच्न सकिँदैन ।


http://bit.ly/1XDj6ZI

Sunday, 13 March 2016

7 Nepali Books you must have to read once in your life

7 Nepali Books you must have to read once in your life



Nepali literature has made its own journey throughout time. The contemporary writers of today have earned recognition from their recommendable work inside and out of Nepal. The following seven books are the books any Nepali must have to read once on their life.

7, Ghumne Mech Mathi Andho Manche


This poem is written by one of the most popular poet of Nepal Bhupi Sherchan. The title of the poem ghumne mech mathi andho manche is also the title of the book where there are most selected poems of Sherchan.

7 Nepali Books you must have to read once in your life

6, Jiwan Kada Ki Phool


Jiwan Kada Ki Phool is a novel and Madan Puraskar winner written by Jhamak Ghimire about her own story with struggle behind the life without hand.

7 Nepali Books you must have to read once in your life

5, Palpasha Cafe


Palpasa Cafe is a novel by Nepali author Narayan Wagle. It tells the story of an artist, Drishya, during the height of the Nepalese Civil War. The novel is partly a love story of Drishya and the first generation American Nepali, Palpasa, who has returned to the land of her parents after 9/11. It is often called an anti-war novel, and describes the effects of the civil war on the Nepali countryside that Drishya travels to.         

7 Nepali Books you must have to read once in your life

4, Radha

Radha represents an example of an outstanding nepali novel. This Novel is written by Krishna Dharabasi. It plots the story of ancient epic Mahabharat with some changes that are not included in that epic. However the character Radha is very famous for the love relationship with Krishna in Hindu religion, she has been left far behind in the story of Mahabharat.


7 Nepali Books you must have to read once in your life

3. Narendra Dai

Narendra Dai is a novel by B.P. Koirala published in the year 1970. Most of his writings feature Nepalese women as the protagonists and one can read about their personal experiences. This novel is one of such books by him.


7 Nepali Books you must have to read once in your life

2, Shiris Ko Phool
Shiris Ko Phool is a novel written by prominent Nepali writer Parijat and also published in English language as "The Blue Mimosa".The novel is highly acclaimed in Nepali literature and has also been adapted in the literature curriculum of some colleges in some English speaking countries.


7 Nepali Books you must have to read once in your life

1, Muna Madan

Muna Madan describes the life of a man (Madan) who leaves his wife (Muna) and goes to Lhasa to make money, and while returning he becomes sick on the way. His friends leave him on the road and come back home saying he has died. The story also shows the life of a poor woman who suffered much without her husband and later dies because of grief. Finally he is rescued by a man who is considered to be of lower caste in Nepal. That is why it is said that a man is said to be great not by caste or race but by a heart full of love and humanity.


7 Nepali Books you must have to read once in your life